ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई आग्रह

२०७९ मंसिर, २३  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले पूर्वाधार निर्माण समयमै र गुणस्तरीय बनाउन निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । भौतिक पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायीबीच सहकार्य आवश्यक रहेको भन्दै उनले निर्माण पनि गुणस्तरीय हुनुपर्नेमा जोड दिएका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघले १५औं राष्ट्रिय निर्माण दिवसको अवसरमा बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले नियामक र व्यवसायी मिले मात्र ठूला योजना अघि बढाउन सकिने बताए । भौतिक पूर्वाधारको क्षेत्रमा चुनौती रहेको र त्यसको समाधानका लागि सहकार्य आवश्यक भएको उनको भनाइ छ । ‘भौतिक पूर्वाधारको काम जनताको जनजीविका र समृद्धिसँग जोडिएको हुन्छ,’ चौधरीले भने, ‘समयमै गुणस्तरीय ढंगले काम सम्पन्न गरौं ।’

व्यवसायीले पाउनुपर्ने रकम निकासा नभएको भन्ने सम्बन्धमा उनले कानून नै संशोधन गरेर भए पनि यो समस्या समाधान गर्नुपर्नेमा जोड दिए । महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायी समृद्धिका सारथि भएको धारणा राखे । मुलुकको पूर्वाधार विकासमा सक्रिय निर्माण व्यवसायी अहिले पनि विभिन्न समस्या झेल्न बाध्य भएको उनले बताए । निर्माण व्यवसायमैत्री कानून नभएसम्म निर्माण उद्योगले गति लिन नसक्ने उनको भनाइ थियो ।

विगतका सरकारहरू निर्माण उद्योगको विकास विस्तारमा खासै संवेदनशील नभएको अध्यक्ष सिंहको भनाइ थियो । अब गठन हुने नयाँ सरकारबाट निर्माण व्यवसायीले निर्माण उद्योगको प्रवर्द्धनमा सकारात्मक भूमिका अपेक्षा गरेको उनले बताए । दिवसको अवसरमा प्रभातफेरी गरेको महासंघले मुखपत्र ‘निर्माण समाचार’को विमोचन गरेको छ । मन्त्री चौधरीले मुखपत्रको विमोचन गरे ।

राष्ट्रिय निर्माण दिवसकै अवसरमा महासंघले रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो । कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए । रक्तदातालाई बिहीवारको कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro