काठमाडौं । नेपालमा झन्डै डेढ महीनापछि कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ । गत नोभेम्बर पछि नेपालमा पहिलोपटक कोभिडका कारण मानिसको ज्यान गएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट आज (शनिवार) एक जनाको मृत्यु भएको हो ।
नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । आज ५५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् । १० लाख १ हजार २० जनालाई संक्रमण भएको छ । हाल २१ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय चीनमा कोरोनाको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिरहेको छ । नयाँ भेरियन्टका कारण चीनमा दैनिक लाखौ मानिस संक्रमित भइरहेका छन् । उक्त भेरियन्ट चीन बाहेक जापान, कोरिया लगायतका देशमा फैलिएको छ । भारतमा पनि कोरोना संक्रमण फेरि फैलिएकाले नेपालले थप सतर्कता अपनाउनु पर्ने गृह मन्त्रालयले आग्रह गरिसकेको छ ।