ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

कात्तिकपछि घरजग्गामा लिलामीको बाढी, ३ महीनामा २ लाख ५० हजार सीसी लिलामीको विज्ञापन

२०७९ पुस, १७  
समाचार घरजग्गा
Tvs Raider Image Not Found
सांकेतिक तस्वीर
author avatar अमर बडुवाल

काठमाडौं । नेपालमा पछिल्लो केही महीनायता मात्रै हजारौं घरजग्गा लिलामीमा चढेका छन् । व्यवसाय सञ्चालनका लागि लिएको ऋणको साँवा–ब्याज समयमै तिर्न नसक्नेहरूको धितोवापत लिएका घरजग्गाहरू बैंक तथा वित्तीय संस्थाहरूले धमाधम लिलामी गर्न थालेका हुन् । 

पछिल्लो साढे तीन महीनाको तथ्याङ्क हेर्दा १ हजारभन्दा बढी घरजग्गा लिलामीका सूचना प्रकाशित भएका छन्, जसको हिस्सा १ लाख सीसी विज्ञापनभन्दा बढी छ । त्यस्तै कर्जा चुक्ता गर्न नआए लिलामी प्रक्रियामा लैजाने बारेका १ हजार ५०० सूचना प्रकाशित भएका छन् । ती सूचनाको हिस्सा पनि करीब डेढ लाख सीसी विज्ञापन बराबर रहेको 'माइन्डस नेपाल'को तथ्याङ्कले देखाउँछ । 

असोजमा बैंक तथा वित्तीय संस्थाहरूबाट १०० भन्दा कम लिलामीका सूचना प्रकाशित भएका थिए, जसको हिस्सा ११ हजार ३०० सीसी रहेको थियो । तर, कात्तिकमा एकै पटक ३०६ ओटा लिलामीका सूचना प्रकाशित भएका थिए, जसको हिस्सा ३५ हजार ५८७ सीसी विज्ञापन थियो । जुन अघिल्लो महीनाको तुलनामा ३ गुणाले बढी हो । 

मंसिरमा पनि लिलामीका सूचनामा बाढी नै आयो । मंसिरमा यो संख्या बढेर ३४६ पुग्यो, जसको हिस्सा ४० हजार ८१० सीसी विज्ञापन बराबर थियो । पुसमा पनि बैंक वित्तीय संस्थाको लिलामी रफ्तार कम हुने सम्भावना छैन । पुसको १३ दिनमा मात्रै २०४ ओटा लिलामीका सूचना प्रकाशित भएका छन्, जसको हिस्सा २२ हजार ४६८ सीसी विज्ञापन बराबर छ । यही अनुपातमा लिलामीका सूचना आए पुसमा ५० हजार सीसी विज्ञापन बराबर लिलामीका सूचना प्रकाशित हुनेछन् । 

काठमाडौंबाट प्रकाशित हुने १६ ओटा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित विज्ञापनको तथ्याङ्कले दैनिक पत्रिकाका पाना कर्जा चुक्ता गर्न आउने र लिलामीका लागि भनेर निकालिएका सूचनाले भरिएको देखाउँछ । बैंक तथा वित्तीय संस्थाहरूले दोहोर्‍याएर सम्पत्ति लिलामीका सूचना निकाले पनि घरजग्गा विक्री भने हुन सकेका छैनन् ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी अहिले घरजग्गा बजारमा आएको संकुचनका कारण बैंकहरूले धितो लिलाम गर्न निकालेका सूचनाको तुलनामा निकै कम मात्रै विक्री भएको बताउँछन् ।

'लिलामी नहुँदैमा सबै जग्गा बैंकले सकार्नुपर्छ भन्ने हुँदैन । त्यसमा विभिन्न खालको स्थिति हुन्छ । एउटा समय अवधिभित्र त्यसलाई विक्री गर्ने वा बैंकले सकार्ने भन्ने निर्णय स्थिति हेरेर मात्रै गरिन्छ,' केसीले आर्थिक अभियानसँग भने, 'अहिले घरजग्गाको कारोबारमा आएको शिथिलताका कारण बैंकलाई पहिलेको भन्दा अलि बढी गाह्रो अवस्था भने पक्कै छ ।'

घरजग्गा व्यवसायी विनोद सुवेदी अहिले बयाना गरेको जग्गा पनि विक्री हुन नसकेको बताउँछन् । 'बैंकले लिलामीको सूचना निकालेपछि ऋणीले चलेको भन्दा आधा मूल्यमा जग्गा बेच्न खोजिरहेका छन् । तर, त्यो आधा मूल्य बराबरको नगद पैसा हातमा भएको व्यक्ति अहिलेको अवस्थामा भेटाउनै सकिन्न । बैंकले पनि कति जग्गा आफैले सकार्ने हो र ?' उनले भने ।

यही गतिमा घरजग्गा लिलाम हुन थाले भने धेरै व्यवसायी सडकमा आउने र अप्रिय घटना घट्लान कि भन्ने सुवेदीको चिन्ता छ ।

कुन वित्तीय संस्थाले कति निकाले लिलामीका सूचना ?

उक्त तथ्याङ्क अनुसार सबैभन्दा बढी लिलामीका सूचना र विज्ञापनको हिस्सा मंसिर महीनामा धेरै देखिएको छ । मंसिरमा वाणिज्य बैंकहरूले मात्र लिलामीका २१० ओटा सूचनामा २७ हजार सीसी विज्ञापन गरेका छन् ।

विकास बैंकहरूले ६० ओटा सूचनामा ६ हजार ७०० सीसी, सहकारीहरूले ५७ ओटा सूचनामा ४ हजार ४०० सीसी र फाइनान्स र माइक्रो फाइनान्सहरूले १९ सूचनामा २ हजार ६०० सीसीभन्दा बढी लिलामीको विज्ञापन गरेका छन् । 

मंसिरपछि लिलामीका धेरै सूचना प्रकाशित भएको महीना हो कात्तिक । यो महीनामा वाणिज्य बैंकहरूले २०३ सूचनामा २५ हजार सीसी, विकास बैंकहरूले ४४ सूचनामा ५ हजार ३०० सीसी, सहकारीहरूले ३९ सूचनामा ३ हजार सीसी र फाइनान्स र माइक्रोफाइनान्सहरूले २० सूचनामा २ हजार ३०० सीसी विज्ञापन गरेका छन् । 

त्यस्तै असोजमा वाणिज्य बैंकहरूले ४७ सूचनामा ६ हजार २०० सीसी, विकास बैंकहरूले १८ सूचनामा २ हजार सीसी, सहकारीहरूले २९ सूचनामा २ हजार ५०० सीसी र फाइनान्स/माइक्रो फाइनान्सहरूले ५ सूचनामा ५२९ सीसी लिलामीको विज्ञापन गरेका छन् । 

पुसको १३ गतेसम्मको तथ्याङ्कमा मात्रै वाणिज्य बैंकहरूले १४२ सूचनामा १६ हजार ५६३ सीसी, विकास बैंकहरूले २८ सूचनामा २ हजार ६०० सीसी, सहकारीहरूले २७ सूचनामा २ हजार १८५ सीसी र फाइनान्स÷माइक्रोफाइनान्सहरूले ७ सूचनामा १ हजार १०० सीसी लिलामीको विज्ञापन गरेका छन् ।

यो तथ्याङ्कले वाणिज्य बैंक, विकास बैंक र सहकारीहरू ऋण असुलीका लागि आक्रमक भएको देखिन्छ । फाइनान्स र माइक्रो फाइनान्सहरू भने सहकारीभन्दा कम आक्रमक देखिएका छन् । 

कर्जा चुक्ता गर्न आउने र सम्पर्कमा नआए लिलामी प्रक्रियामा जाने बारेका सूचनामा पनि वाणिज्य बैंकहरूले सबैभन्दा धेरै ८७१ सूचनामा ८४ हजार ४०० सीसी विज्ञापन गरेका छन् । वाणिज्य बैंकहरूले पछिल्लो दुई महीना (कात्तिक र मंसिर)मा ५९ हजार सीसी र पुसको १३ दिनमा १४ हजार सीसी विज्ञापन गरेका छन् । 

विकास बैंकहरूले पनि कूल २१२ सूचनामा २१ हजार ४०० सीसी विज्ञापन प्रकाशित गरेका छन् । सहकारीहरूले २५५ सूचनामा १७ हजार सीसी विज्ञापन गरेका छन् । फाइनान्स र माइक्रो फाइनान्सहरूले १०९ सूचनामा १४ हजार ८०० सीसी विज्ञापन गरेका छन् । सूचना जारी गर्नेमा पनि वाणिज्य बैंकहरूपछि विकास बैंक र सहकारीहरू आक्रामक देखिएका छन् ।

वाणिज्य र विकास बैंकपछि सहकारीहरू आक्रामक 

यो अवधिमा सबैभन्दा बढी लिलामीका सूचना निकाल्नेमा वाणिज्य बैंकहरू अघि देखिएका छन् । वाणिज्य बैंकहरूले पछिल्लो साढे तीन महीनामा ६०२ ओटा लिलामीका सूचना निकाल्दा ७४ हजार ७९५ सीसी विज्ञापन गरेका छन् । 

वाणिज्य बैंकहरूपछि सहकारीहरूले सबैभन्दा बढी लिलामीका सूचना निकालेका छन् । सहकारी संस्थाहरूले पछिल्लो साढे तीन महीनामा १५२ ओटा सूचना प्रकाशित गर्दा १२ हजार १९१ सीसी विज्ञापन गरेका छन् । तेस्रो धेरै लिलामीका सूचना निकाल्नेमा विकास बैंकहरू छन् । विकास बैंकहरूले १५० ओटा लिलामीका सूचना निकाल्दा १६ हजार ५७० सीसी विज्ञापन गरेका छन् ।

सबैभन्दा कम लिलामीका सूचना निकाल्नेमा फाइनान्स र माइक्रोफाइनान्सहरू छन् । यी संस्थाले ५७ ओटा लिलामीका सूचना निकालेका छन्, जसको हिस्सा ६ हजार ६०० सीसी छ ।

कर्जा चुक्ता गर्न आउने सूचनाको विज्ञापन गर्नेमा पनि वाणिज्य बैंकहरू नै अघि देखिएका छन् । वाणिज्य बैंकहरूले पछिल्लो साढे ३ महीनामा ८७१ ओटा सूचना कर्जा चुक्ता गर्न आउनेबारे प्रकाशित गरेका छन्, जसको हिस्सा ८४ हजार ३९९ सीसी छ । 

दोस्रोमा सहकारीहरूबाट २५५ ओटा सूचनामा १६ हजार ९७५ सीसी विज्ञापन हुँदा तेस्रोमा विकास बैंकहरूबाट २१२ ओटा सूचनामा २१ हजार ३७४ सीसी विज्ञापन भएको छ । फाइनान्स र माइक्रोफाइनान्सहरूबाट भने १०९ ओटा सूचनामा १४ हजार ७८५ सीसी विज्ञापन भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro