ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर शिक्षा : रेसियो एनालाइसिस

२०७९ मंसिर, २३  
शेयर / बैङ्किङ गतिविधि लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

हरेक कम्पनीले आर्थिक वर्षको अन्त्यमा आफ्नो वार्षिक प्रतिवेदन तयार गरी शेयरधनीहरूलाई पठाउने गर्दछ । सयौं पृष्ठको वार्षिक प्रतिवेदनमा कम्पनीको प्रगति विवरण खोल्न अलि गाह्रो नै हुन्छ । एउटा मोटो पुस्तकको रूपमा रहेको वार्षिक प्रतिवेदनबाट आफूलाई चाहिने खालको महत्वपूर्ण जानकारी पत्ता लगाउने छोटो तरीका प्रत्येक शेयरधनीहरूले जानिराख्दा सहज हुन्छ ।

कम्पनीको लेखा दोहोरो स्रेस्ता प्रणालीअनुसार राखिने हुनाले लेखा विवरणको हरेक शीर्षकमा भएको अंक अर्को कुनै न कुनै शीर्षकसँग सम्बन्धित हुन्छ । ती अंकहरूले कम्पनीले राम्रै काम गरिरहेका छन् वा छैनन् भन्ने आफैँ देखाउँदैनन् । वित्तीय अनुपात (फाइनान्सियल रेसियो) हिसाब गरेर मात्र त्यसबारे केही थाहा पाउन सकिन्छ । 

कम्पनीको वित्तीय अनुपातलाई विभिन्न वर्गमा विभाजन गरिएको हुन्छ । जस्तै लिभरेज, लिक्विडिटी, इफिसियन्सी र प्रोफिटेबिलिटी । यी विभिन्न वर्गका वित्तीय अनुपातहरूमध्ये लगानीकर्ताहरूले विशेष चासो राख्नुपर्ने वित्तीय अनुपात भनेको प्रोफिटेबिलिटी रेसियो हो । यसले कम्पनीको आय र नाफाबारे विभिन्न जानकारी दिन्छ । त्यसैले यहाँ प्रोफिटेबिलिटी वर्गका रेसियोहरूबारे चर्चा गरिन्छ ।

मार्जिन रेसियो :
कम्पनीको प्रोफिटेबिलिटी बारेमा बताउने एउटा महत्वपूर्ण सूचक मार्जिन रेसियो हो । मार्जिन रेसियोले कम्पनीले कमाएको आयबाट कत्तिको बचत हुन्छ भन्ने देखाउँछ । मार्जिन रेसियो पनि ग्रस मार्जिन रेसियो, अपरेटिङ मार्जिन रेसियो र नेट मार्जिन रेसियो गरी विभिन्न किसिमको हुन्छ । कम्पनीको खुद विक्रीले अपरेटिङ आयलाई भाग गरेर अपरेटिङ मार्जिन रेसियो निकालिन्छ ।

खुद विक्रीबाट उत्पादन खर्च, प्रशासनिक खर्च, विक्री खर्च र वितरण खर्च कटाएर बाँकी रहेको आयलाई अपरेटिङ आय भनिन्छ । अर्को शब्दमा भन्ने हो भने उत्पादन खर्च, प्रशासनिक खर्च, विक्री खर्च र वितरण खर्च कटाएर बाँकी रहेको रकम कम्पनीको कुल आयको कति प्रतिशत हो भन्ने यस रेसियोले देखाउँछ । आय नै अपरेटिङ आय हो । उत्पादित वस्तुको प्रतिएकाइ सञ्चालन खर्च र नगद असुली बिल रकमले अपरेटिङ मार्जिन रेसियोलाई प्रभावित गर्दछ ।

प्रतिएकाइ सञ्चालन खर्च घट्यो भने वा बिल गरिएको रकम बढ्यो भने अपरेटिङ मार्जिन रेसियो बढ्छ । यसबाहेक विक्रीको परिणामले पनि अपरेटिङ मार्जिन रेसियोलाई केही हदसम्म प्रभाव पारेको हुन्छ । विक्रीको परिमाण बढ्यो भने रेसियो बढ्छ ।

प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा तपाईको कम्पनीको प्रतिस्पर्धात्मक क्षमता कति बलियो छ भन्ने तथ्य अपरेटिङ मार्जिन रेसियोले देखाउँछ । प्रोफिटेबिलिटी थाहा पाउने अर्को संकेत ‘नेट प्रोफिट मार्जिन’ हो । कर  कट्टी गरेर बाँकी रहेको आयलाई खुद विक्रीले भाग गरेर नेट प्रोफिट मार्जिन निकालिन्छ । त्यसैले नेट प्रोफिट मार्जिन भनेको कम्पनीको खुद विक्री आयको त्यो हिस्सा हो, जसमा कम्पनीका मालिक अर्थात् शेयरधनीहरूको हक लाग्छ । अपरेटिङ मार्जिन, कम्पनीले तिर्नुपर्ने ब्याज र कर कट्टीको दरले प्रोफिट मार्जिन रेसियोलाई बढाउने वा घटाउने गर्दछन् । उच्च मार्जिन रेसियो हुनु राम्रो संकेत हो । किनभने यसो भएमा कम्पनी बजारमा अचानक आउन सक्ने उतारचढावको जोखिमबाट सजिलै बच्न सक्छ । तैपनि लगानीकर्ताहरूले मार्जिनको स्वरूपमाथि ध्यान दिनुपर्दछ ।

मार्जिनको स्वरूप थाहा पाउन सकियो भने त्यस्तो उच्च मार्जिन कत्तिको दिगो छ र मार्जिन कम भएमा त्यसमा सुधारको सम्भावना कत्तिको छ भन्ने पनि थाहा पाउन सकिन्छ । निकै बढी नै मार्जिन छ भने लगानीकर्ताहरूले त्यसलाई केही सतर्कतासाथ लिनुपर्दछ । किनकि निकै उच्च मार्जिन भएमा कम्पनीका नयाँ प्रतिस्पर्धीहरू उत्पन्न हुन सक्छन् र वैकल्पिक उत्पादनहरू बजारमा आउन सक्छन् । त्यस्तै गरी मौजुदा कम्पनीहरूले पनि आफ्नो क्षमता अभिवृद्धि गर्न सक्छन् ।

माथि उल्लिखित ‘मार्जिन रेसियो’ र ‘नेट प्रोफिट मार्जिन’ कम्पनीको नाफा–नोक्सान विवरणबाट थाहा पाउन सकिन्छ । तर, हामी अर्का दुईओटा सूचकहरू पनि उल्लेख गर्छौं, ती सूचकहरू भने नाफा–नोक्सान विवरण र वासलात दुवैबाट निकालिन्छन् । 

लगानीमा प्रतिफल :

यो सूचकले कम्पनीमा भएको कुल पूँजी लगानीबाट भएको लाभ देखाउँछ । लगानीकर्ताहरूको लागि यो सूचक किन महत्त्वपूर्ण छ भने यो अनुपात कम्पनीले लिएको ऋणको ब्याजदरभन्दा न्यून भयो भने कम्पनीले अलिकति मात्रै थप ऋण लियो भने पनि आय वृद्धि ऋणात्मक हुन जान्छ । यो अनुपात निकाल्न ब्याज खर्च र कर कट्टी दुवैभन्दा अघिको नाफालाई कुल सम्पत्तिबाट चालू दायित्व घटाएर आएको अंकले भाग दिइन्छ । दुई कम्पनीमध्ये जुनमा यो दर बढी भयो उही कम्पनी राम्रो मानिन्छ ।

नेटवर्थमा प्रतिफल :

यो अनुपातले कम्पनीको प्रोफिटेबिलिटी र इफिसियन्सीलाई संकेत गर्दछ । कर कट्टी गरेपछिको आयलाई शेयरधनीहरूको पूँजीले भाग गरेर यो अनुपात निर्धारण गरिन्छ । शेयरधनीहरूको पूँजी भन्नाले चुक्तापूँजीमा सञ्चित (अवितरित) मुनाफा जोडेर आएको योगफल हो । नेटवर्थमा प्रतिफलको अनुपात प्रोफिट मार्जिन, सम्पत्तिको व्यवस्थापन र लिभरेजसँग सम्बन्धित छ । शेयरधनीहरूको हक लाग्ने कोषको वृद्धि कुन दरमा भइरहेको छ भन्ने कुरा थाहा पाउन यस दरले मद्दत गर्दछ । 

नेटवर्थमा प्रतिफल जति उच्च हुन्छ, कम्पनीको प्रगति दर पनि त्यति नै उच्च हुन्छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)