ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

कमाएको १० प्रतिशत सुनचाँदीमा लगानी गर्नैपर्छ : अनलराज भट्टराई [अन्तरवार्ता]

२०७९ पुस, ९  
अन्तरवार्ता
Tvs Raider Image Not Found

जीवनमा वित्तीय एवं आर्थिक सुरक्षाका लागि लगानी महत्वपूर्ण उपकरणको रूपमा रहेको सर्वस्वीकार्य तथ्य हो । तर गैरव्यावसायिक व्यक्तिका लागि भने केमा, कसरी, कहिले लगानी गर्ने भन्ने विषयमा अन्योल हुने गर्छ । नेपालको सन्दर्भमा भने पछिल्लो समय शेयर बजार र कमोडिटिज मार्केट लगानीका लागि तुलनात्मक लाभदायी र सहज क्षेत्र मानिएका छन् । साना लगानीकर्ताका लागि समेत राम्रो सम्भावना भएका यी क्षेत्रबाट कसरी लाभ लिन सकिन्छ त ? प्रस्तुत छ, लगानीका यिनै सरोफेरोमा रहेर आर्थिक अभियानले पूर्व बैंकर एवं एनआरएन डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईसँग गरेको कुराकानीको सार ।

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
धेरै नेपालीहरू विदेशमा बसेर काम गरिरहनुभएको छ । मुलुकको अर्थतन्त्रमा विदेशिएका नेपालीहरूले टेवा पुर्‍याउन सक्छन् भन्ने लाग्छ । उनीहरूलाई अर्थतन्त्र र विकासमा कसरी जोड्न सकिन्छ भनेर एउटा काम गरिरहेको छु । खासगरी भन्ने हो भने म यही काममा व्यस्त छु । यसका साथै आर्थिक विश्लेषण र अनुसन्धानका काममै दिनचर्या बितिरहेको छ ।

तपाईंं धेरै वर्षदेखि लगानीको क्षेत्रमा संलग्न हुनुहुन्छ । व्यक्तिगत लगानी कसरी गर्ने ? यस सम्बन्धी टिप्स के–के हुन सक्छन् । बताइदिनुस् न ।
सर्वप्रथम लगानीका लागि आम्दानी हुनुपर्‍यो, अर्थात् बचत हुनुपर्‍यो । लगानी गर्न पैसा चाहियो । कर्जा लिएर वा अरूसँग पैसा लिएर लगानीतर्फ अघि बढ्छु वा प्रतिफल लिन्छु भन्ने हो भने यहाँ जोखिम छ । अरूको पैसाबाट काम गर्दा ब्याज पनि तिर्नुपर्छ अर्थात् अरू दायित्व पनि सृजना हुन्छन् । त्यसकारण सबैभन्दा पहिला आफूलाई लगानी गर्न समर्थ बनाउन सक्नुपर्‍यो । त्यो भनेको आधारभूत आम्दानीको स्रोत तयार गर्नु हो । पहिला यसमै केन्द्रित हुन आवश्यक छ ।

तपाईंको पारिवारिक पृष्ठभूमिबारे पनि बताइदिनुस् न । कोबाट प्रभावित भएर लगानीतर्फ आकर्षित हुनुभयो ?
मेरो जन्म मध्यमवर्गीय परिवारमा भएको हो । मेरो हजुरबुवा त्रिचन्द्र क्याम्पसमा प्राध्यापक हुनुहुन्थ्यो । बुवा पनि सरकारी कर्मचारी हुनुहुन्थ्यो । काठमाडौंको नयाँ बानेश्वरमा हाम्रो धेरै जग्गा जमीन थियो । उहाँहरूले मसहितको परिवारलाई सक्षम बनाउन शिक्षामै लगानी गर्नुभयो । भौतिक सम्पत्ति त अगाडिको पुस्ताले नै जोडिसकेको थियो । त्यसकारण यसतर्फ बुवाको ध्यान गएन । उच्च शिक्षा आर्जनको क्रममा बुवाले मलाई भारतमा पठाउनुभयो । भारतबाटै म चार्टर्ड एकाउन्टेन्ट (सीए) भएको हुँ । हुन त मलाई कानून पढ्ने रहर थियो । द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण भएकाले ल क्याम्पसमा नाम निस्किएन । त्यसपछि मीनभवन क्याम्पसमा कमर्स अध्ययन गर्न थालेँ । त्यतिखेर घर छेउमा प्रतिष्ठित चार्टर्ड एकाउन्टेन्ट कुबेर शर्मा बस्नुहुन्थ्यो । उहाँको जीवनशैलीबाट प्रभावित भएर खुबै मेहनत गरेँ र सीए उत्तीर्ण गरेँ ।

 

त्यतिखेर विदेशमा गएर सीए अध्ययन गर्न कत्तिको सहज थियो ? सबैले सीए अध्ययन गर्न सक्छन् ?
भारतमा सीए पढ्दाको अनुभवले नै मलाई आजको अवस्थामा ल्याइपुर्‍याएको जस्तो लाग्छ । भारतमा सीए पढ्दाको रोचक कुरा छ । सीएको नतीजा कस्तो आउँथ्यो भने अनुत्तीर्ण धेरै संख्यामा हुन्थे, उत्तीर्ण कहिलेकाहीँ थोरै संख्यामा मात्र हुन्थे । अरू विषयको सीए अध्ययन गाह्रै छ । सीएमा न्यून मात्र उत्तीर्ण हुन्छन् । अहिले पनि त्यही नै छ । त्यस्तो कठिन खालको अध्ययन गर्ने वातावरणबाट उत्तीर्ण भएकाले मलाई फेल हुन कहिल्यै डर लाग्दैन । त्यसले मलाई के शिक्षा दियो भने लगानी गर्दा घाटा हुन्छ, लगानी गर्दा घाटा सहन पनि सक्नुपर्छ । सीए सकेर आएपछि मैले तीर्थराज उपाध्यायसँग काम गरेँ । उहाँबाट सीए सम्बन्धी धेरै व्यावहारिक ज्ञान हासिल गर्ने मौका पाएँ । त्यसपछि मेरो प्रवेश बैंकिङ क्षेत्रमा भयो । त्यहाँबाटै शेयर बजार, डेरिभेटिभ र कमोडिटिजको बारेमा थप ज्ञान प्राप्त भयो ।

दीर्घकालीन हिसाबले हेर्ने हो भने नेपालमा सबैभन्दा उच्च प्रतिफल पाउने क्षेत्र शेयर बजार मात्र हो ।
 

त्यो समयमा प्राथमिक शेयर (आईपीओ)मा सर्वसाधारणको अहिलेको जस्तो आकर्षण थिएन, होइन ?
बैंकिङ क्षेत्रमा प्रवेश गरेपछि त्यहाँ विभिन्न पेशाका व्यक्तिहरूसँग संगत भयो । यसपछि मैले विभिन्न कम्पनीले निष्कासन गर्ने आईपीओ भर्न शुरू गरेँ । बैंकका कर्मचारीहरूले नै आईपीओ भर्न प्रोत्साहन गर्थे । हुन त त्यतिखेर आईपीओको बारेमा त्यति चर्चा हुँदैनथ्यो । सर्वसाधारणलाई थाहा पनि हुँदैनथ्यो । आईपीओ भर्‍यो कि परिहाल्थ्यो । अहिलको जस्तो कहाँ हुनु ? सानो रकमले पनि आईपीओ पर्छ भने हालौं न त भन्ने हुन्थ्यो । शेयर भर्थें । तर शेयरधनी प्रमाणपत्र लिन पनि जाँदैन थियौं । आईपीओ भरेको अर्धकट्टी मात्र दराजमा हुन्थ्यो । पैसा लगानी गर्‍यो, छाड्यो जस्तो हुन्थ्योे । आईपीओ भर्न थालेको करीब ५–६ वर्षपछि मलाई कहीँ न कहीँ लगानी त गरेको छु भन्ने लाग्यो । त्यसपछि खोजी गर्दा बोनस शेयर, नगद लाभांश समेत गरेर धेरै भइसकेको रहेछ । त्यसबाटै मेरो लगानी यात्रा अघि बढेको हो ।

त्यसपछि कुन कुन क्षेत्रमा कसरी लगानी बढाउनु भयो ?
लगानीको यात्रा त बैंकमा काम गर्दाको समयदेखि नै शुरू भएको हो । पछि नेपालमा सुन र चाँदीमा लगानी गर्ने हो भने आर्थिक अवसर छ भन्ने बुझ्ने मौका पाएँ । त्यसपछि मासिक आम्दानीको केही प्रतिशत शेयर बजार र केही प्रतिशत कमोडिटिज (सुन, चाँदी लगायत) मा लगानी गर्नुपर्छ भन्ने सोचविचार आयो । कम्तीमा पनि प्रत्येक वर्ष आम्दानीको १० प्रतिशत कमोडिटिजमा लगानी गर्ने र शेयर बजारमा जति सकिन्छ, त्यति लगानी गर्दै गर्नुपर्छ भन्ने लाग्यो । ऋण लिएर शेयर किनेको भने होइन  । जानेर वा बुझेर भन्दा पनि लगानी बढाउँदै जानुपर्छ भन्ने हिसाबले बढाइरहेँ । ५–६ वर्ष नेपाल बैंकमा ट्रेजरी प्रमुख भएर पनि काम गरेँ । त्यहाँ काम गर्दा रेमिट्यान्स कम्पनी खोलौं भन्ने प्रस्ताव आयो । बैंकमा काम गर्दा विदेशी बैंकका प्रतिनिधिसँगको अन्तरक्रियाबाट प्राप्त ज्ञानलाई उपयोग गर्ने कि भनेर साझेदारसँग आधाआधा लगानी गर्ने विचार पनि आएको थियो । तर म यसमा पछि हटेँ । आफै केही काम गर्नुपर्छ भनेर व्यवसाय शुरू गरेँ ।

वित्तीय क्षेत्रको अनुभवपछि तपाईं बैंक नै स्थापनातर्फ लाग्नुभयो । यो कसरी सम्भव भयो ?
रेमिट्यान्सबाट पछि हटेपछि बैंकिङ क्षेत्रमा आफ्नै सक्रियतामा केही काम गर्नुपर्छ भन्ने लाग्यो । यही समय अर्थात् सन् २००३ देखि २००७ सम्ममा दुईओटा बैंक स्थापनामा मेरो सहभागिता थियो । तर पनि म सन्तुष्ट हुन सकिनँ । अनुभव छ, शीप पनि छ, अब आफैले केही गर्नुपर्छ भनेर २ अर्ब रुपैयाँ पूँजी भएको बैंक खोल्न हिम्मत गरेँ । सीए पास गरेको १२ वर्षपछि मैले हिम्मत गरेरै बैंक खोलेको हुँ, कमर्स एण्ड ट्रष्ट बैंक ।

यी त संस्थागत कुरा भए । व्यक्तिगत जीवनमा लगानी कसरी गर्ने ?

हो, म यसै बारेमा भन्दै छु । त्यो बेलामा बैंक स्थापना गर्न २ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने भयो । मैले केही हदसम्म स्वपूँजी, लगानीबाट प्राप्त नाफा, मासिक आम्दानी र केही ऋण लिएर बैंक खोल्ने आँट गरेको हुँ । लगानीका लागि प्राथमिक स्रोत चाहियो, दोस्रो स्र्रोत पनि चाहियो । स्वपूँजीको आधारमा लगानी गर्नुहुन्छ भने अर्कै कुरा, नभए लगानीका लागि आम्दानीका स्रोत दुई–तीन ओटा हुन आवश्यक छ । ऋण लिएर लगानी विस्तार गर्नुहुन्छ भने पनि त्यो तिर्न स्रोत पनि चाहिन्छ । यो भएन भने लगानी नै डुब्न सक्छ ।  

शुरुआती लगानीको बारेमा प्रख्यात व्यक्तिको पनि अलग–अलग धारणा रहेको पाइन्छ । त्यसैले लगानी एउटै क्षेत्रमा केन्द्रित गर्ने कि लगानीलाई  विविधीकरण गर्दै अघि बढ्ने ?
यसमा आफैले लगानी गरेर व्यवसाय शुरू गर्ने कि अरूको व्यवसायमा पूँजी दिने भन्ने हुन्छ । मेरो हकमा हेर्ने हो भने मैले सम्पूर्ण रकम कमर्स एण्ड ट्रष्ट बैंकमा लगानी गरेको थिएँ । १२ वर्षको आम्दानीदेखि अरू सबै त्यहाँ लगानी गरेको हुँ । अरू बैंक वा उद्योगहरू पनि सञ्चालनमा थिए । तर मैले अरू कसैलाई पनि साझेदार राख्ने मनसाय बनाइनँ । किनभने मेरो एउटै क्षेत्रमा केन्द्रित भएर अगाडि बढ्ने उद्देश्य थियो । शेयर बजारमा पनि लगानीका धेरै क्षेत्र छन् । लगानी एउटै क्षेत्रमा मात्र गर्नुहुँदैन । जस्तै, बैंकिङ क्षेत्रमा पनि वाणिज्य, विकास बैंक, वित्त कम्पनी छन् । बीमामा पनि अलग अलग छन्  । लघुवित्त पनि छन् । जलविद्युत्मा पनि साना र ठूला छन् । त्यसैले यसमा अलग–अलग बास्केट बनाएर लगानी गर्न जान्नुपर्दछ । जुन दिन जुन कम्पनीको शेयर बेच्दा खरीद गरेको मूल्यमा २० प्रतिशत नाफा हुन्छ, त्यो सबै बेचेर निस्कन सक्नुपर्दछ । यसको मतलव २० प्रतिशत नाफा हुँदा पनि शेयर विक्री नगरी बस्ने हो भने नोक्सानी बेहोर्न तयार हुनुपर्दछ । यो गर्न लगानीकर्ताले जान्न आवश्यक छ ।

भविष्यका लागि लगानी गर्छु भन्ने साना लगानीकर्ताका लागि लगानीका सूत्रहरू के के हुन सक्छन् ?
शुरूमा सानो सानो रकम लगानी गर्ने व्यक्तिलाई समस्या हुन्छ नै । लगानी गर्छु भन्ने सोच भएका व्यक्तिहरूले शुरूमा रकम जम्मा गर्दै जानुपर्‍यो । शुरूमा तीन–चार महीना बैंकमा राखेर भए पनि रकम जम्मा गर्नुपर्‍यो । अरू उपभोग्य सामानमा खर्च कटौती गर्नुपर्‍यो । फजुल खर्चमा नियन्त्रण गर्नुपर्‍यो । उखानै छ नि, उनान्नसयको चक्कर । जोसँग उनान्सय रुपैयाँ छ, उसले एक रुपैयाँ जसरी भए पनि थपेर १०० रुपैयाँ बनाउँछ । यो भनेझैं यसपछि मात्र ऊ लगानी गर्न योग्य व्यक्ति हुन्छ । सानो पूँजीले धेरै आम्दानी हुँदैन । अर्को कुरा, शेयर बजार निर्दयी हुन्छ । ३ हजार २०० पुगेको बजार अहिले २ हजार आसपास घुमिरहेको छ । यसले नै पुष्टि गर्छ । यसले कसैलाई दयामाया गर्दैन । तुलनात्मक रूपमा बैंकिङ क्षेत्रको लगानी सुनिश्चित छ । किनभने यसले यो वर्ष नभए पनि अर्को वर्ष निश्चित रूपमा प्रतिफल दिन्छ । यसपछि विस्तारै अन्य क्षेत्रमा प्रवेश गर्दै जान सकिन्छ । सबै बेचेर बाहिर निस्किने भने होइन । यो गर्‍यो भने मात्र विस्तारै पूँजी विस्तार हुँदै जान्छ । लगानी बढ्दै जान्छ । एकैचोटि ठूलो बनाउँछु भनेर सम्भव छैन । यसका लागि स्रोत पनि चाहिन्छ ।

२० प्रतिशत नाफा हुँदा पनि शेयर विक्री नगरी बस्ने हो भने नोक्सानी बेहोर्न तयार हुनुपर्दछ ।
 

अलग–अलग क्षेत्रमा लगानीको सूत्र एउटै हुन सक्छ कि फरक–फरक हुन सक्छ ?
सबैभन्दा ठूलो कुरा आफ्नो लगानी लिक्विडिटी भएको क्षेत्रमा छ कि छैन भन्ने हो । भन्नुको अर्थ बजारमा त्यसलाई तुरुन्त विक्री गर्न सकिने क्षमता भएको क्षेत्रमा लगानी छ या छैन भन्ने नै हो । यो भनेको शेयर र सुनचाँदी मात्र हो । यो तुरुन्त विक्री पनि गर्न सकिन्छ । कुनै समय घरजग्गामा लगानी गर्दा आज बैना गरेर भोलि बेच्छु भन्दा डब्बल आम्दानी हुने अवस्था थियो । तर घरजग्गामा अलि बढी जोखिम छ । खरीद गर्न पनि धेरै लगानी गर्नुपर्छ । विक्री गर्न पनि समय लाग्छ । साना लगानीकर्ताले यसमा हात हाल्न सक्ने कुरा भएन । त्यसकारण साना लगानीकर्ताले शेयर बजार र कमोडिटी मार्केटमै लगानी गर्ने हो । अझ मेरो सुझाव त कमाएको १० प्रतिशत सुनचाँदीमा लगानी गर्नैपर्छ । नेपालीको हकमा त त्यो त सबैलाई अनिवार्य आवश्यकता पनि भइसकेको छ । सुनचाँदीको अन्तरराष्ट्रिय बजार त्यति घटबढ पनि भइरहेको हुँदैन । लगातार किनिरह्यो भने यसबाट फाइदा नै हुन्छ । विभिन्न अन्तरराष्ट्रिय सवालले गर्दा सुनचाँदीको उत्पादन कम भइरहेको हुन्छ । यो सबैको आवश्यकताको वस्तु पनि हो । मैले प्रतितोला ७ हजार रुपैयाँ हुँदा सुन किन्न शुरू गरेको हो । यो क्रम अझै रोकिएको छैन ।

त्यसो भए ऋण गरेर भए पनि सुन किनिरहनु हुन्छ ?
त्यो त होइन । कमाएको आम्दानीबाट १० प्रतिशत सुनचाँदीमा लगानी गर्छु । अहिलेसम्म त किनिरहेको पनि छु । कुनै कारणले यो वर्ष किन्न सकिएन भने अर्को वर्ष कमोडिटिजमा दोब्बर लगानी गर्छु ।
 
कमोडिटिज मार्केट अर्थात् खासगरी धातु अन्तर्गत के केमा लगानी गर्नुहुन्छ ? यसमा लगानी गर्दा केमा ध्यान दिनुपर्छ ?
यसमा दुई किसिमबाट लगानी गर्न सकिन्छ । कतिपयले सन्तुष्टिका लागि सुनचाँदी खरीद गरिरहेका हुन्छन् । विवाह, व्रतबन्ध वा छोराछोरीका लागि पनि सुनचाँदी चाहिने नै भयो । अर्को हो, लगानीकै हिसाबले सुनचाँदीमा लगानी गर्ने । सुनचाँदी खरीद गर्दा गहनाको रूपमा खरीद गर्ने गरिन्छ भने सुनचाँदी दाना वा ढिक्का नै पनि खरीद गरिन्छ । यसमा दुई ओटै हिसाबले अगाडि जान सकिन्छ । तर लगानीको हिसाब मुख्य हो । अर्थात् मेरो उद्देष्य आम्दानीको १० प्रतिशत यसमा लगानी गर्नुपर्छ भन्ने हो । अहिले त मैले बैंक नै स्थापना गरेर काम गरिरहेको छु । अहिले म बैंकमा खासै बचत  गर्दिनँ, धेरै मेरो लगानीमै छ । त्यो रकममध्ये पनि धेरै लिक्विडीटी भएको कमोडिटिजमै छ । बाँकी रकम शेयर बजारमा लगानी गरेको छु । 

नेपालको परिप्रेक्ष्यमा सबैभन्दा उच्च प्रतिफल पाउने कुन क्षेत्र हो जस्तो लाग्छ ?
दीर्घकालीन हिसाबले हेर्ने हो भने नेपालमा सबैभन्दा उच्च प्रतिफल पाउने क्षेत्र भनेको शेयर बजार मात्र हो । आज लगानी गरेर भोलि नै ठूलो नाफा कमाउँछु भन्नेका लागि यो क्षेत्रमा पनि सम्भव छैन । दीर्घकालीन लगानीबाट मात्रै मुनाफा कमाउन सम्भव छ । किनभने आजको दिनमा शेयर बजारमा २–३ लाख रुपैयाँ लगानी गरेर ३० वर्षपछि प्रतिफल लिन्छु भनेर कसैले लगानी गर्छ भने उसले निश्चित रूपमा राम्रो प्रतिफल पाउँछ । शेयर बजारमा उतारचढाव भए तापनि हाम्रो बजार भनेको ग्रोथ मार्केट होइन, ग्रोइङ मार्केट हो । २०० बाट ३  हजार बिन्दुमा बजार पुग्न समय लागे तापनि धितोपत्र बजारमा अहिले ५० लाखभन्दा बढी लगानीकर्ता पुगिसकेका छन् । जग्गा जमीन किन्न धेरै पैसा चाहिन्छ । कमोडिटिज मार्केट चाहिँ अन्तरराष्ट्रिय बजारमा आधारित छ । यो गर्न अलिक गाह्रो छ । विदेशमा भन्दा स्वदेशमा लगानी गर्नुलाई मैले शून्य जोखिम भन्ने गरेको छु । त्यसकारण शेयर बजार दीर्घकालीन लगानीको उपयुक्त क्षेत्र भन्ने लाग्छ । शेयर बजार हामीभित्रै रहेकाले यसमा सबैलाई सहज छ ।

थोरै पैसा छ भने शेयर बजारमा लगानी ठीक छ, धेरै छ भने घरजग्गामा लगानी गर्न ठीक छ भन्न खोज्नुभएको हो ?
बैंक खोल्नुभन्दा अघि मैले पनि जग्गा खरीद गरेको थिएँ । त्यो जग्गा विक्री गर्दा पनि चार पाँच वर्षमै चार पाँच गुणा फाइदा भयो । नेपालमा अहिलेको सन्दर्भमा हेर्ने हो भने घरजग्गामा लगानी गर्दा उच्चतम प्रतिफल आएको देखिन्छ । अब के हुन्छ भन्ने निश्चित छैन । अब घरजग्गाको मूल्य लचक हुन्छ कि भन्ने छ । नेपालमा सशस्त्र द्वन्द्वको समयमा जसले घरजग्गामा लगानी गरे, उनीहरूले केही समयपछि नै राम्रो प्रतिफल आर्जन गरे । घरजग्गामा लगानी गर्न धेरै रकम पनि चाहियो । तर शेयर बजारमा थोरै रकम भए पनि पुग्छ । थोरै रकम हुनेले शेयर बजारमा लगानी गर्दा नै उत्तम हुन्छ ।

शेयर बजारमा कसरी लगानी गर्दै जानुपर्छ ? यो गर्दा केमा ध्यान ध्यान दिन आवश्यक छ ?
यसमा लगानी गर्नुपूर्व दुई ओटा पक्षमा ध्यान दिन आवश्यक छ । एउटा, आधारभूत विश्लेषण गरेर लगानी गर्न शुरू गर्नुपर्छ । अर्को चाहिँ बजारको सूचकांक अहिले कुन अवस्थामा छ, त्यसअनुसार कम्पनीको शेयरमा लगानी गर्दै अगाडि बढ्ने हो । शुरूमा कम्पनीको विश्लेषण गर्न सिक्नुपर्‍यो वा अरूले गरेको विश्लेषण बुझ्नुपर्‍यो । आजभोलि त पोर्टफोलियो म्यानेजमेन्ट गर्ने कम्पनी पनि छन् । उनीहरूले नै तपाईंको रकम लिएर लगानी गर्छन् । त्यो लगानी गर्नुअघि उनीहरूले लगानीकर्तासँग सल्लाह गर्छन् । यसो गर्दा लगानी पनि भइरहन्छ, अर्कोतिर निःशुल्क सिक्ने अवसर पनि प्राप्त भइरहन्छ । होश नपुर्‍याई भीडमा दौडियो भने लडिन्छ भनेजस्तै शेयर बजारमा नबुझीकन लगानी गर्‍यो भने लगानी नै डुब्ने जोखिम हुन्छ । अरूको लहडमा र नबुझीकन लगानी गर्ने हो भने घाटाबाहेक अरू केही हात लाग्दैन । यसमा साना लगानीकर्ता जहिल्यै पनि मारमा पर्ने गर्छन् ।

कुनै व्यक्तिसँग पैसा छ र ऊ दोस्रो बजारमा प्रवेश गर्न चाहन्छ भने उसले धितोपत्र बजारबाट कसरी लाभ लिन सक्छ ?
लगानी गर्न अध्ययन र सूचना पनि चाहिन्छ । अध्ययन पनि गर्दिनँ, मेरो पैसाले थप कमाइदियोस् भन्ने सम्भव नै छैन । पैसा टेबलमा राखेर निश्चय नै बढ्दैन । आम्दानी गर्न त मेहनत गर्नैपर्छ । कसैलाई दोस्रो बजारमा प्रवेश गर्ने चाहना छ, तर ज्ञान भने शून्य छ भने साता दिन वा १५ दिनभन्दा अघिको कम्पनीको शेयरमूल्यको उतारचढावको अध्ययन गर्न आवश्यक छ । कुन कम्पनीको शेयरमूल्य कसरी बढिरहेको छ भन्ने नेप्सेको फ्लोरसिट हेरे पनि थाहा पाउन सकिन्छ । यो अध्ययन कम्तीमा पनि १५– १६ दिनसम्म गर्नपर्‍यो । बजार उतारचढाव कुन प्रवृत्तिमा भइरहेको छ त भनेर सूक्ष्म अध्ययन गर्न न तालीमको आवश्यकता पर्छ न त ज्ञानको । यो गरियो भने सामान्य लगानीकर्तालाई पनि लगानी गर्न धेरै सजिलो हुन्छ । कुन ब्रोकर कम्पनीमार्फत कुन कम्पनीको शेयरमा धेरै कारोबार भइरहेको छ भन्ने कुरा पनि थाहा पाउन सकिन्छ । मैले गर्ने पनि यही हो । अरू लगानीकर्ताले पनि यसरी नै अध्ययन गरेर लगानी विस्तार गर्दै जाने हो । साधारण लगानीकर्ताले शुरूमा आईपीओमा लगानी गर्दै जाने अनि दोस्रो बजारमा पनि लगानी बढाउँदै जाने गर्नुपर्दछ । सकभर आईपीओमा परेको शेयर विक्री गर्नुहुँदैन । किनभने आईपीओले विस्तारै लगानीकर्तालाई प्रतिफल दिन थाल्छ । तर नेपालमा नेप्सेमा सूचीकृत भएको केही दिनमै आईपीओमा परेको शेयर विक्री गर्ने चलन बढेको देखिन्छ । दोस्रो बजारको हकमा भने मेरो पैसाले आम्दानी मात्रै देओस् भन्ने उद्देश्यले लगानी गर्ने हो भने ठूलो जोखिम छ । यसका लागि अध्ययन र बजार प्रवृत्तिलाई अनुसरण गर्नैपर्ने हुन्छ ।

तपाईंको आशय साना लगानीकर्तालाई दोस्रो बजारबाट फाइदा लिन जोखिम छ भन्ने  हो ? त्यसो भए साना लगानीकर्ताले दोस्रो बजारबाट कसरी फाइदा लिने ?
जोखिम छ भन्न खोजेको होइन । नेपालको पूँजीबजारको विकास र विस्तारमा आर्थिक अभियान राष्ट्रिय दैनिकको ठूलो भूमिका छ । मैले पनि आर्थिक अभियानले गर्ने गरेको कम्पनी विश्लेषण अध्ययन गर्ने गरेको छु । आर्थिक अभियानले गरेको कम्पनी विश्लेषण गहन र  निष्पक्ष हुने गरेको पाइन्छ । तर यसका लागि अझै सर्वसाधारणले बुझ्नेगरी शेयरबजारका प्राविधिक शब्दावलीहरूलाई व्याख्या गरिदिनुपर्‍यो भन्न चाहन्छु ।
 
अरू देशमा म्युचुअल फण्डको खुबै चर्चा परिचर्चा हुने गरेको पाइन्छ । तर नेपालमा यसको खासै चर्चा भएको देखि“दैन । यसबाट लगानीकर्ताले कसरी लाभ लिन सक्छन् ?
नेपालमा यो शुरुआत भएको धेरै वर्ष भएको पनि छैन । यो अझै प्रारम्भिक चरणमै छ भन्दा पनि हुन्छ । म्युचुअल फण्डले विशेषगरी बजारको बारेमा जसलाई थाहा छैन, उनीहरूलाई सहजीकरण गर्ने गर्दछन् । कुनै व्यक्तिसँग पैसा छ, तर ऊ जोखिम लिन चाहँदैन भने उसलाई म्युचुअल फण्ड सञ्चालकहरूले मध्यस्थकर्ताको भूमिकामार्फत सहयोग गर्ने गर्दछन् । त्यहाँ एउटा बजार विश्लेषण गर्न छुट्टै टिम निर्माण गरिएको हुन्छ । नियन्त्रण संयन्त्रको निर्माण गरेर उनीहरूले काम गरिरहेका हुन्छन् ।

नेपालको परिप्रेक्ष्यमा लगानीका लागि शेयर बजार बाहेक सम्भावित क्षेत्रहरू के के हुन सक्छन् ?
शेयर बजारमात्र नभई कमोडिटिज अन्तर्गत पनि विभिन्न क्षेत्र छन् । यो भावनात्मक मूल्यमा आधारित छ । क्युरियो, हिरा, किमती पत्थर, कलाकृति पनि लगानीका क्षेत्र हुन् । यति मात्र होइन, अरू पनि हुन सक्छन् । यसमा लगानी गर्दा यसको मूल्य कति हो भन्ने कुनै निश्चित छैन । खरीद गरेको मूल्यमा पछि विक्री हुन्छ भन्ने ग्यारेन्टी पनि हुँदैन । यसमा खरीदकर्ता नपाउँदासम्म यसको मूल्य कति हो यकिन गर्न गाह्रो छ । अर्को कुरा, सामाजिक ख्यातिका लागि लगानी गर्छु भन्ने कतिपयले कलाकृतिमा पनि लगानी गर्ने गरेको पाइन्छ । तर यसको जहिल्यै पनि सेन्टिमेन्टल भ्यालू हुन्छ । कहीँ कसैले भने यस्ता वस्तुको १० प्रतिशत मूल्य कम गरेर पुनः खरीद गर्ने ग्यारेन्टी पनि गर्छन् । यी वस्तुहरू आत्मसन्तुष्टि र शौखका लागि खरीद गर्न सकिन्छ । तर विभिन्न कम्पनीको शेयर, सुनचाँदी जस्तो यसको सन्दर्भ मूल्य भने हुँदैन ।

अलि फरक प्रसंगमा जाऔं ।  नेपालमा  मात्र होइन, विश्वमै जीवन बीमा वा निर्जीवन बीमा गर्ने चलन छ । बीमा गर्नुलाई लगानी भन्न मिल्छ कि मिल्दैन ?
बीमाको पनि फरक–फरक कार्य क्षेत्र छन् । जीवन बीमाको दुईओटा उद्देश्यहरू छन् । एकातर्फ यसले जोखिम वहन गरिरहेको हुन्छ अर्कोतर्फ लगानी पनि भइरहेको हुन्छ । हाम्रो जीवन कुनै न कुनै किसिमबाट जोखिममै छ । सबै मानिसको परिवार कहीँ न कहीँ अर्को व्यक्ति वा परिवारका सदस्यसँग आश्रित हुन्छ । कुनै कारणले अशक्त, मृत्यु वा अन्य केही भयो भने बीमाले केही हदसम्म आर्थिक हिसाबले सहज बनाइदिन्छ । यो एक प्रकारले लगानी नै हो । बीमाले तुरुन्त आम्दानी दिँदैन । तर बीमितले निश्चित समयपछि बीमालेख परिपक्व भएपछि लाभ पाउँछ । यसले जोखिम वहन गर्ने हो । त्यो पनि लगानी नै हो । निर्जीवन बीमाले गर्ने भनेको घर वा गाडी या अरू कुनैको जोखिम भार वहन गर्ने हो । तर यसले अन्य क्षेत्रले जस्तो लाभ दिँदैन । सम्पत्तिको सुरक्षा मात्र गर्ने हो ।

अगाडि पनि हामीले म्युचुअल फण्डको कुरा गर्‍यौं । हाम्रोमा म्युचुअल फण्डले अन्य देशको जस्तो काम गर्न नसकेको हो कि अरू कुनै समस्याले गर्दा हो ?
हाम्रो देशमा लगानीका उपकरणहरू अझै पनि बनिसकेको अवस्था छैन । बजार बनाउँदा  नै आवश्यक उपकरणहरू पनि बनाउन आवश्यक छ । जस्तै, सञ्चय कोषमा पैसा राख्दा ब्याज पनि आइरहेको हुन्छ भने त्यसपछि थप प्रतिफल पनि आइरहेको हुन्छ । नेपालमा म्युचुअल फण्ड शुरू भएको धेरै भएको छैन । प्राथमिक चरणमै रहेकाले अझै यसले काम गर्न बाँकी छ । लगानीको क्षेत्रमा पनि शेयर बजार मात्रै एउटा उपकरणको रूपमा रहेको छ । डेरिभेटिभ मार्केटको विकास भइसकेको अवस्था छैन । यसमा धेरै नीतिगत सुधार गर्न आवश्यक छ । हाम्रो बजारलाई अरू देशको परिपक्व बजारसँग तुलना गर्ने बेला पनि भएको छैन । अन्तरराष्ट्रिय बजारसँग नेपालको बजारलाई जोड्न नसकिएको अवस्था छ । पर्याप्त उपकरण नभएको अवस्थामा लगानीको प्रतिफल आउने कुरा पनि भएन । नेपालमा बैंक तथा वित्तीय संस्था र सरकारी ऋणपत्रले मात्र पाँच वर्षे अवधिमा लगानीमा प्रतिफल दिइरहेको अवस्था छ । बल्लतल्ल बैंकहरूले १० वर्षे अवधिका बोन्ड जारी गर्न थालेका छन् ।

घरजग्गाको लगानीलाई कसरी हेर्न सकिन्छ ? घरजग्गामा लगानी लिक्विडिटी छ भने मात्र सम्भव छ भनेर भन्न सकिन्छ ?
विकसित हुँदै गरेको शहरमा घरजग्गाको मूल्य बढ्दै जान्छ । जमीन थप्न सकिँदैन, तर जनसंख्या बढ्दै जान्छ । मुलुकमा सशस्त्र द्वन्द्व शुरू भएपछि गाउँ छाडेर शहर केन्द्रित हुने क्रम बढ्न थाल्यो । शहरका जग्गा विक्री हुने क्रम बढेको हो । केही समयअघिसम्म खाली देखिने काठमाडौंकै विभिन्न स्थानका खेतहरू आज घरैघरले भरिइसकेका छन् । बसाइ सरेर आउने क्रम अझै जारी छ । काठमाडौं मात्र होइन, विराटनगर, वीरगञ्ज पनि घनाबस्तीको रूपमा विकसित भइसकेका छन् । हामीले काठमाडौंको ग्रामीण बस्तीलाई नजिकैको विकसित शहरसँग जोड्न सकेनौं, सकेका छैनौं । यसले गर्दा घरजग्गाको मूल्यमा अत्यधिक वृद्धि भएको हो । अझ विकसित मुलुकको कुरा गर्ने हो भने त त्यहाँ घर किन्ने चलन नै छैन भन्दा पनि हुन्छ । उनीहरू भाडामा बस्न रुचाउँछन् । हुन त नेपालमा पनि यस्तो घरभाडामा बस्ने वा फ्ल्याट किनेर बस्ने चलन शुरू भइसकेको छ ।

सकभर आईपीओमा परेको शेयर विक्री गर्नुहुँदैन । किनकि आईपीओले विस्तारै लगानीकर्तालाई प्रतिफल दिन थाल्छ ।

समयमा किस्ता तथा ब्याज बुझाउन नसक्दा बैंकहरूले धितो लिलाम सम्बन्धी सूचना प्रकाशित गरिरहेका छन्  । यसलाई कसरी हेरिरहनु भएको छ ?
जहाँ जनसंख्या बढ्दै जान्छ, त्यहाँ घरजग्गाको मूल्य पनि बढ्दै जान्छ  । जग्गाको मूल्य गुणात्मक रूपमा बढ्दै गएको अवस्था छ । अहिले त यो दिगो हुन्छ या हुँदैन कि भन्ने अवस्था पनि सृजना भएको छ । नेपाल राष्ट्र बैंकले घरजग्गामा बजार मूल्य अनुसार ३० प्रतिशतभन्दा बढी ऋण दिन नपाइने भनिसकेको अवस्था छ । यसले पनि घरजग्गामा ओभर प्राइस भएको संकेत गरेको छ । घरजग्गामा जोखिम भए तापनि जनसंख्या वृद्धि र आन्तरिक बसाइसराइले यो अनिवार्य आवश्यकता जस्तो भइसकेको छ । बसाइ सरेर आएका जो कोहीलाई पनि शहरमा घरजग्गा जोडौं भन्ने हुन्छ । हिजोका दिनमा स्थिति सहज हुँदा बैंकहरूले सस्तोमा ब्याज दिने बताएका थिए । तर अहिले आएर तीनै बैंकहरू असहज स्थिति सृजना भयो भन्दै ब्याजदर वृद्धि गरिरहेका छन् । यसो हुँदा स्वाभाविक रूपमा सर्वसाधारणलाई ब्याज बुझाउन गाह्रो भइरहेको छ । घरजग्गा खरीद गर्न ७ प्रतिशत ब्याजदरमा रकम लिएका सर्वसाधारणले आज १४ प्रतिशत ब्याज तिरिरहनु परिरहेको छ ।

यो अवस्थामा लिलामीका सूचना आउनु स्वाभाविक पनि हो । यसरी धेरै लिलामीमा आयो भने घरजग्गामा ‘फायर सेल’ हुन सक्छ । तिर्न नसकेपछि त बैंकले सूचना निकाल्न परिहाल्यो । बैंकलाई पनि गाह्रोे छ । लगानी गरेको रकम बैंकको पनि आफ्नो त होइन । मुद्दती निक्षेपकोे रकम पनि मागेको बखत सर्वसाधारणलाई तुरुन्तै दिनुपर्दछ । त्यसकारण लिलामी बढ्दै जानु भनेको दुवैका लागि ठूलो जोखिम हो । हामीकहाँ त करीब ६५ प्रतिशत कर्जा घरजग्गामा जोडिएको छ । बैंकको तिर्नुपर्ने दायित्व बढ्दै जाने र लिलामीबाट उठाउने रकम एक वर्षमा पनि नउठ्ने समस्या भयो भने स्वाभाविक रूपमा दबाब बढ्छ । त्यसकारण घरजग्गाको मूल्यलाई केही स्थिर गर्न अव सरकार र केन्द्रीय बैंकले ढिला गर्न हुँदैन । एउटा उदाहरणकै कुरा गर्ने हो भने पनि सन् २०१५ मा भुँइचालो आउँदाको बखत ३२ सय अर्ब रुपैयाँ कर्जा थियो । अहिले सात वर्षको अवधिमा बढेर ४८ सय अर्ब पुगिसकेको छ । ७० वर्षभन्दा बढीको बैंकिङ इतिहासमा ३२ सय अर्ब रहेको कर्जा बढेर दोब्बर हुनुले के देखाउँछ भने निश्चित रूपमा हामी जोखिममा छौं ।

तपाईंले आफ्ना सन्ततिहरूलाई चाहिं लगानीको सूत्र कसरी सिकाइरहनुभएको छ ?
मेरो  परिवारको हकमा भन्ने हो भने बिहानदेखि बेलुकासम्म नै लगानी र शेयर बजारकै बारेमा कुरा भइरहेको हुन्छ । मेरी छोरी वकिल भए पनि उसको एउटा कम्पनीमा पोर्टफोलियो बनाएका छौं । मैले शुरूमा त्यहाँ सिक्न लगाएँ । केही समयसम्म उनले त्यहाँ सिकेकी हुन्  त्यो सिकेपछि उनले ब्रोकरको परामर्शमा लगानी गरिरहेकी छिन् । जहाँबाट जुन दिन पैसा आउँछ, त्यो दिन मौका पारेर शेयर खरीद गर्ने गर भनेको छु । शेयर  खरीद गर्दा आफूलाई इच्छा लागे अनुसार किनिहाल भनेका छौं । शेयर किन्दा घाटा पनि हुन सक्छ, नाफा पनि हुन सक्छ । तर किनिहाल भनेका छौं । कुनै कम्पनीको शेयरमूल्य घट्यो भने अझ पैसा थपेर औसत घाटा कम गर्नुपर्छ । कुनै कम्पनीको शेयरमूल्य ५०० रुपैयाँ हुँदा खरीद गरेको थियो, तर घटेर ३०० रुपैयाँमा झर्‍यो भने फेरि खरीद गरिहाल्नुपर्छ । पुनः घटेर २०० रुपैयाँमा झर्‍यो भने फेरि खरीद गरिहाल्नुपर्छ । किनभने कुनै दिन बजारमा करेक्सन आयो भने लगानी सजिलै कभर हुन्छ  । हो, यही नै हो लगानी सूत्र  । मैले आफ्ना सन्ततिहरूलाई दिने सूत्र पनि यही हो । लगानी गर्दा नोक्सान भयो भनेर डराउने होइन, थप लगानी गर्न हौसिन सक्नु पर्दछ ।  
किन भने अरू मान्छे डराएको बेला (बजार घटेको समय) लगानी बढाउने हिम्मत गर्न सक्नुपर्दछ । अरू डराएको बेला म पनि डराएँ भने त लगानीबाट प्रतिफल पाउन सकिँदैन नि ।

जो बजारबारे सिक्न खोज्दै छ वा जो कलेजमा पढ्दा पढ्दै पनि यसको बारेमा बुझ्न खोज्दै छ, उसलाई लगानीका टिप्स के के दिनुहुन्छ ?
हामीकहाँ उडन्ते खर्च गर्ने चलन छ । यसलाई पहिला कटौती गर्नुपर्‍यो । आजका युवामा पैसा अलिकति जम्मा भयो कि होटल या रेष्टुरेन्टमा गएर खर्च गरिहाल्ने प्रवृत्ति छ । युवाहरू जोगी बन्न सक्नुपर्‍यो । पैसा जम्मा भएपछि लगानी गर्न गाह्रो हुँदैन । जम्मा भएको रकममध्ये ५० प्रतिशत बैंकमा जम्मा गर्ने र ५० प्रतिशत शेयर बजारमा लगानी गर्ने बानी बसाल्नुपर्छ । शेयर बजार भनेको कहिले माथि कहिले तल जाने बजार भएकाले २० प्रतिशत बजार बढेको समयमा ८० प्रतिशत शेयर विक्री गर्दा सावाँ निस्कन्छ भने त्यो गर्नुपर्छ, अनि २० प्रतिशत विक्री नगरी राख्नुपर्छ । त्यसपछि त लगानी पनि शून्य हुने भयो । बजार घट्यो भने बैंकमा रहेको ५० प्रतिशत रकमले शेयर किन्नुपर्‍यो । त्यसकारण बैंक र मार्केट दुवैमा पोर्टफोलियो राख्न जान्नुपर्‍यो । यसपछि विस्तारै पोर्टफोलियोको आकार बढ्दै गएपछि त्यही पोर्टफोलियोबाटै खरीदविक्री गर्न सकिन्छ । नाफा हुँदा शेयर बेचेर सस्तोमा अरू कम्पनीको शेयर खरीद गर्न सकिन्छ । त्यसरी मात्र घटाउन र बढाउन सकिन्छ । मैले प्रायः गरेर बैंकमा पैसा राखेको छैन । त्यसकारण बैंकबाट आउने ब्याजभन्दा बढी प्रतिफल लगानीबाटै आइरहेको हुन्छ ।

त्यसो भए नयाँ लगानीकर्तालाई कुन–कुन क्षेत्रको कम्पनीमा लगानी गर्न सुझाव दिनुहुन्छ ?
मैले स्थिरताको हिसाबले दिने सुझाव भनेको बैंकिङ सेक्टर नै हो । बैंकिङ सेक्टरको मूल्य आजको दिनमा न्यून तहमा छ । अहिले बजारबाट २०० देखि ३०० रुपैयाँको हाराहारीको जुनसुकै बैंकको शेयर किन्न पाइन्छ । यो नै जोखिमरहित स्थिर लगानी हो भन्ने लाग्छ । अर्को भनेको हाइड्रोपावर र बीमा हो । यो क्षेत्र चाहिँ इन्डेक्सको उतारचढावमा आधारित छ । तर यो क्षेत्रको कम्पनीको शेयरमूल्य अलि महँगो छ । मूल्य पनि अहिले त बढिरहेको छ । १० कित्ता शेयर किन्न पनि धेरै रकम लगानी गर्नुपर्छ । बैंकिङ क्षेत्र विस्तारै स्थिर भएर अघि बढिरहेकाले यसमा लगानीको सम्भावना छ । एउटै सेक्टरमा मात्रै लगानी नगरी अरू क्षेत्रका कम्पनीको शेयरमा पनि पोर्टफोलियो विविधीकरण गर्दै लैजानु पर्दछ । यसरी गर्‍यो भने बैंकमा राखेको निक्षेपभन्दा शेयर बजारमा गरेको लगानीको प्रतिफल उच्च हुन्छ । मैले दिने सुझाव यही नै हो ।


अन्त्यमा, तपाईंलाई लागेको अरू केही कुरा भए बताइदिनुस् न ।
लगानीकर्तालाई भन्दा पनि म सरकारलाई केही भन्न चाहन्छु । १० लाख रुपैयाँसम्म लगानी गर्ने साना लगानीकर्ताको हकमा आयकरमा अन्य छूट दिन आवश्यक छ । साना लगानीकर्ताको पर्याप्त आय पनि हुँदैन । सामान्य आय र तलबमा आधारित व्यक्तिले पनि आयकर तिरिरहनु परेको अवस्था  । घरजग्गा कर लगायत अरू शीर्षकको करमा छूट दिएर पनि उनीहरूलाई प्रोत्साहन गर्न आवश्यक छ । देश विकास गर्न पूँजीबजार बढ्नु अनिवार्य छ । अहिले त बजारमा ५५ लाख लगानीकर्ता आइसकेका छन् । अब लगानीकर्ता परिपक्व हुन मात्र बाँकी छ । यो नेपालको पूँजीबजारको विकास र विस्तारका लागि सुखद सन्देश पनि हो । अझ सबै नेपालीको डिम्याट खाता र बैंक खाता होस् अनि उनीहरूले बजारमा लगानी गरुन भन्न चाहन्छु । बजारलाई सहज किसिमले परिचालन गर्न नीतिगत व्यवस्थाको आवश्यकता छ । अब बन्ने नयाँ सरकारले यसका लागि पहल गर्ने हो भने अहिलेको बेलामा नेपालको स्टक मार्केट भाइब्रेन्ट अर्थतन्त्रको इन्डिकेटरको रूपमा अगाडि बढ्न सक्दछ । यसले रोजगारी सृजना गर्न पक्कै पनि मद्दत पुर्‍याउँछ ।

(विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepal मा जान सक्नुहुनेछ ।)

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro