काठमाडौं । विद्युतीय सामग्री र सेवा प्रवाहसम्बन्धी बृहत् प्रदर्शनी ‘फीन इलेक्ट्रो–टेक २०२२’ बिहीवारदेखि शुरू गरिएको छ । इलेक्ट्रिकल एवं इलेक्ट्रोनिक्स सामग्री राखिएको प्रदर्शनी दशौं संस्करण हो ।
नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको प्रदर्शनीको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरे । मन्त्री शर्माले सरकार निजीक्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । देशमा देखिएको आर्थिक असहजता लामो समय नजाने भन्दै उनले अब व्यवसायी सडकमा आउनुपर्ने अवस्था अन्त्य हुने बताए ।
उद्घाटन समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाललाई आवश्यक विद्युत् उत्पादन भएकाले निर्धक्क खपत गर्न आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देश विकासमा निजीक्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भन्दै सरकारले लगानी सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताए ।
प्रदर्शनीको उद्घाटन समारोहमा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठ, टाइटल स्पोन्सर अन्नपूर्ण ग्लोबल इम्पेक्स प्रालिका सञ्चालक राजेन्द्रकुमार राठी लगायतको उपस्थिति थियो ।
प्रदर्शनीको नारा ‘नेपालको समृद्धि ऊर्जा खपत अभिवृद्धि’ रहेको छ । विद्युत् तथा विद्युतीय सामग्रीको व्यवसाय विस्तारसँगै विद्युत्को आन्तरिक खपत र अन्तरराष्ट्रिय व्यापार प्रवर्द्धनमा सघाउने उद्देश्यले मेला आयोजना गरिएको आयोजक नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शनप्रसाद पौड्यालले जानकारी दिए ।
प्रदर्शनी हुने वा भएकाे स्थान कहा हाे ? साेकाे बारेमा पनि लेख्दा समाचार प्रष्ट हुने हुन्छ कि ? अपुराे हुन पुगे जस्ताे लाग्याे ।