काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन सकिएको छ। अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरूबीच रस्साकस्सी छ।
कुनै पनि एक दलको मात्र बहुमत नपुगेको अवस्थामा गठबन्धन गरेर सरकार बनाउने ध्याउन्नमा शीर्ष राजनीतिक दलहरू छन्। आम जनताले ५ वर्षका लागि देशको विकास गर्न भनेर चुनेर पठाएका जनप्रतिनिधिहरू जिल्लावासीहसँग भेटघाट गरेर बिस्तारै केन्द्रमा उपस्थित हुँदै छन्। अबको महिना दिनभित्र सम्भवतः देशले नयाँ सरकार पाउनेछ ।
आम जनताहरू देश विकासमा राजनीतिक दलहरूले चासो नदिँदा असन्तुष्ट देखिएको प्रमाण गत निर्वाचनले पुष्टि गरिसकेको छ। किनभने ठूला मानिएका राजनीतिक दलहरूका अगाडि नयाँ शक्तिहरूको उदय भएको छ। जनताले तीव्र गतिमा विकास चाहेका छन् । पुराना राजनीतिक दलहरू जनचाहनाअनुसार अब्बल सावित हुन सकिरहेका छैनन् ।
अबको नेतृत्वले देश विकास गर्नेमा आम सर्वसाधारण आशावादी भए पनि निर्वाचनबाट जनप्रतिनिधि चुनिएर आइसक्दासमेत काठमाडौं उपत्यकाको अवस्था भने निर्वाचनअघिको भन्दा फरक देखिँदैन।
जताततै अस्तव्यस्त मात्र देखिन्छ । भत्काइएका संरचनाको व्यवस्थापन भएको छैन । विकास निर्माणका लागि पहलकदमी थाल्नु उचित त हो तर उचित व्यवस्थापन बिनाको विकास निर्माण दिगो हुन सक्दैन ।
त्यसैले पनि जनताले चाहेको व्यवस्थापनसहितको विकास निर्माणको खाँचो देखिन्छ । प्रतिनिधि सभाका उम्मेदवार चुनिएको करीब एक महीना पुग्नै लागेको छ। काठमाडौं उपत्यकाका अधिकांश अस्तव्यस्त ठाउँहरू जस्ताको तस्तै भेटिन्छन् ।
मर्मतसम्भार शुरू गरिएका ठाउँहरूमा पनि त्यत्तिकै अस्तव्यस्तता छ भने काम गर्नुपर्ने ठाउँमा समेत प्रतिनिधिहरूको खासै चासो देखिंदैन। न त राम्रोसँग फोहोर व्यवस्थापन भएको छ, न त सडकका खाल्डाखुल्डी नै पुरिन थालेका छन् । न पार्किङको बन्दोबस्त छ न त उपत्यका सरसफाइको काम भएको छ।
एक महीनाको बीचमा काठमाडौंवासीले निर्वाचन ताका जनताले राखेका माग र अपेक्षालाई जनप्रतिनिधिहरूले खासै चासो दिएको देखिंदैन। आगामी दिनमा विकास निर्माणले गति लिन्छ वा यत्तिकैमा पाँच वर्ष कट्छ भन्ने चाहिँ हेर्न बाँकी नै छ। अब जनता सचेत भइसकेका छन्, अब पनि नेताहरूले जनतालाई झुटो आश्वासनह दिइरहने हो भने आगामी दिनमा ठूला राजनीतिक दलहरूको भविष्य धरापमा पर्ने निश्चित छ।
हेरौं, अस्तव्यस्त काठमाडौंका यी तस्वीरहरु:
तस्वीर सौजन्य : न्यूज एजेन्सी नेपाल