काठमाडौं । पछिल्लो समय नेपालको खेलकूद क्षेत्र निरन्तर खस्किरहेको छ। एकपछि अर्को खेलहरुमा पराजय भोगिरहेको नेपाल उत्कृष्ट जित निकाल्न सकिरहेको छैन ।
क्रिकेट होस् वा फुटबल उत्कृष्ट नतिजा निकाल्न नेपाल असक्षम भएको केही समय यताका खेलहरूबाट स्पष्ट हुन्छ। नेपालमा सबैभन्दा धेरै फ्यान भएको फुटबलमा समेत गुट, उपगुटका कारण विभिन्न समस्या पैदा भएका छन्। यद्यपी मुख्य प्रशिक्षक परिवर्तनपछि भएका दुई मैत्रीपूर्ण खेल भने नेपालले जितेको छ। तर फ्यानहरुका लागि त्यो पनि सन्तोषजनक छैन।
दोस्रो धेरै मन पराइने क्रिकेटमा पनि पछिल्लो समय जित निकाल्न नेपाली टिमले सकेको छैन। हालै नामिबियामा सम्पन्न आईसीसी क्रिकेट लिग डिभिजन २ अन्तर्गत भएका सबै खेलमा नेपाल पराजय व्यहोर्न बाध्य भयो। साथै अन्य समूह चरणका खेलमा पनि नेपालले सन्तोषजनक नतिजा नकाल्न सकेको छैन।
खेल मात्रै कमजोर होइन, खेल सँगसँगै नेपालका खेलकूद संरचना पनि कमजोर र जिर्ण बन्दै गइरहेका छन्। खेलको अभ्यासका लागि राम्रा र सुविधायुक्त भौतिक संरचना नभइरहेको भन्ने गुनासो बढिरहेको नेपालमा भएका केही संरचनाहरुको समेत उचित संरक्षण र सम्बबर्द्धन हुन नसक्नु दुःखद् हो।
यिनै जिर्ण र संरचनामा अभ्यास गर्न खेलाडीहरू बाध्य बनेका छन् । भत्केका संरचनाहरु बनाउन र भएका खेल संरचनाको विकास गर्न लाग्नेतर्फ सम्बन्धित निकायहरु चनाखो देखिँदैनन्।
संरचनालाई सुविधायुक्त बनाउनु त टाढाको कुरा संरचनाको व्यवस्थापन गर्न पनि कठिन बनेको छ। सरसफाइ र नियमनका कुरा त फोटोमै कसरी भएको छ भन्ने स्पष्ट हुन्छ। खेलका संरचनाहरु बिग्रिँदै गएका छन्।
सातदोबाटोस्थित स्वीमिङ पुलको दर्शक बस्ने कुर्सी, काठमाडौंको मुलपानीको क्रिकेट रंगशाला लगायत अधिकांश काठमाडौं उपत्यकाका खेलकूद संरचनाहरु जिर्ण बनिरहेका छन्।
त्रिपुरेश्वरस्थित स्विमिङ पुल त भूकम्पले भत्केपछि अलपत्र नै छ। रंगशालामा फ्याँकिएका नवौं साफ खेलकुद प्रतियोगिताको मस्कट, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा च्यातिएको झण्डाहरु तस्वीर हेर्दा नै कस्तो अवस्था रहेछ भन्नेकुरा स्पष्ट बुझिन्छ।
प्रस्तुत छ जिर्ण बन्दै गरेका खेलकूदका संरचनाहरु बारे तस्वीरहरु आजको फोटो फिचरमा।
तस्वीर सौजन्य : न्यूज एजेन्सी नेपाल