विकसित देशहरूमा व्यक्ति र सार्वजनिक निकाय आफ्नो कर्तव्यप्रति निकै जिम्मेवार बनेर काम गर्छन् । तर, हाम्रो जस्तो अविकसित मुलुकमा भने जिम्मेवारी नलिने र दोष सरक्क अर्काको टाउकोमा थोपर्ने प्रवृत्ति छ । हुँदाहुँदा यसपटकको निर्वाचनमा समेत जनताको विश्वास जित्न नसक्ने उम्मेदवारहरूले आफ्नो कमजोरी स्वीकारेनन्, अन्य दल र दलभित्रका आफ्नै साथीमाथि दोषारोपण गरे । जनताले मत नदिएर हारेका उम्मेदवारले समेत आफ्नो कमजोरी स्वीकार्न सक्दैन भने हाम्रो देशमा जिम्मेवारीको बोध कत्तिको रहेछ सहजै अनुमान गर्न सकिन्छ ।
सधैं व्यक्ति, निकाय, समाज आफ्नो दायित्वबाट पन्छिने हो भने यो मुलुक राम्रो हुन गार्हो छ । त्यसकारण देश चलाउनेहरू सधैं नोट, कार्यकर्ता, कुर्सी मात्र गनेर बस्ने, समाजचाहिँ नकारात्मक सोच राख्ने र एकअर्कालाई दोष मात्र दिएर आफूचाहिँ सिन्को नभाँच्ने प्रवृत्ति पाइन्छ । यस्तो प्रवृत्तिले न व्यक्ति न समाज न त राष्ट्र नै अगाडि बढ्न सक्छ ।
यसो हेर्दा चोर पुलिसको नौटंकी खेलजस्तो भइरहेको छ, हाम्रो मुलुकको राजनीति । उही पात्र र प्रवृत्तिको खिचातानी र आलोपालो तथा आरोपप्रत्यारोप यही निरन्तर खेलले जनता आजित भइसकेका छन् । यही कारण देशले कोल्टो फेर्न नसकेको हो । विकासका नीतिबारे बहस हुँदैन तर कुन दल राम्रो, कुन नराम्रो भन्नेमै मुलुकको ३ दशक बितिसक्यो । त्यही भएर मुलुकले दु्रत विकास गर्न सकेन । अब पनि यस्तै भइराख्ने हो भने हामी विश्व मानचित्रमै निकम्मा भनेर चिनिने छौं ।
त्यसो त विकास भएन भनेर सधैं नेता र सरकारलाई मात्र गाली गरेर हुँदैन । जनता पनि उत्तिकै जिम्मेवार बन्नु जरुरी छ । हाम्रो देशको दुुर्भाग्य नै भ्रष्टाचार मौलाउनु हो । अब यसको अन्त्य गर्न कसैले पनि योगदान नगर्ने हो भने द्रुत विकासको कुरा नगरे पनि हुन्छ ।
पहिला विकास थिएन । साथै, एकले अरूलाई गाली गर्ने संस्कार थिएन र कलह हुँदैन थियो । गलत कमाउ धन्दा र काण्ड नै काण्डले गर्दा अहिले देश झन् ठूलो समस्याको खाडलमा फस्दै गएको छ । मानिसहरूले गलत संस्कार सिक्दै गए । तर, सबै पक्ष मिलेर यस्तो हुन नदिऊँ भन्ने सोच आएन ।
वास्तवमा भन्नुपर्दा देश बिग्रनुमा नेताभन्दा पनि तिनका चम्चाहरू बढी जिम्मेवार छन् । चम्चाहरूले नेताका हरेक गल्तीमा पनि जयजयकार गर्ने गर्छन् । यसले गर्दा नेताहरूलाई गल्ती गरेको अभास नै हुँदैन । हाम्रो देशको विडम्बना नै देश चलाउनेहरूका धेरै सल्लाहकार स्वार्थी, लालची भए । सही सुझाव दिएको भए यति धेरै समस्या आउने थिएन । यिनीहरूले मुख्य नेताहरूलाई राम्राराम्रा रायसुझाव दिन नसक्नु र आफ्नो मात्र स्वार्थ हेर्नाले नै देशको हालत सुस्त भएको हो । यसमा केही गल्ती ठूला नेताहरू जस्तै प्रधानमन्त्री, मन्त्री, सांसदको पनि छ ।
नेतृत्वले मुलुकका लागि आफ्नो स्वार्थ ल्याग्न र कडा हुन सकेन । त्यसैको परिणति मुलुकमा अराजकता बढ्दो छ । यही अराजकता विकास निर्माणमा पनि देखिइरहेको छ । अब भने परिवर्तन हुनु जरुरी छ । यसका लागि पहिला सरकारी कर्मचारी र मन्त्री तथा सांसद्हरूको संख्या एकदम घटाउनु आवश्यक छ । यसपछि बिस्तारै भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ ।
अहिले देशको सबभन्दा ठूलो जल्दोबल्दो समस्या नै सुकुमबासी समस्या हो । यसमा सरकार सुकुमबासी दुवै पक्ष गलत छन् । शुरूदेखि नै सुकुमबासी समस्या बढ्न नदिनु पथ्र्यो । वास्तवमा यो समस्या सरकारले उब्जाएको हो । अहिले पनि यो समस्याको समाधान गर्न सरकार इच्छुक देखिँदैन । सरकारी जमीन हड्प्नेलाई शुरूदेखि नै कारबाही गरेको भए र वास्तविक सुकुमबासीलाई उपयुक्त तरीकाले व्यवस्थापन गरेको भए आज यो समस्या यति ठूलो हुँदैनथ्यो । सुकुमबासीहरूले पनि सरकारले दिएको स्थानको उपयोग गरेको भए, हुकुमबासीहरू पनि लालच नगरी यहाँ नआएको भए यत्रो ठूलो समस्या हुँदैन थियो । त्यसमाथि गाली गलौज र खुकुरी नृत्य गर्नु हाम्रो जस्तो सीधा समाजलाई अलि नपच्ने कुरा हो । जे हुनु भइहाल्यो । सुकुमबासी, सरकार र महानगरपालिका सबै मिली यसालाई सुल्झाउँदै लग्नु बुद्धिमानी हो । महानगरपालिकाले पनि यिनीहरूको बस्ती बिस्तारै खाली गर्नुपर्छ । त्यसैगरी सुकुमबासीहरूले पनि आफ्नो हठ छाड्नुपर्छ । सरकारले दिएको ठाउँमा बस्न राजी हुनुपर्छ ।
अहिले व्यक्ति, समाज तथा सरकारी निकायका कुरा गर्दा लोभ, अल्छीपना, नकारात्मकता, दोषारोपण, खुट्टा तान्ने रोग अभैm पनि हराएको छैन । यसलाई सबै पक्षको अवगुण मान्न सकिन्छ । यी सब कुरालाई हटाउँदै अघि बढ्नु आजको आवश्यकता हो ।
अहिले देश बदल्न मिडियाको पनि ठूलो हात छ । तर, यो क्षेत्रमा नेताहरूसँग गफसप गरिराख्नुभन्दा ज्ञान तथा शिक्षाको दायरालाई बढाउनु आवश्यक छ । । यसले गर्दा समाज राम्रो हिसाबले परिवर्तन हुँदै जानेछ ।
अहिले संसार तथा हाम्रो मुलुकमा पनि मोबाइलको व्यापक प्रयोग बढ्दो छ । यसका राम्रा पक्ष पनि छन् नराम्रो पक्ष पनि । यसबाट देशविदेश तथा मुलुकको गतिविधि मानिसहरूले थाहा पाइरहेका हुन्छन् । साथै एकले अर्कोलाई ज्ञान दिन पनि सजिलो भएको छ । यो समाजका लागि ज्ञान शिक्षाको हिसाबले राम्रो पक्ष पनि हो । तर, यसको गलत प्रयोग पनि भइरहेको छ । पढ्नुपर्ने विद्यार्थीहरू मोबाइलमा गेम खेलेर समय बिताइरहेका हुन्छन् । अश्लील सामग्रीले युवालाई बिगारेको छ । यही कारण समाजमा अपराध पनि निकै बढेको छ । इन्टरनेटका कारण बढिरहेको अपराध अहिले प्रहरीका लागि टाउको दुखाइको विषय बनेको छ । यस्तो प्रवृत्ति रोक्न सकिएन भने हाम्रो समाज ध्वस्त भएर जान सक्छ ।
अन्त्यमा एउटा के कुरा भन्न चाहन्छु भने लोकतन्त्र देशमा आएपछि राजनीतिक चेतना बढेको छ तर सामाजिक कलह पनि बढेको छ । यही कारण हाम्रो मुुलुक असल नेता र नेतृत्वविहीन जस्तो देखिएको छ । समाज र मुलुकलाई यथास्थितिमा राखेर आफ्नो स्वार्थ पूरा गर्ने काममात्र राजनीतिक नेतृत्वबाट भएको छ जसको असर मुलुकको समग्र पक्षमा परेको छ । यसमा सुधार ल्याउन जनता जाग्ने बेला आएको छ ।
रमेश केशरी वैद्य