ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

नेपालको पहिलो फ्लाइओभरको निर्माण शुरू, '४५५ मिटर लामो र चार लेनको बनाइने'

२०७९ मंसिर, २३  
समाचार
Tvs Raider Image Not Found
प्रतीकात्मक तस्वीर ।
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि फ्लाइओभर बनाउने विषयमा अध्ययन भएको ७ वर्षपछि ग्वार्कोमा फ्लाइओभर निर्माण शुरू हुने भएको छ । चक्रपथको ग्वार्को चोकमा चार लेनको फ्लाइओभर शुक्रवारदेखि निर्माण शुरू हुने भएको हो ।

सुरुङमार्गपछि पहिलोपटक नेपालमा फ्लाइओभर बन्ने भएको छ । काठमाडौं–तराई द्रुतमार्ग र नागढुंगा सुरुङमार्गमा पनि फ्लाइओभर बन्दै छन् । काठमाडौं उपत्यकामा सवारी चाप बढ्दै गएपछि तीनओटा स्थानमा फ्लाइओभर बनाउने योजना अघि सारिएकोमा पहिलो चरणमा ग्वार्कोमा बन्न लागेको हो । नेपाली निर्माण कम्पनीले नै उक्त स्थानमा शुक्रवारदेखि फ्लाइओभर निर्माण अघि बढाउने भएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले कुनै औपचारिक कार्यक्रम नभएको र दिउँसो ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले बेलुका/बेलुकाको समयमा काम शुरू गर्ने तयारी भएको बताए । उनका अनुसार उक्त फ्लाइओभर निर्माण शुक्रवार बेलुकापखबाट शुरू हुनेछ । चक्रपथको उक्त खण्डमा दिउँसोमा निर्माण अघि बढाउँदा ट्राफिक समस्या हुने भएकाले बेलुकाको समय पारेर निर्माण गरिने मन्त्रालयले उल्लेख गरेको छ ।

सडक विभागले उपत्यकाको सवारी चाप र ट्राफिक व्यवस्थापनका लागि भन्दै अन्डरपास वे र फ्लाइओभर बनाउने योजना अघि बढाएको हो । ग्वार्कोमा बन्ने फ्लाइओभरको टेन्डर २०७८ असारमा सडक विभागले निकालेको थियो । त्यसको साढे १ वर्षपछि नेपाली निर्माण कम्पनीले फ्लाइओभर बनाउन शुरू गर्दैछ ।

चक्रपथको कलंकी–कोटेश्वर सडकखण्डको ग्वार्को चोकमा फ्लाइओभर बन्नेछ । यो फ्लाइओभर विकसित देशमा जस्तो जटिलखाले संरचना नभई साधारण खालको ३५ मीटरको पुल बनाइने विभागले उल्लेख गरेको छ ।

चक्रपथको कलंकी–कोटेश्वर खण्ड चीन सरकारको सहयोगमा ८ लेनको बनिसकेको छ । त्यही सडकखण्डको ग्वार्को चोकमा चार लेनमा फ्लाइओभर बन्ने भएको हो । ४५५ मीटर लामो फ्लाइओभरमध्ये सडकमाथि ३५ मीटरको पुल बन्नेछ भने मंगलबजार (पाटन) साइटबाट इमाडोलतर्फ भने पुलमुनिबाट सवारीसाधनहरू सञ्चालन हुनेछन् । 

विभागले यसअघि नै अर्थ मन्त्रालयबाट उक्त फ्लाइओभर बनाउन रू. ३४ करोडको स्रोत सुनिश्चितता पाइसकेको छ । विभागले ग्वार्कोका साथसाथै सातदोबाटो र एकान्तकुनामा पनि फ्लाइओभर बनाउने गरी अध्ययन गरिसकेको छ । शहरी क्षेत्रमा हुने सवारी चाप र त्यसबाट ट्राफिक व्यवस्थापनमा पर्ने प्रभाव न्यूनीकरण गर्न आर्थिक वर्ष २०७७/७८ को बजेटमा पहिलोपटक फ्लाइओभर बनाउने योजना समावेश गरिएको थियो ।

उपत्यकामा बढ्दो सवारी चापका कारण गन्तव्यमा पुग्न धेरै समय लाग्ने भएपछि बानेश्वर, त्रिपुरेश्वर, तीनकुने, कोटेश्वरजस्ता क्षेत्रमा फ्लाइओभर बनाउने योजना विभागको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro