कञ्चनपुर । स्वदेशमै प्याज उत्पादन गरी आयात न्यूनीकरण गर्ने उद्देश्यले कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्याजमा अनुदान कार्यक्रम ल्याएको छ । नगरपालिकाले प्याजको बीउमा ५० प्रतिशत अनुदान दिएर नगरभित्रका सबै कृषकलाई वितरण गर्न थालेको हो ।
प्याज आयात रोक्न र नगरमै कृषकलाई आत्मनिर्भर बनाउन प्याजमा अनुदान दिइएको नगरपालिका प्रमुख हेमराज ओझाले बताए । प्याजखेती व्यावसायिकीकरण गरी कृषकलाई स्वरोजगार बनाउन पनि बीउ वितरण गरिरहेको उनले बताए ।
‘अहिले हामीले बीउमात्रै अनुदानमा वितरण गरेका छौं,’ उनले भने, ‘आगामी वर्षदेखि यसलाई बृहत् रूपमा व्यावसायिक बनाउ खोजिरहेका छौं, जसमा कृषकले समूह बनाए थप अनुदान पाउनेछन् ।’
अनुदानमा बीउ पाएपछि आफूलाई खान मात्रै नभई व्यावसायिकीकरण गरी आयआर्जनका लागि उमार्न पनि कृषकलाई आग्रह गरे । ‘नगरलाई प्याजमा आत्मनिर्भर बनाउन त्यसलाई व्यावसायिक रूपमा अगाडि बढाए मात्र सम्भव छ,’ उनले भने, ‘त्यसैले आफ्नो आर्थिक स्रोत पनि बनाउने किसिमले प्याजको उत्पादन गर्नुहोला, व्यावसायिक रूपमा भए भोलिका दिनमा थप अनुदानका कार्यक्रम प्राप्त गर्न सक्नुहुनेछ ।’
नगरपालिकाले प्याजसहित च्याउ, गहुँ, धानलगायत कृषि उत्पादनका लागि पनि अनुदान दिएको उनले बताए । नगरपालिकाले प्याजको आयातमा कमी ल्याउन अनुदानमा बीउ वितरण गरिरहेको नगरपालिकाका कृषि शाखा प्रमुख लालबहादुर धामीले जानकारी दिए । उनले चालू आर्थिक वर्षमा मात्र नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई ३ लाख रुपैयाँ बराबरको बीउ वितरण गरेको बताए ।
‘प्याजको परनिर्भरतामा कमी ल्याउन हामीले बीउ वितरण गरिरहेका छौं,’ उनले भने, ‘चालू आर्थिक वर्षमा मात्रै नगरपालिकाको १ लाख ५० हजार र कृषकको १ लाख ५० हजार गरी ३ लाख रुपैयाँ बराबरको बीउ वितरण गर्नेछौं ।’
यसअघि अन्य तरकारी तथा बालीका बीउ वितरण गरे पनि प्याजको बीउ भने नगरपालिकाले पहिलोपटक वितरण गरेको हो । नगरपालिकाले अनुदानमा दिएपछि मंगलवार नगरपालिकामा प्याजको बीउ लिन आउने नगरवासीको भीड लागेको थियो । प्याजको आयात लगातार बढेपछि कृषि मन्त्रालयले करीब एक दशकअघि ‘मिसन प्याज’ कार्यक्रम अघि सारेको थियो । देशभित्रै प्याजको उत्पादन बढाउन तराईका रूपन्देही, सप्तरी, सिरहा, रौतहट, बारालगायत जिल्लामा यो अभियान लागू गरिएको थियो । किसानलाई प्याजको उन्नत बीउबिजन, मल र सिँचाइमा अनुदानलगायत प्रोत्साहनको योजना अघि सारिएको थियो । तर बीउको अभावका कारण उक्त कार्यक्रम प्रभावकारी हुन सकेको थिएन । रासस