ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया रोकिँदा १२ अर्ब फ्रिज, लगानीकर्ताको दुखेसो– न लाइसेन्स पायौं न पूँजी चलाउन

२०७९ पुस, १७  
लगानी
Jagdamba Supershine Image Not Found
तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अनन्त्य सुन्दर

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जारी गर्न लागेको नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोकिएपछि साढे २ महीनादेखि झण्डै १२ अर्ब रूपैयाँ फ्रिज भएको छ । सर्वाेच्चले गत कात्तिक ४ मा नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रियाको थप काम तत्काल अघि नबढाउन अल्पकालीन आदेश दिएसँगै नयाँ लाइसेन्सका लागि आवदेन दिएका लगानीकर्ताहरूको ११ अर्ब ८९ करोड रूपैयाँ फ्रिज भएको हो । 

नयाँ ब्रोकर लाइसेन्सका लागि ११ ओटा वाणिज्य बैंकसहित ४५ ओटा कम्पनीले आवेदन दिएका छन् । तीमध्ये पहिलो तहको ब्रोकरको लागि ४१, दोस्रो तहको ब्रोकरको लागि ३ र तेस्रो तहको ब्रोकरका लागि १ कम्पनीले आवेदन दिएका हुन् । दोस्रो तहको ब्रोकरका लागि हिमालयन सेक्युरिटिज, सेञ्चुरी सेक्युरिटिज र मेगा सेक्युरिटिज आवेदन दिएका छन् भने तेस्रो तहको स्टक डिलरको लागि नबिल सेक्युरिटिजको आवेदन परेको छ । 

बोर्डले गत असोज २ गते सूचना जारी गर्दै तीन तहको ब्रोकर लाइसेन्सको लागि आवेदन माग गरेको थियो । 

सूचनामा सीमित कार्य गर्ने पहिलो तहको ब्रोकरका लागि आवेदन दिन २० करोड चुक्तापूँजी हुनुपर्ने उल्लेख छ । यस्तै, दोस्रो तहको पूर्ण कार्य गर्ने ब्रोकरका लागि ६० करोड र तेस्रो तहको स्टक डिलरको लागि १ अर्ब ५० करोड चुक्तापूँजी हुनुपर्ने सूचनामा भनिएको छ । यसआधारमा उक्त रकम फ्रिज भएको लगानीकर्ताको भनाइ छ । 

उक्त लाइसेन्सका लागि आवेदन दिएका लगानीकर्ता लाइसेन्स वितरण प्रक्रिया रोकिएपछि निरास छन् । सर्वाेच्चको अल्पकालीन आदेशले रोकिएको लाइसेन्स वितरण प्रक्रिया सुचारु हुने/नहुने ठेगान छैन । सर्वाेच्चले यसको टुंगो नलगाएसम्म लाइसेन्स प्रक्रिया अघि बढ्ने/नबढ्ने भन्न सकिँदैन । अर्काेतर्फ, लगानीकर्ताले आवेदनका लागि आवश्यक चुक्तापूँजी पनि चलाउन पाएका छैनन् । जसका कारण चुक्तापूँजीको रकम लगानी गरी कमाउने अवसर पनि गुमेको उनीहरूको भनाइ छ । 

सीमित कार्य गर्ने ब्रोकर लाइसेन्सको लागि आवेदन दिएका एक लगानीकर्ता २० करोड रूपैयाँ फ्रिज हुँदा आफूहरू मर्कामा परेको बताउँछन् । ‘ब्रोकर लाइसेन्सको लागि शेयर बेचेर जुटाएको २० करोड रूपैयाँ अहिले फ्रिज भएको अवस्था छ । उक्त पूँजी अहिले बढ्दो बजारमा लगानी गर्न पाएको भए अहिले मनग्गे कमाइ हुन्थ्यो,’ ती लगानीकर्ता भन्छन्, ‘न अहिले ब्रोकर लाइसेन्स पाउने नै टुंगो छ न त उक्त पूँजी चलाउन पाउन नै ।’

सीमित कार्य गर्ने ब्रोकर लाइसेन्सका लागि ‘क्यापिटल म्याक्स सेक्युरिटियुमार्फत आवेदन दिएका अतितलाल श्रेष्ठको दुखेसो पनि उस्तै छ । ब्रोकर लाइसेन्सको लागि जुटाएको २० करोड रूपैयाँ फ्रिज हुँदा अहिले बजारमा भइरहेको उत्तरचढावमा ५ देखि ६ करोड रूपैयाँसम्म कमाउन सकिने अवसर गुमेको उनी बताउँछन् । ‘सीमित कार्य गर्ने ब्रोकरको लागि २० करोड रूपैयाँ पूँजी हुनुपर्ने भनिएको छ,’ श्रेष्ठ भन्छन्, ‘उक्त पूँजी अहिले हामीले बैंक तथा वित्तीय संस्थामा राखेका छौं । त्यसैले कुनै पनि बेला लाइसेन्स पाइने भएकाले उक्त पूँजी लगानी गर्ने अवस्था पनि छैन ।’ 

धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठ लाइसेन्स वितरणविरुद्ध परेको रिटको अन्तिम निर्णय नआएसम्म लाइसेन्स वितरणको थप प्रक्रिया तत्काल अघि नबढ्ने बताउँछन् । ‘लाइसेन्स वितरण प्रक्रिया रोक्न परेको एउटा रिट संवैधानिक इजलासले खारेज गरिदिएको छ । अर्काे रिटको सुनुवाई बाँकी नै भएकाले उक्त रिटको अन्तिम निर्णय नआएसम्म लाइसेन्स वितरणको थप प्रक्रिया तत्काल अघि बढ्दैन,’ उनले भने । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)