ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

विकास बैंकलाई सरकारले सौतेनी व्यवहार गरिरहेको छ

२०७९ पुस, २६  
अन्तरवार्ता
Tvs Raider Image Not Found

नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण विकास बैंकहरूको संख्या घटेर १७ ओटामा झरेको छ । पूँजी, कारोबार, संस्थागत सुशासनलगायत सूचकका आधारमा विकास बैंकहरू ५–६ वर्षअघिको वाणिज्य बैंकको हैसियतमा पुगे पनि सरकारले विभेदपूर्ण व्यवहार गरेको गुनासो गर्छन् लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहोरा । गाउँमा खुलेका विकास बैंकहरू स्तरोन्नति भई शहरमा प्रवेश गरे पनि आफ्नो मौलिकता र ग्राहकप्रतिको अपनत्व कायमै राखेको उनी बताउँछन् । लुम्बिनी विकास बैंकमा दोस्रो कार्यकालको नेतृत्व गरिरहेका उनी डेभलपमेन्ट बैंकर्स संघको कार्यसमिति सदस्य समेत हुन् । दार्चुलाको छाङरुमा जन्मिएर भारतको इलाहावाद विश्वविद्यालयबाट एमबीए उत्तीर्ण गरेका उनले बैंकिङ क्षेत्रमा चार दशकभन्दा बढी समय बिताइसकेका छन् । प्रस्तुत छ, विकास बैंकलगायत समग्र बैंकिङ क्षेत्रको विषयमा केन्द्रित रहेर आर्थिक अभियानका यादव हुमागाईंले उनीसँग गरेको कुराकानीको सार :

छुट्टाछुट्टै ऐन अनुसार स्थापित वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूबीच यतिबेला एउटै काममा प्रतिस्पर्धा देखिन्छ । विकास बैंकहरूले नाम अनुसार काम गर्न किन सकेनन् ?
अन्तरराष्ट्रिय रूपमा विकास बैंक भन्नाले विकास आयोजनाहरूका लागि वित्तीय लगानी गर्ने ठूलो पूँजी भएका बैंकहरू हुन् । यिनीहरू वाणिज्य बैंकभन्दा ठूला हुन्छन् भन्ने अवधारणा हो । नेपालमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू भिन्न भिन्न ऐनबाट स्थापित भए । उक्त समयमा देशमा वित्तीय पहुँच र साक्षरता विस्तारको धेरै आवश्यकता थियो । त्यसका लागि विकास बैंक नाम दिए पनि यसको उद्देश्य देशको सबै ठाउँमा बैंकिङ सेवा विस्तार नै रहेको पाइन्छ । केन्द्रीय बैंकको नीति पनि फाइनान्स कम्पनीभन्दा विकास बैंकलाई सहुलियत दिने नै थियो, जसकारण ८० भन्दा बढी विकास बैंकहरू सञ्चालनमा आए ।

समग्रमा विकास बैंकहरूले मर्जरको आवश्यकता महसूस गरेका छैनन् ।

पछिल्लो समय शाखा विस्तारमा आक्रामक बनेको र हरेक पालिकामा बैंकको शाखा पुर्‍याउनुपर्छ भन्ने सरकारको नीतिका कारण वाणिज्य बैंकहरू गाउँमा पुुगे । यसभन्दा अघि गाउँमा बसेर वास्तविक बैंकको काम गर्ने, गाउँबाट निक्षेप उठाउने, ऋण लगानी गर्ने त विकास बैंकहरू नै हुन् । पछि देशको अर्थतन्त्रको आकार बढ्दै गएपछि बैंकको पूँजी चार गुणा बढ्यो । तर, बैंकको कारोबार तत्काल बढ्दैन । पूँजी बढेपछि सबैलाई व्यवसाय विस्तारको दबाब भयो र जसले जे काम पनि गर्ने प्रतिस्पर्धा भयो । वाणिज्य बैंकहरू ठूला व्यवसायमा मात्र सीमित नभई सानो व्यवसायमा पनि प्रतिस्पर्धा गर्न आए । प्रकृतिको नियम नै हो, जसले पनि सानालाई हस्तक्षेप गर्छ । विकास बैंक र फाइनान्स कम्पनीले जुन बजार निर्माण गरे, विपन्न वर्ग कर्जामा आफ्नो कारोबार विस्तार गरे, त्यसमा वाणिज्य बैंकहरू पनि आए ।

पूँजी र वर्ग नै फरक फरक तोकेको अवस्थामा एउटै काममा प्रतिस्पर्धा गराउनु अलि न्यायोचित भएन कि जस्तो लाग्छ । तर विकास बैंकहरू यसमा पछि परेका छैनन् । बजारको अवस्था विश्लेषण गर्दा हिजो ८० ओटा बैंक हुँदा पनि बजार हिस्सा १० प्रतिशत थियो, अहिले १५ ओटा हुँदा पनि १० प्रतिशत नै छ । संख्या घटे पनि विकास बैंकले बजारको हिस्सा गुमाएका छैनन् । विकास बैंकहरूले पनि आफ्नो क्षमता बढाएका छन् । पूँजीको हिसाबले होस् वा कारोबारको हिसाबले विकास बैंकहरू ५ वर्षअघिका वाणिज्य बैंकको स्थानमा छन् । विकास बैंकहरूको बोर्ड, व्यवस्थापन अब्बल छ । कानूनले नै वर्ग अनुसार काम गर्ने दायरा र क्षेत्र तोकेमा सजिलो हुन्थ्यो । नगरेको अवस्थामा पनि हामी प्रतिस्पर्धामा काम गरिरकेका छौं । तर, सरकारले हामीलाई सौतेनी व्यवहार गरेको छ । हाम्रो क्षमता बढ्दा पनि सरकारी संस्थाहरूले विकास बैंकमा कारोबार गर्न नहुने व्यवस्था कायमै छ । यसलाई परिवर्तन गर्न आवश्यक छ ।

नयाँ मानिसलाई बैंकिङ सिकाउन र बानी बसाल्न अहिले पनि विकास बैंकहरूको ठूलो भूमिका छ ।

विकास बैंकको अवधारणा अनुसार काम हुन नसकेपछि अब नेपालमा तपाईंहरूको औचित्य किन त ?
विकास बैंक र वाणिज्य बैंकको नियामकले तोकेका केही सेवाबाहेक तात्त्विक फरक छैन । ऐनले नै तोकेर छुट्टै क्षेत्र निर्धारण नभएपछि हामीलाई पनि खेलको मैदान बराबर दिनुपर्छ भन्ने नै हो । सरकारले काम गर्ने क्षेत्र वा कारोबारका आधारमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूलाई दायरा निर्धारण गरे पनि हुन्छ । यसो गर्दा हामी हाम्रो सेवा कुनै क्षेत्रमा केन्द्रित गर्छौं । त्यो नभए पनि अहिलेको बजारमा हामी वाणिज्य बैंकहरूको प्रतिस्पर्धी भएरै चल्न सक्छौं । सेवाको गुणस्तरमा हामी कुनै हिसाबले वाणिज्य बैंकभन्दा कम छैनौं । विकास बैंकहरूले झन् व्यक्तिको आवश्यकताका आधारमा सेवा दिइरहेका छन् । हामी समाजमा भित्रसम्मै पसेका छौं । सरकारले विभेद गरे पनि ग्राहकको हकमा भने उहाँहरूको आवश्यकता अनुसार सेवा दिन सक्षम छौं । ग्राहकलाई पनि यो बैंक हाम्रो हो, यसबाट सेवा लिन सजिलो हुन्छ भन्ने महसूस गराएका छौं । गाउँमा जाँदा पनि यो हाम्रो गाउँ ठाउँकै बैंक हो भन्ने भावनाको विकास गराएर ग्राहक विशेषको आवश्यकताका आधारमा उत्कृष्ट वित्तीय सेवा दिएका छौं ।

गाउँमा स्थापना भएका विकास बैंकहरू मर्जरसँगै शहरमा प्रवेश गरेपछि मौलिकता गुमाए भन्ने गुनासो छ नि ।
विकास बैंकहरूले मौलिकता छाडेका छैनन् । गाउँबाट शहरमा प्रवेश त समयले ल्याएको परिवर्तन हो । पहिला विकास बैंक युनिट बैंकिङ थियो । एउटा शाखा पनि एउटा बैंक थियो, जसकारण मौलिकता शतप्रतिशत कायम भयो । सरकार र नियामकको नीतिका कारण बैंकहरू पनि ठूलो हुनुपर्ने आवश्यकता भयो । पूँजी बढाउन होस् वा मर्जरका कारण ठूलो भएपछि ठूलो बजारमा प्रवेश भयो, जसकारण आधारभूत पक्ष परिवर्तन हुने नै भए । कसैको मुख्य कार्यालय परिवर्तन भयो, कसैको नाम परिवर्तन भयो । परिवर्तन अनुसार मौलिकताको परिभाषा पनि फरक हुन्छ । तर, यो परिवर्तन प्राकृतिक हो । यो परिवर्तनसँगै विकास बैंकहरूलाई मौलिकता कायम राख्नु ठूलो चुनौती हो ।

तीनओटा फाइनान्स र दुईओटा विकास बैंक गरी लुम्बिनी विकास बैंक बनेको हो । यिनीहरूले विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाएका थिए । मर्जरअघि यी संस्थाले जसरी सेवा दिएका थिए, मर्जरपछि पनि त्यही पुरानै संस्था अनुसार सेवा पाइन्छ भन्ने ग्राहकको विश्वास कायम राख्नु हाम्रो चुनौती छ ।

विकास बैंकहरूले मौलिकता छाडेका छैनन् ।  

विकास बैंक ठूलो भएपछि ग्राहकले पाउने सेवा पनि परिवर्तन भए कि ?
नियामकीय नीतिगत परिवर्तनका कारण बैंकका सेवा परिवर्तन भएका छन् । ऐन, कानून, नीति नियम र मापदण्ड परिवर्तन भए । बैंक जनताको पैसा सुरक्षित राख्ने निकाय भएकाले यसमा उच्च नियमन छ, पारदर्शी हुनुपर्छ । नीति नियमको परिवर्तन र नियामकको निर्देशनहरू हामीले पालना गर्नुपर्छ, जसले गर्दा हिजो जुन काम सजिलोसँग हुन्थ्यो, आज प्रक्रिया केही लामो भएको छ, जसले गर्दा हाम्रो सोचाइ, काम गर्ने तरीका परिवर्तन भयो कि भन्ने गतल बुझाइ फैलिएको छ । ग्राहकले बुझाउनुपर्ने कागजपत्र होस् वा पूरा गर्नुपर्ने प्रक्रिया हामीले भन्दा पनि नियामकीय व्यवस्थाले ल्याएको परिवर्तन हो । हामी अन्तरराष्ट्रिय समुदायको सदस्य भएकाले अन्तरराष्ट्रिय प्रचलन पालना गर्नुपर्छ । सरकार र बैंकिङ क्षेत्र संवेदनशील छ । अनौपचारिकबाट औपचारिक बन्दै जाँदा यो परिवर्तनको समयमा मानिसलाई झन्झट महसूस हुन सक्छ । तर, हामी ग्राहकलाई कमभन्दा कम झन्झट होस् भन्नेमा सचेत छौं । नयाँ मानिसलाई बैंकिङ सिकाउन र बानी बसाल्न अहिले पनि विकास बैंकहरूको ठूलो भूमिका छ ।

पछिल्लो समय राष्ट्र बैंकको मर्जर नीति वाणिज्य बैंकमा केन्द्रित छ । विकास बैंकहरूले मर्जरको आवश्यकता महसूस गरेका छन् ?
सबैको आफ्नो रणनीति अनुसारको योजना हुन सक्छ । तर, समग्रमा विकास बैंकहरूले मर्जरको आवश्यकता महसूस गरेका छैनन् । लुम्बिनी विकास बैंकले पनि गरेको छैन । तर, हामी व्यावसायिक संस्था भएकाले व्यवसाय विस्तारका लागि सधैं खुुला बस्नुपर्छ भन्ने सामान्य सिद्धान्तको आधारमा यो साधारणसभामा मर्जरको एजेण्डा भने राखेका छौं । बैंकहरूले पूँजी वृद्धि अनुसार व्यवसाय विस्तार गर्न सकेका छन् । विकास बैंकहरूको व्यवसाय विस्तार, कर्मचारीको उत्पादकत्व र नाफा बैंकिङ उद्योगको औसतभन्दा बढी भएकाले मर्जरको आवश्यकता छैन ।

यसअघि त विकास बैंकहरूमा मर्जर भएर स्तरोन्नतिको आकांक्षा हुन्थ्यो नि ।
स्तरोन्नतिको आकांक्षा राख्नु त नेपाली समाजको प्रतिविम्ब हो । नेपाली समाजमा कोही व्यक्ति एउटा क्षेत्रमा सफल भयो भने सबै त्यसैमा लाग्छन् । विगतमा बैंकिङ क्षेत्रमा मर्जर गरेर स्तरोन्नति गर्ने रहर पनि थियो । बैंकिङ क्षेत्रमा स्तरोन्नतिलाई उसको स्टाटससँग पनि जोडेर हेर्ने माहोल थियो । त्यसैले धेरै बैंक जन्मिए । त्यो माहोल र समयको माग हो । अहिले विकास बैंकहरूले वाणिज्य बैंकमा जाने रहर पालेको जस्तो लाग्दैन । विकास बैंकका रूपमा हामी केमा कम छौं त ? हाम्रा वित्तीय सूचक, शेयर बजारको मूल्य वाणिज्य बैंकहरूको भन्दा राम्रो छ ।

कोभिड र रुस–युक्रेन युद्धपछि देखिएको आर्थिक मन्दीबाट बच्न केन्द्रीय बैंकले लिएको कसिलो मौद्रिक नीतिका कारण बढेको ब्याजदरमा व्यवसायीले विरोध गरिरहेका छन् । ब्याजदर अब कहिले घट्ला ?
विश्व अर्थतन्त्रमा आर्थिक मन्दीको संकेत देखिन थालेको छ । कोभिडले थलिएको अवस्थामा रुस–युक्रेन युद्धका कारण अर्थतन्त्रमा थप असर परेको देखिन्छ । मुद्रास्फीति पनि उच्च भइरहेको छ । यो अवस्था हामी संयमित हुने संकेत हो । हाम्रा छिमेकी देशमा आर्थिक मन्दीको जुन अवस्था देखियो, त्यस्तो अवस्था हामीकहाँ नआओस् भनेर सतर्कता अपनाउन कर्जाको विस्तार रोक्ने नीति लिएको हो । सोहीअनुसार सरकारले केही वस्तुको आयातमा बन्देज गरेको हो । बैंकहरूले पनि कर्जामा कडाइको नीति लिएका हुन् । बैंकहरूको सीडी रेशियो पनि सीमित भयो ।

अहिले मुख्य समस्या हामीकहाँ नयाँ स्रोत उपलब्ध हुन सकेको छैन । हाम्रो स्रोत उत्पादन हुने मुख्य ठाउँ सरकारको पूँजीगत खर्च हो । यो एकदम नाजुक अवस्थामा छ । नेपालको अर्थतन्त्रमा वैदेशिक अनुदानको ठूलो हिस्सा भए पनि ती मुलुकमै आर्थिक मन्दी भएकाले त्यहाँबाट आउने अनुदान पनि प्रभावित हुने नै भयो । अर्को महत्त्वपूर्ण स्रोत रेमिट्यान्स बढाउन सरकारले केही नीतिगत परिवर्तन त गरेको छ । तर, औपचारिकभन्दा अनौपचारिक क्षेत्रबाट रेमिट््यान्स आउने क्रम देखिएको छ ।

स्रोत नभएपछि कहाँबाट लगानी गर्ने त ? त्यसैले सीडी रेशियो तत्कालै सहज हुने अवस्था देखिँदैन । नियामकले केही सहुलियत दियो र सरकारले पूँजीगत खर्च बढायो भने बजार सहज हुन्छ । माग र आपूर्तिले मूल्य निर्धारण गर्ने हो । यो बेला ‘प्राइस वार’ले ब्याजदर उच्च भयो । निक्षेपको उच्च ब्याजदरको असर आधारदरको अवधारणाले कर्जामा देखिन्छ । राष्ट्र बैंकको नीतिका कारण बैंकहरूले स्प्रेडदर घटाउनुपर्ने भएकाले अब कर्जाको ब्याजदर बढ्दैन । बैंकहरूले पनि केही सहुलियत दिन सक्ने ठाउँ छन् । एक वर्षभन्दा कमको निक्षेपमा ब्याजदर घटाउने हो भने केही सहज हुन सक्छ । विकास बैंकले त अघिल्लो महीना नै शून्य दशमलव १५ प्रतिशतले घटाएर केही संकेत दिएका छन् । बैंकको पूँजीको लागत घटाएर बजारको अपेक्षा सम्बोधन गर्न सकिन्छ । तर, अहिले बैंकिङ बजारमा सिद्धान्त एकातिर व्यवहार अर्कोतिर छ । अधिकांश बचत खाता छोटो अवधिको मुद्दती निक्षेपमा परिवर्तन भएको छ ।

माघमा बैंकहरूले निक्षेपको ब्याजदर घटाउलान् ?
नयाँ सरकार गठन भएपछि बजारले पनि सकारात्मक ‘मूड’ देखाएको छ । अब ऋणको ब्याजदर बढ्ने सम्भावना देख्दिनँ । निक्षेपको ब्याजदर पनि केही घट्छ ।

सेवाको गुणस्तरमा हामी कुनै हिसाबले वाणिज्य बैंकभन्दा कम छैनौं ।

बैंकको कर्जा लगानी देशको कुल गार्हस्थ्य उत्पादनभन्दा बढी भए पनि त्यसअनुसार अर्थतन्त्रको विकास हुन सकेको छैन । ४५ प्रतिशत कर्जा निर्देशित क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था भए पनि यसको परिणाम आउन नसक्नुको कारण के हो ?
यसको विषयमा हामीले गम्भीर विश्लेषण गर्न आवश्यक छ । केही उदाहरणलाई लिएर मात्र धारणा बनाउने भन्दा पनि यसबारे अध्ययन गरेर त्यसका आधारमा मात्र नीतिगत सुधार गर्नुपर्छ । तर, हाम्रो कर्जा लगानीको आधारमा अर्थतन्त्रको विकास विस्तार भएको छैन भने कहीँ न कहीँ, केही न केही दुरुपयोग त भएकै छ । त्यही कारण पनि प्रश्न उठेको हो । आगो नलागी धूँवा त उड्दैन ।

बैंकहरूको कर्जा लगानी यही अर्थतन्त्रमै छ । तर उत्पादनमूलक क्षेत्रमा गएन कि, जसकारण अर्थतन्त्रमा योगदान कम भयो भन्ने विश्लेषण हो । घरजग्गाको मूल्य जुन हिसाबले बढेको छ, त्यसको मुख्य कारण बैंकहरूको लगानी त्यता केन्द्रित भयो कि भन्न सकिन्छ । राष्ट्र बैंकले निर्देशित गरेका क्षेत्रमा प्रवाह भएको कर्जा पनि जुन सोच, उद्देश्यका साथ लक्षित ठाउँमा पुर्‍याउन खोजिएको छ, त्यसअनुसार नभएको हुन सक्छ ।

अर्थतन्त्रमा समस्या देखिँदा पनि बैंकहरूले नाफा कमाए भन्ने आलोचना सुनिन्छ । बैंकहरूलाई कस्तो असर परेको छ त ?
अर्थतन्त्रको समस्याबाट बैंकिङ क्षेत्र पनि अलग रहन सक्दैन । किनकि हामी पनि यही अर्थतन्त्रको पाटो हौं । तर, अरू क्षेत्रमा भन्दा बैंकमा प्रभाव अलि ढिला देखिन्छ । यसले बैंकहरूको खराब कर्जा बढ्न सक्छ । अहिले अधिकांश बैंकलाई नगदमा नाफा बढाउन गाह्रो परिरहेको छ । यस्तो अवस्थामा पनि बैंकहरूले नाफा कमाए भनेर सर्वसाधारणमा गलत बुझाइ परिरहेको छ । यो द्वन्द्वको विषय पनि बनेको छ । तर, अर्थतन्त्र मन्दीमा गयो भने बैंकिङ क्षेत्रमा पनि संकटको अवस्था आउन सक्छ । त्यसैले अहिलेदेखि नै बैंकहरूले संयमित भएर व्यवसाय विस्तार गर्नुपर्छ ।

वित्तीय बजारमा लुम्बिनी विकास बैंकको स्थान कहाँ छ ?
लुम्बिनी विकास बैंकमा मैले दोस्रो कार्यकालको नेतृत्व गरिरहेको छु । मेरो चारवर्षे कार्यकालमा बैंकको निक्षेप, कर्जा लगानी र नाफामा ११० प्रतिशतले वृद्धि भएको छ । बजारमा हामी एउटा प्रतिस्पर्धी संस्थाको रूपमा स्थापित भएका छौं । केही सूचकका आधारमा हामी बजारको नेतृत्वमा पनि छौं । कर्मचारीको उत्पादनशीलता विकास बैंकहरूमध्ये राम्रो छ । नाफामा पनि औसतभन्दा राम्रो अवस्थामा छौं । गतवर्ष व्यवसाय विस्तारमा हामी उत्कृष्ट छौं । शेयरधनीलाई दिने प्रतिफलमा पनि उद्योगको औसतभन्दा माथि छौं । शेयर नेटवर्थमा विकास बैंकहरूमध्ये सबैभन्दा बढी छौं । समग्रमा हामी बजारमा अग्रणी विकास बैंकको रूपमा स्थापित छौं ।

सर्वसाधारणले लुम्बिनी विकास बैंकसँग किन कारोबार गर्ने ?  
लुम्बिनी विकास बैंक नियामकीय दायराभित्र रहेर पारदर्शी कारोबार गर्दै जिम्मेवार बैंकको रूपमा अघि बढिरहेको छ । हाम्रा सेवा चुस्तदुरुस्त राख्नुपर्छ भनेर जनशक्तिमा पनि लगानी गरिरहेका छौं । यसैगरी हाम्रो मौलिकता बचाउने प्रयास पनि छाडेका छैनौं । ग्राहकलाई ‘यो बैंक मेरै हो’ भन्ने विश्वास दिलाइरहेका छौं । यसको एउटा उदाहरण २६ पटक सगरमाथा आरोहण गर्नुभएको कामीरिता शेर्पा २० वर्षदेखि हाम्रो ग्राहक हुनुहुन्छ । हाम्रो सेवाप्रतिको विश्वासकै कारण ग्राहकको विस्तार पनि औसतभन्दा बढी छ । यही वर्ष हामी ‘न्यूबिज बिजनेश कन्क्लेभ एन्ड अवार्ड्स’अन्तर्गत विकास बैंकतर्फ उत्कृष्ट दोस्रो हुन सफल भयौं । हामी ग्राहकलाई सबल, सुरक्षित र स्तरीय सेवा दिन सक्षम छौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro