सियाटल । अमेरिकाका सरकारी विद्यालयहरूले टिकटक, इष्टाग्राम, फेसबुक, यूट्यूब र स्न्यापच्याट जस्ता सामाजिक सञ्जाल चलाउने ठूला प्राविधिक कम्पनीमाथि मुद्दा हालेको छ ।
युवाहरूको मानसिक स्वास्थ्यमा संकट देखिनुमा यी सामाजिक सञ्जालहरू जिम्मेवार रहेको भन्दै सियाटलका सार्वजनिक विद्यालयहरूले अमेरिकी जिल्ला अदालतमा मुद्दा हालेका छन् । ९१ पृष्ठको सो मुद्दामा सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकाहरूलाई लक्षित गरेर आफ्नो प्रडक्ट ल्याएर सार्वजनिक कष्ट सिर्जना गरेको गुनासो गरिएको छ ।
चिन्ता, डिप्रेशन, अव्यवस्थित खानपान र साइबर बुलिङ समेतका मानसिक स्वास्थ्य र व्यावहारिक विकार झनै खराब बनाएको दोष कम्पनीहरूलाई दिइएको छ ।
सामाजिक सञ्जालका कारण विदार्थीहरूलाई पढाउन झनै कठिन भएको अनि विद्यालयहरूले अतिरिक्त मानसिक स्वास्थ्यकर्मीहरू नियुक्त गर्नु परेको, सामाजिक सञ्जालको प्रभावबारे पाठ पढाउन शुरु गर्न परेको अनि शिक्षकहरूलाई थप तालिम दिनुपर्ने अवस्था आएकोलगायत गुनासा पनि मुद्दामा छन् ।
अमेरिकाको संघीय कानूनको सञ्चार सभ्यता ऐनको दफा २३० ले तेस्रो पक्षले आफ्नो प्लेटफर्ममा गरेको पोष्टका कारण उत्पन्न हुने दायित्वबाट अनलाइन कम्पनीहरूलाई जोगाउँछ । तर, यो मामिलामा उनीहरूलाई कुनै राहत नभएको तर्क मुद्दामा गरिएको छ । सन् २००९ देखि सन् २०१९ को बीचमा सियाटलका सार्वजनिक विद्यालयका विद्यार्थीहरूमा डिप्रेशनलगायत मानसिक समस्याहरू ३० प्रतिशतले बढेको मुद्दामा दाबी गरिएको छ । विद्यालयहरूले अदालतलाई सामाजिक सञ्चालको अत्यधिक र समस्या नै हुने गरी प्रयोग गर्दा हुन सक्ने हानी रोक्न आवश्यक शिक्षाका लागि खर्च गर्न अनि यस्ता खालको व्यवहारले हुने क्षतिमा पूर्ति दिलाउन पनि अनुरोध गरेका छन् । सामाजिक सञ्जालले आफ्नो बालबालिकाहरूलाई गराएको क्षतिको मामिलामा सयौं परिवारहरूले यी कम्पनीहरूमाथि मुद्दा हालेका छन् । तर, यसरी विद्यालयहरूले नै मिलेर मुद्दा हालेकोचाहिँ यो पहिलो पटक हो ।
इन्स्टाग्रामले किशोरकिशोरीहरूमा नकारात्मक प्रभाव पारेको, उनीहरूको स्वास्थ्यलाई नै हानी गर्ने गरी खानपिनको बानी विकास गरेको, आत्महत्या गर्ने सोच बनाएको जस्ता नकारात्मक प्रभावहरूबारे २०२१ मै कम्पनीले थाहा पाएको फेसबुकको ह्विस्सलब्लोअर फ्रान्सेस हाउजेनको आन्तरिक अध्ययनले देखाएको थियो । तर, कम्पनीहरूले आफ्नै लगानीकर्ता र सर्वसाधारणहरूबाट आन्तरिक अनुसन्धानको नतिजा लुकाएको अनि मुनाफालाई महत्त्व दिएको आरोपहरू पनि आइरहेका छन् ।
सामाजिक सञ्जालका कारण किशोरकिशोरीहरूको व्यवहार फेरिएको अमेरिकामा मात्रै नभएर विश्वभरकै समस्या हो । बालबालिकाहरूको अत्यधिक युट्यूब प्रयोग कतिपय अभिभावकहरूको टाउको दुखाइको विषय बनेको छ । एजेन्सी