काठमाडौं । मधेश प्रदेशमा एकै वर्षमा ६८ हजार रोपनीभन्दा बढी खेतीयोग्य जमिन घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि सम्बन्धी अध्ययनले मधेश प्रदेशमा ठूलो परिमाणमा खेती योग्य जमिन घटेको देखाएको हो ।
अघिल्लो वर्ष ११ लाख ६६ हजार ४९२ हेक्टर रहेको खेतीयोग्य जमिन एकै वर्षमा ३ हजार ४६३ हेक्टर (६८ हजार ८२ रोपनी) ले घटेर ११ लाख ६३ हजार २९ हेक्टरमा सीमित भएको छ । समीक्षा अवधिमा धान खेती हुने क्षेत्र सबैभन्दा धेरै ३ दशमलव ५७ प्रतिशतले घटेको छ भने गहुँ खेती हुने क्षेत्र २ दशमलव ४४ प्रतिशतले घटेको छ ।
मधेश प्रदेशमा घरजग्गा रजिष्ट्रेशन भने १७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष १ लाख ११ हजार रहेको घरजग्गा रजिष्ट्रेशनको संख्या गत वर्ष १ लाख ३० हजार पुगेको छ । यसबाट ३ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । राजस्व रकम भने अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो राजस्व ५ अर्ब ४० रुपैयाँ संकलन भएको थियो ।
मधेश प्रदेशका उद्योगहरूको क्षमता उपयोग ६० प्रतिशत मात्रै रहेको छ । सबैभन्दा धेरै पेय पदार्थ, फेब्रिकेटेड धातु, सुर्तिजन्य वस्तु र पशुदाना उत्पादन गर्ने उद्योगले उत्पादन क्षमताको ८० प्रतिशत भन्दा बढी क्षमता उपयोग गरेका छन् ।
मधेश प्रदेशमा कुल १ खर्ब २ अर्ब १३ करोड रुपैयाँ औद्योगिक कर्जा लगानी भएको छ । सबैभन्दा धेरै धनुषा जिल्लामा १० अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।