ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

नवउद्यमीका लागि एक्स्पो महत्त्वपूर्ण अवसर : भोला दुलाल [अन्तरवार्ता]

२०७९ पौष, ३  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

तपाईं छैटौं र सातौं विराट एक्स्पोको संयोजक हुनुहुन्छ । दुवै एक्स्पोबीच के फरक छ ?

विशेषगरी छैटौंभन्दा सातौंमा एक्स्पो प्रविधिका हिसाबले फरक छ । सातौंमा नयाँ प्रविधिको प्रयोग बढी छ । एक्स्पो भनेको रमाइलो मेला मात्रै होइन भन्ने हामीले सन्देश दिन खोजेका छौं । खास प्रदर्शनी के हो भन्ने सवालको उत्तर हामीले दिन खोजेका छौं । पहिले ७० जना प्रदर्शकले काम गर्नुभएको थियो भने अहिले ४५० जना प्रदर्शक हुनुहुन्छ । यसबाट नै छैटौं र सातौं बीचको फरक थाहा हुन्छ । पेभिलियनहरू पनि धेरै छन् । नयाँ स्टार्टअप, कृषिका विज्ञहरूबाट किसानलाई बढी लाभ कसरी लिने भन्ने कुरा सिकाइन्छ । रोबोटसँगको संवाद छ । यो पूर्वकै लागि नयाँ हो । ठाउँ फराकिलो, पार्किङ फराकिलो छ । सफाइ राम्रो छ । नाइटभिजन र सीसीटीभी क्यामेराबाट समेत सुरक्षा निगरानी गरिनेछ । छैटौं भन्दा यो एक्स्पो धेरै उत्कृष्ट छ ।

मेलाका अन्य विशेषता के छन् ? 

अहिलेको एक्स्पोमा अवलोकनकर्ताले सामान मात्र होइन, ज्ञान समेत लिएर फर्कन्छन् । उद्योग लगाउन के कस्तो प्रविधि आवश्यक पर्छ, खर्च कति लाग्छ, आम्दानी कति हुन्छ भन्ने लगायत सबै विषयमा यहाँबाट थाहा पाउन सकिन्छ । कृषिमा बढी उत्पादन कसरी लिन सकिन्छ भन्ने ज्ञान र जानकारी एउटै ठाउँमा पाउन सकिनेछ । त्यस्तै युवाले ब्याचलर सकेर म विदेश जान्नँ, नेपालमै केही गरेर देखाउँछु भन्ने भावना लिएर आएमा उसले पनि बिजनेशका नयाँ अवधारणा पाउनेछ । यो एक्स्पोले सबै किसिमका अवलोकनकर्तालाई फाइदा हुनेछ । फरक ढंगको अन्तरराष्ट्रिय स्तरको एक्स्पो हामीले आयोजना गरेका छौं । 

पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि के कार्यक्रम छ ? 

पर्यटकीय क्षेत्रको उत्थानका लागि प्रदेश १ मा रहेका सगरमाथादेखि अन्य हिमशृंखलाका साथै प्रमुख धार्मिकस्थल समेत नजिकबाट हेरेको अनुभूति हुनेगरी भीआर प्रविधिबाट देखाउनेछौं । भारतीय अवलोकनकर्तालाई विशेष प्राथमिकता दिएका छौं, जसको कारण भोलिका दिनमा उहाँहरूले ती क्षेत्रहरूमा भौतिक रूपमै जाने वातावरण बन्न सक्छ । त्यस्तै एक्स्पो अवधिभर विराटनगर विमानस्थलबाट माउन्टेन फ्लाइट उडान गर्ने तालिका पनि छ । हेलिकोप्टरबाट पाथीभरा देवीको दर्शन गराउने र स्थानीय दृश्यावलोकनका लागि पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ । 

विराटनगरको मुख्य क्षेत्रभन्दा दुई किलोमिटर तल नयाँ ठाउँमा एक्स्पो आयोजना हुँदा कुनै समस्या पर्दैन ? 

त्यसले खासै फरक पर्दैन । किनकि विराटनगर भनेको सवारीसाधन पाइने स्थान हो । सिटी सफारीमा २० रुपैयाँ तिरेर सजिलै एक्स्पो स्थल पुग्न सकिन्छ । डिग्री क्याम्पसको मैदान महेन्द्र चोकबाट टाढा होइन । हामीले दुहवी, कटहरी, जोगवनीलगायत स्थानबाट एक्स्पोमा आउन चाहनेका लागि दैनिक नि:शुल्क सटल बसको व्यवस्था गरेका छौं । यसबाट स्थानीयहरूलाई आउन सजिलो हुने अपेक्षा छ । एक्स्पो एउटा पर्व जस्तै हो । यसमा रमाउन चाहनेहरूलाई थोरै फरक दूरीले असर गर्दैन ।

कतिको कारोबार हुने अनुमान छ ? 

कारोबारका हिसाबले अन्तिम दिनसम्म ३० करोडको होला भन्ने अनुमान गरिएको छ । झण्डै ३ लाख मानिसले एक्स्पोको अवलोकन गर्नेछन् । प्रदर्शन स्थल नहँुदा हामीले डोम र स्टलहरू निर्माणमा धेरै खर्च गरेका छौं । झन्डै तीन करोड रुपैयाँ त्यसमा खर्च भएको छ । यो मेलामा आम अवलोकनकर्ताले बोल्ने रोबोटदेखि सगरमाथा बेस क्याम्पसम्मको अनुभव गर्न सक्छन् । यो एक्स्पो सफल बनाउन एक महीनादेखि हामी अनवरत रूपमा लागि रहेका छौं । सबैको राम्रो सहयोग पाएका छौं । सोचेभन्दा राम्रो र देशकै नमूना एक्स्पो हुन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro