ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

सरकारले सघाए औषधिमा ८० प्रतिशत आत्मनिर्भर हुन सकिन्छ: उमेशलाल श्रेष्ठको अन्तरवार्ता

२०७९ पुस, २१  
अन्तरवार्ता
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

उमेशलाल श्रेष्ठ नेपालको उद्योग व्यवसायको क्षेत्रमा परिचित नाम हो । श्रेष्ठको पारिवारिक पृष्ठभूमि भने राजनीति हो । उनी अहिले फर्मास्युटिकललगायत व्यवसायमा संलग्न छन् । स्वर्गीय पुष्पलाल श्रेष्ठ र साहना प्रधानका छोरा श्रेष्ठसँग आर्थिक अभियानले उनको व्यावसायिक यात्रा, नेपालमा औषधि उद्योगको अवस्था, चुनौती, अवसरलगायत विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ, सोही संवादको सम्पादित अंश ।

तपाईंको पारिवारिक तथा व्यापारिक पृष्ठभूमिबारे बताइदिनुस् न ?
मेरो जन्म २०१३ सालमा भएको हो । मेरो बाल्यकाल पनि काठमाडौंमै बित्यो । मेरो अध्ययन सामान्य विद्यालयमा भयो । मैले बीएससी उत्तीर्ण गरेको छु । मैले बुवालाई राम्रोसँग चिन्ने मौका पनि पाइनँ, त्यसैले आमाकै सामीप्यमा हुर्कें, बढेँ । अमृत साइन्स क्याम्पस र त्रिचन्द्र क्याम्पसमा पढेँ । कलेजमा साइन्स पढे पनि मलाई डाक्टर, इञ्जिनीयर बन्ने कुनै शौख भने थिएन । त्यतिबेला बीएससीमा साइटोलोजी विषय अध्ययन हुन्थ्यो । त्यो नै मेरो करीअरको लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो । त्यसपछि म औषधि उद्योग क्षेत्रमा लागेँ । 

तपाईं किशोर अवस्थामा हुँदा तत्कालीन शासकले आमा साहना प्रधानको शिक्षकको जागीर खोसेको रहेछ, त्यो बेला के कस्तो कठिनाइ सामना गर्नुपर्‍यो ?
त्यो समयमा हाम्रो परिवारमा आम्दानी गर्ने भनेको आमा मात्रै हुनुहुन्थ्यो । बुवा त भारतमा निर्वासित हुनुहुन्थ्यो । आमाको शिक्षण पेशाबाट आएको आम्दानीले परिवारको गुजारा चलेको थियो । तर विडम्बना तत्कालीन सरकारले २०३३ सालतिर आमाको जागीर खोसिदियो । त्यसो गर्नुमा राजनीतिमा सक्रिय भएको आरोप थियो । 
जागीर खोसिदिएपछि थप समस्या आउनु स्वाभाविक थियो । त्यसपछि मेरो काँधमा पनि जिम्मेवारी बढ्यो । समस्या समाधानका लागि जागीर खाने निधो गरेँ । त्यसपछि शुरूमा हेक्स्ट फर्मास्युटिकल्स कम्पनीमा काम गरेँ । त्यतिखेर मेरो काम मार्केटिङ थियो । मैले त्यतिखेर बीएससी उत्तीर्ण गरिसकेको थिएँ । जागीर खानु त्यतिबेला मेरो बाध्यता थियो ।

 

 

 

जागीरकै क्रममा उद्योग व्यवसाय विस्तार पनि गर्नुभएको रहेछ । राजनीतिक पृष्ठभूमि भएको व्यक्ति कसरी व्यवसायतर्फ आकर्षित हुनुभयो ?
मैले लगातार जागीर खाएँ । त्यसपछि सन् १९८२ तिर जागीरसँगै व्यापार पनि शुरू गरेँ । म औषधिको खुद्रा तथा होलसेल व्यापार गर्थें । तर यो बीचमा व्यापार शुरू गरेर ठीक गरेँ या गरिनँ, म स्वयंलाई थाहा थिएन, अन्योलमै थिएँ । मैले काठमाडौंका विभिन्न अस्पताल तथा औषधि पसलमा औषधि सप्लाई गरेँ । हस्पिटल फर्माअन्तर्गत त्यतिखेर प्रोव इन्टरनेशनलको नेपाल वितरकको पनि काम गरेँ ।

बुवाको राजनीतिक व्यक्तित्वले तपाईंको जीवनमा कत्तिको प्रभाव परे जस्तो लाग्छ ?
मुलुकको राजनीतिक परिवर्तनमा मेरो बुवाको ठूलो भूमिका छ जस्तो लाग्छ । उहाँबाट म एकदमै प्रभावित छु । सत्य सधैं सत्य नै हुन्छ, झूट बोल्नु हुँदैन भन्ने आदर्श उहाँबाटै सिकेको हुँ । हुन त नेपालमा पुष्पलाल जस्तो मानिस पाउन निक्कै गाह्रो छ । उहाँको ठूलो योगदान छ । उहाँ २०३६ सालमा स्वर्गीय हुनुभयो । आमाकै रेखदेखमा हामी हुर्कियौं ।

व्यवसायमा आउन तपाईंलाई केले प्रेरित गर्‍यो ?
हुन त मैले जागीरलाई खराब भन्न खोजेको होइन । यो मैले मेरो अनुभवको आधारमा भनेको हुँ । मेरो हकमा भने यसमा धेरै समय दिनुपर्ने अवस्था आयो । काम पनि धरै गर्नुपर्ने अवस्था थियो । त्यसकारण यसलाई छाडेर आफै केही गर्नुपर्छ भनेर म व्यवसायमा लागेको हुँ । यसमा मेरो रुचि पनि थियो । केही गरौं भन्ने उत्साह थियो । साथीभाइको सुझाव पनि थियो । 

क्वेष्ट फर्मास्युटिकल्समा लगानी कतिबाट शुरू गर्नुभयो ?
१० लाख रुपैयाँबाट यसमा लगानी शुरू गरेको हुँ । अहिले सम्झँदा सही समयमा यो व्यवसाय शुरू गरेछु कि भन्ने लाग्छ । यो उद्योगमा गरेको शुरुआती लगानी जागीरबाट कमाएर बचेको तलब थियो । यसमा म आफै सञ्चालक भएर काम गरिरहेको छु । अन्य साझेदार पनि छन् । जागीरमा ७ वर्ष बिताएपछि आफैले कम्पनी दर्ता गरेँ । यो २०५६ सालको कुरा हो । यो बेला त केही गर्नुपर्छ भन्ने पनि थियो । अहिले त क्वेष्ट फर्मास्युटिकल्स नेपालमा औषधि उत्पादन गर्ने प्रमुख उद्योगमा पर्छ ।

औषधि उद्योग स्थापना गर्दाको समयमा के कस्तो अप्ठ्यारो भयो ? 
क्वेष्ट फर्मास्युटिकल्स स्थापना गरेपछिका ३ वर्ष निकै दुःख पायौं । औषधि उत्पादन शुरू भएको वर्ष त सुतेर बसेको जस्तै भयो । यो समय हाम्रा लागि निकै कठिन समय थियो । बैंकले पनि दुःख दियो । औषधि नै विक्री भएन, आम्दानी खै भनेर साझेदारहरूले पनि गुनासो गरिरहने अवस्था थियो । यस्ता विभिन्न प्रकारका समस्या आइरह्यो । त्यसपछि विभिन्न काम गर्न टिम निर्माण गर्‍यौं । अहिले त हाम्रो उद्योगले मधुमेह, क्यान्सर तथा मस्तिष्क रोगसँग सम्बन्धित औषधि समेत उत्पादन गरिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड अनुसार आधुनिक किसिमको ल्याब निर्माण भइसकेको छ । बजार पनि विस्तार भइसकेको छ । त्यतिखेरको कुरा गर्ने हो भने हामीले उत्पादन गरेका औषधि बिरामीलाई डाक्टरले सिफारिश गर्न समेत मान्दैनथे । यो देख्दा दुःख लाग्थ्यो । तर हामीले मेहनत गर्न छाडेनौं ।
डाक्टरहरूलाई पनि औषधिको गुणस्तरबारे विश्वस्त बनायौं । स्वदेशमै विस्तारै औषधि विक्रीवितरण हुन थाल्यो । डाक्टरहरूले पनि औषधि सिफारिश गर्न थाले । चार वर्षपछि माग अनुसार उत्पादन गर्न हामीलाई धौ धौ भयो ।

२१ वर्षको व्यावसायिक यात्रामा क्वेष्ट फर्मास्युटिकल्सले नयाँ कामहरू के के गर्‍यो ? 
यसमा महŒवपूर्ण पक्ष के हो भने औषधि उद्योगको मुटु भनेको नै ल्याब (प्रयोगशाला) हो । यसमा हामीले जहिले पनि उच्च प्राथमिकताका साथ काम गर्‍यौं । यसकारण नै हाम्रो विश्वसनीयता बढेर गएको हो भन्ने लाग्छ । व्यवस्थापनमा पनि हामीले अलि फरक नीति अपनायौं । नेपालको परिप्रेक्ष्यमा औषधि उद्योगलाई अगाडि बढाउन गुणस्तरमा जोड दिएका हौं । औषधि उद्योगको विकासका लागि सरकारले पर्याप्त काम गर्न सकेन । भारतले आफ्ना औषधि उद्योगलाई विभिन्न ३५ ओटा निकायमार्फत अनुदान दिइरहेको अवस्थामा नेपालले पनि त्यस्तो व्यवस्था गर्न आवश्यक छ । यसमा सरकारलाई मात्र दोष दिने पक्षमा म छैन । सरकारले यसतर्फ ध्यान देओस् भन्न चाहन्छु । संसारका जुनसुकै मुलुकको ल्याबमा लगेर परीक्षण गराउँदा पनि गुणस्तरीय प्रमाणित हुने औषधि नेपालमै उत्पादन हुन्छ । यसमा हामी अब्बल छौं ।  

क्वेष्ट फर्मास्युटिकल्सको बजार हिस्सा कति छ ?
मेरो विचारमा हामी नेपालमा दोस्रो स्थानमा छौं । हाम्रो बजार हिस्सा भने ६ प्रतिशतको हाराहारीमा छ । पहिलो स्थानमा भने नेशनल हेल्थ केयर रहेको छ ।

व्यवसायलाई विविधीकरण गर्ने क्रममा अन्य क्षेत्रमा पनि लगानी विस्तार गर्नुभएको रहेछ । कुन कुन व्यवसायमा तपाईंको संलग्नता छ ?
शुरूमा त औषधिमै केन्द्रित भइयो । औषधिमा अनुभव भए तापनि अरू क्षेत्रमा त्यति अनुभव थिएन । रबर खेतीको बारेमा पनि केही थाहा थिएन । यसमा साथीहरूले नै जोड गरेका हुन् । यसमा मलगायत साथीहरूको लगानी छ । भारतको केरलामा गएर यसबारे अध्ययन गर्‍यौं । त्यसपछि यो उद्योगमा लगानी विस्तार गरेका हौं । यो उद्योग झापाको कन्काई नगरपालिकामा छ । यसमा अहिले लगानी पनि धेरै नै भइसकेको छ । उद्योगबाट रबरका विभिन्न सामग्री उत्पादन भइरहेको छ । शुरूमा जुत्ताचप्पलमा प्रयोग हुने सोलबाट परीक्षण उत्पादन गर्‍यौं । उद्योगबाट जुत्ताको सोल, सोलोसन (टाँस्ने पदार्थ), म्याट, सवारीसाधान (ट्रक)का टायरलगायत सामग्रीकोे उत्पादन शुरू गरेका छौं । उद्योगमा विभिन्न खालका उपकरण जडान भइसकेका छन् । तर उद्योगका लागि पर्याप्त मात्रामा कच्चा पदार्थ (रबरको चोप) स्वदेशमा पाउन सकिएको छैन । मुलुकमा रबरको कच्चा पदार्थ लगभग आधा मात्र उत्पादन भइरहेको छ । पछिल्लो केही वर्षयता भने नेपाली किसान पनि रबरखेतीतर्फ आकर्षित हुन थालेका छन् । यसका लागि अझै धेरै काम गर्नुपर्ने आवश्यकता छ । 

त्यसबाहेक अन्य व्यवसायमा पनि तपाईंको लगानी छ ?
बीमा कम्पनीमा पनि छ । बीमा कम्पनीमा हाम्रो शुरुआती लगानी मात्र हो । बीमा कम्पनीको रूपमा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्समा म अहिले सञ्चालकको रूपमा छु । 

तपाईंको उद्योगबाट कुन कुन रोगका औषधि उत्पादन भइरहेको छ ?
हामीले अहिले साधारण रोगका औषधि उत्पादनभन्दा पनि दीर्घरोगका औषधि उत्पादनमा जोड दिएका छौं । दीर्घ रोगहरू मुटुरोग, मधुमेह, नसासम्बन्धी रोग, छालाजन्य रोगका एन्टिबायोटिक्स लगायत औषधि उत्पादन गरिरहेका छौं । 

मुलुक औषधिमा कसरी आत्मनिर्भर हुन सक्ला ?
छिमेकी मुलुक बंगलादेश औषधिमा आत्मनिर्भर भइसकेको अवस्था छ । बंगलादेश त सबैभन्दा बढी औषधि निर्यात गर्ने मुलुक पनि भइसकेको छ । अहिले यसबाटै उसले ठूलो राजस्व समेत संकलन गरिरहेको छ । 
त्यसकारण नेपाल पनि औषधिमा आत्मनिर्भर हुन सक्छ तर, त्यसका लागि सरकारले केही पक्षहरूमा सुधार गर्नुपर्छ । लगानीका साथै प्रविधि र दक्षता बढाउन आवश्यक छ । सरकारले सहयोग गर्ने हो भने स्वदेशी औषधिको योगदान बढाउन सकिन्छ । हामीले यो यो काम गरौं भनेर सरकार तथा सरोकारवाला निकायलाई बारम्बार भनिरहेकै छौं । सरकारले सहयोग गरे स्वदेशी औषधिको योगदान ८० प्रतिशत पुर्‍याउन सकिन्छ । 

सरकारले कुन कुन पक्षमा सहयोग गर्नुपर्छ ?
सरकारले स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्न अब ढिला गर्नुहुँदैन । उद्योगमैत्री वातावरण बनाउनुपर्छ । ऐन, कानून स्वदेशी उद्योगमैत्री हुनुपर्छ । औषधि नीति नभएको होइन, तर त्यसका लागि विद्यमान राष्ट्रिय औषधि नीति र औषधिसम्बन्धी अन्य नीतिको समीक्षा गरी सुधार गर्नुपर्छ । समय सापेक्ष परिमार्जन गर्न आवश्यक छ । यसमा अब ढिला गर्नुहुँदैन । सरकारले निजीक्षेत्रलाई बेवास्ता गर्दा औषधि उद्योगले पनि समस्या भोगिरहेको छ । निजीक्षेत्रका समस्या समाधान गर्न हामीले अनुरोध गरिरहेका छौं । 

आयातको तुलनामा नेपालको औषधिको निर्यात न्यून छ । स्वदेशी औषधिको निर्यात बढाउन के गर्नुपर्छ ?
अवश्य पनि सकिन्छ । औषधि निर्यात गर्न सकिने सबैभन्दा बढी सम्भावना रहेको देश भारत हो । बंगलादेश, पाकिस्तान, रुस, ब्राजिल र यूरोपेली मुलुकमा पनि निर्यात गर्न सकिन्छ । यसका लागि प्रयास पनि भइरहेका छन् । त्यहाँको कुरा गर्ने हो भने औषधि उद्योगकोे नियमन निकै कसिलो छ । यद्यपि अहिले सीमित केही उद्योगले निर्यात शुरू गरेका छन् । त्यसका लागि केही वर्ष पर्खनुपर्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि नेपालका औषधि उद्योगलाई असल उत्पादन अभ्यास (जीएमपी)बाट प्रमाणित पनि गरिसकेको छ । 

नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष पनि हुनुभयो, महासंघको राजनीतिमा चाहिँ कसरी प्रवेश गर्नुभयो ?
मैले औषधि उत्पादक संघको अध्यक्षमा लगातार प्रतिनिधित्व गरेँ । तर मलाई उद्योग वाणिज्य महासंघमा प्रतिनिधित्व गर्ने रहर थिएन । मलाई एकजना मित्र, जो संस्थापक अध्यक्ष पनि हुनुहुन्छ, उहाँले निकै कर गर्नुभयो । त्यसपछि मात्र महासंघको उपाध्यक्षमा उम्मेदवारी दिएँ । निर्वाचित पनि भइयो । किनभने मप्रति साथीभाइ र उद्योगी व्यवसायीको विश्वास थियो । यसकारण उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व गर्ने मौका पाएँ । अब भने वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने योजना बनाएको छु । यसका लागि साथीहरूको रायसल्लाहमा काम गरिरहेको छु । गृहकार्य पनि भइरहेको छ । उद्योग वाणिज्य महासंघको छवि र गरिमालाई बढाउँदै उद्योगी व्यवसायीको हकहितमा समर्पित हुने सोच छ । 

तपाईंको आमा पटकपटक मन्त्री हुनुभयो । त्यसबाट तपाईंले व्यक्तिगत लाभ पनि लिनुभयो होला नि ?
निश्चय पनि मेरो आमा पटक पटक मन्त्री हुनुभयो । कहिल्यै पनि उहाँको पद दुरुपयोग गर्नेतर्फ मेरो ध्यान गएन । मलाई त्यो गर्न आवश्यक पनि थिएन । म आफ्नै व्यवसायमा रमाएको व्यक्ति हुँ । आमा परराष्ट्रमन्त्री हुँदा म एकपटक मात्र शीतलनिवास गएको थिएँ । त्यो पनि मन्त्रालय कस्तो हुँदो रहेछ, हेरौं न भनेर गएको थिएँ । स्वकीय सचिवलाई खबर गरेपछि मात्र बल्ल म आमाको कार्यालयमा पस्न पाएँ । त्यसपछि कहिल्यै गइनँ । म फेरि पनि के भन्छु भने, मैले कहिल्यै पनि आमाको नामको पद दुरुपयोग गरिनँ । 

त्यति ठूलो राजनीतिक पृष्ठभूमि भएको परिवारमा तपाईं नै पहिलो पुस्ताको रूपमा आन्त्रप्रेनरबाट व्यवसायमा प्रवेश गर्नुभयो, होइन त ?
निश्चित रूपमा मुलुकमा मेरो बुवा पुष्पलाल श्रेष्ठ र आमा साहना प्रधानको योगदान छ । यो मैले भनिरहने विषय पनि होइन । उहाँहरूले मुलुकका लागि पुर्‍याउनु भएको भूमिकाप्रति मलाई गर्व लाग्छ । तर उहाँहरूको छोरा भएका नाताले मलाई चिनाउन खोजियो भने मलाई अलि असहज हुन्छ । उहाँहरूको योगदानको परिचय गराउँदा कहीँ न कहीँ केही लुकेको जस्तो लाग्छ । मेरो परिवारको कुरा गर्ने हो भने कोही पनि व्यापार व्यवसायमा लाग्ने कुरै भएन । म नै पहिलो पुस्ता हो । यो भन्न मलाई कुनै अप्ठ्यारो लाग्दैन । 

आगामी दिनमा व्यवसायलाई कसरी पुस्तान्तरण गर्दै लैजाने योजना बनाउनुभएको छ ?
ठूली छोरीले अहिले एमबीए गरिसकेकी छन् । उनी व्यवसायमै संलग्न छिन् । सानी छोरी आर्किटेक्ट हुन् । व्यवसाय रोज्ने या नरोज्ने त उनीहरूको इच्छामा भर पर्ने कुरा हो । जबरजस्ती तिमी यो काम गर भन्ने कुरा भएन । हाम्रै उद्योगमा काम गर्नुपर्छ भन्ने पनि छैन उनीहरूका आफ्ना इच्छा र आकांक्षा होलान् । तापनि आगामी दिनमा व्यावसायिक टिमले नै उद्योग व्यवसायको नेतृत्व गर्छ भन्ने लाग्छ । 

१९८० को मध्यबाट शुरू भएको आफ्नो व्यावसायिक यात्रालाई समग्रमा कसरी सम्झनुहुन्छ ? 
यो मैले पहिला पनि भनिसकेको छु । धेरै दुःख गरियो, परिश्रम पनि गरियो । अथक मेहनत र परिश्रमकै कारण आज यो अवस्थामा पुगिएको छ । 

आगामी दिनमा व्यावसायिक यात्रालाई विस्तार गर्ने योजना बनाउनुभएको छ ?
हारमा नआत्तिने र जितमा नमात्तिने मेरो स्वभाव छ । त्यो हिजो पनि थियो, अहिले पनि छ । त्यही भएकाले नै आज यो अवस्थामा छौं । आगामी दिनको कुरा गर्नुहुन्छ भने व्यावसायिक यात्रालाई विस्तार गर्ने सोच त्यति ठूलो छैन । अब जे गर्छु, क्वेष्ट फर्मास्युटिकल्समैै गरूँ भन्ने छ । लक्ष्य पनि त्यही छ । अझ यसलाई थप उचाइमा पुर्‍याउन मन छ । साथै जानेर वा नजानेर रबर उद्योगमा लगानी गरिसकिएको छ । रबरबाट मुलुकका लागि केही गर्न सकिन्छ भनेर यसमा काम शुरू गरेका हौं । यसमा साथीहरू पनि लाग्नुभएको छ । यसलाई पनि सँगसँगै अगाडि लैजाने सोच छ ।

(विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepal मा जान सक्नुहुनेछ ।)

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro