ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

अरुण नदीमा अर्को आयोजनाको काम पनि शुरू, ४५४ मेगावाटको किमाथाङ्‍का अरुण अघि बढाइँदै

२०७९ पुस, ८  
समाचार विकास
Tvs Raider Image Not Found

काठमाडौं । ४५४ मेगावाट क्षमताको किमाथाङ्‍का अरुण जलविद्युत् आयोजनाको काम अघि बढेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् उत्पादन कम्पनीले अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयारीका लागि आवश्यक प्रक्रिया अगाडि बढाएसँगै आयोजनाको काम अघि बढेको हो ।

कम्पनीले सूचनामार्फत् सङ्खुवासभा जिल्लामा आयोजनास्थल रहेको सो आयोजनाको परामर्शदाताका रुपमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीले काम गरिरहेको उल्लेख गरेको छ । 

आयोजना सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा अवस्थित छ । पछिल्ला दिनमा ‘हाइड्रो’ हबका रुपमा परिचित अरुण नदीमा निर्माण हुने आयोजना ऊर्जा उत्पादनका हिसाबले पनि आकर्षक छ । एउटै वडाभित्र सीमित सो आयोजना स्थानीय छुम्सुर गाउँ नजिकै छ ।

कम्पनीका अनुसार अरुण नदीमा जगदेखि १४० मिटर र नदीको सतहदेखि ७० मिटर अग्लो बाँध निर्माण हुनेछ । सोही बाँधका कारण अरुण नदीमा करीब ० दशमलव ३५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ताल बन्नेछ । तालमा १०३ लाख घनमिटर क्षमताको जलाशय बन्नेछ । 

भोटखोला गाउँपालिका– २ को लिहम गाउँबाट करीब ५०० मिटर तल पुङमुछीमा विद्युत् गृह निर्माण हुनेछ । आयोजनाका लागि ८ मिटर व्यास भएको करीब ५ हजार ९१८ मिटर लामो भूमिगत हेडरेस सुरुङ निर्माण हुनेछ । कम्पनीका अनुसार पानीको डिजाइन बहाव करीब १४३ घनमिटर प्रतिसेकेण्ड र करीब ३७९ दशमलब ५२ मिटरको कूल हेड प्रयोग गरिनेछ । त्यसबाट वार्षिक करीब २ हजार ६५५ दशमलब १२ गिगवाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ । विद्युत्गृह भूमिगत हुनेछ । त्यसमा हेडरेस सुरुङबाट ल्याइएको पानीलाई ४ ओटा टर्बाइनमा खसाली विद्युत् उत्पादन हुनेछ । 

विद्युत् उत्पादन पश्चात् करिब ७५१ दशमलव ०५ मिटर लामो टेलरेस सुरुङमार्फत पानी पुनः अरुण नदीमा नै छाडिनेछ । आयोजनाका संरचनासम्म पुग्नका लागि २६ दशमलव ८ किलोमिटर लामो पहुँचमार्ग निर्माण गरिनेछ ।

आयोजनाका अधिकांश संरचना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा निर्माण हुनेछन् । आयोजनाले वातावरणीय रुपमा पार्नसक्ने प्रभावको बारेमा आवश्यक जानकारी ७ दिनभित्र दिन कम्पनीले आग्रह गरेको छ ।

अरुण नदीमा नै हाल भारतीय कम्पनी सतलज विद्युत् निगमले कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस्तै, सोही कम्पनीले तल्लो अरुण समेत जिम्मा लिएको छ । अरुण-४ जलविद्युत् आयोजनाको पनि प्राधिकरण र सोही कम्पनीले संयुक्त रुपमा काम गरिरहेका छन् । ११०० मेगावाट क्षमता बराबरको माथिल्लो अरुणको पनि प्रक्रिया अगाडि बढाइएको छ । 

आयोजनाका लागि प्राधिकरणले सहायक कम्पनी स्थापना गरेर वित्तीय व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको छ । हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले आन्तरिक रुपमा वित्तीय व्यवस्थापनको काम शुरू गरेको छ । -रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro