झापा । झापाको दमक नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरणसहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको नगरपालिकाले जानकारी दिएको छ ।
दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईका अनुसार मङ्सिर २० गतेको कार्यपालिका बैठकले दमक नगरपालिकाको भू–उपयोग कार्यविधि २०७९ पारित गरेको छ । अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्न थालेको छ । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय दमकलाई पत्राचार गरी कार्यान्वयनमा समेत आइसकेको उनले जानकारी दिए ।
दमकमा गत जेठदेखि जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन भने राजस्वसमेत प्रभावित हुन पुगेको थियो । कार्यविधिअनुसार दुई दिनदेखि कित्ताकाटको काम शुरू गरिएको मालपोत कार्यालयका कर्मचारी मेदनी पोख्रेलले बताए । दमक नगरपालिकाले पारित गरेको कार्यविधिमा जग्गालाई शहरी, कृषि, औद्योगिकसहितका विभिन्न क्षेत्रमा वर्गीकरण गरिएको उल्लेख छ ।
त्यस्तै झापकै बुद्धशान्ति गाउँपालिकाले पनि जग्गा वर्गिकरणको काम अन्तिम चरणमा पुर्याएको छ । अधिकांश वडाको वर्गिकरण सकिएपनि १/२ ओटा वडामा थप छलफल गर्नुपर्ने भएकाले ८/१० दिनभित्र वर्गिकरणको काम सकिने गाउँपालिकाका अध्यक्ष मनोज प्रशाईले बताए ।
-राससको सहयोगमा