काठमाडौं । कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । फाउन्डेसनको सहयोगमा क्रिएसनले अस्पतालको मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या सचिव देवकुमारी गुरागाईं, शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेलगायतको उपस्थितिमा प्लान्ट हस्तान्तरण गरिएको हो । त्यस्तै हस्तान्तरण कार्यक्रममा मनमोहन अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठ, नेपाल र भुटानका लागि कोकाकोलाका देशीय निर्देशक आदर्श अवस्थी, भारत एवं दक्षिण पश्चिम एशियाका लागि सस्टेनिबिलिटी र सीएसआर निर्देशक राजेश अयापिल्ला, क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्र र कोकाकोला बोटलर्स नेपालका प्रतिनिधिको उपस्थिति थियो । एकपटकमा ५० जनासम्म बिरामीलाई सेवा दिन सकिने सो प्लान्टबाट प्रतिसेकेन्ड २४० लिटर अक्सिजन उत्पादन गर्न सकिने बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या सचिव गुरागाईंले प्लान्ट स्थापनाका लागि क्रिएसन र कोकाकोला फाउन्डेसनको सहयोगको सराहना गरिन् । ‘कोभिड महामारीले हामीलाई यस्ता विपद्बाट बच्न सदैव तयारी अवस्थामा रहनुपर्छ भन्ने महसूस गराएको छ,’ उनले भनिन्, ‘स्वास्थ्य सेवा क्षेत्रमा सक्रिय संघ–संस्थाहरूकोे सहयोग पाउँदा हामी निकै उत्साहित छौं ।’
स्वास्थ्य सेवाको महत्त्वलाई आत्मसात् गर्दै सेवाविहीन समुदायलाई सहयोग प्रदान गर्ने उद्देश्यले अक्सिजन प्लान्ट स्थापना गरिएको कोकाकोला फाउन्डेसनले बताएको छ । फाउन्डेसनको सहयोगले स्वास्थ्य क्षेत्रमा भएको संकटलाई सम्बोधन गरी पूर्वाधारलाई बलियो बनाउन ठूलो मद्दत गर्ने मनमोहन अस्पतालले बताएको छ । क्रिएसनका अध्यक्ष आनन्द मिश्रले अक्सिजन चाहिने बिरामीका लागि अक्सिजन प्लान्ट प्रदान गर्न पाउँदा खुशी लागेको बताए ।