काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतीय कम्पनीले बालबालिकाको लागि भनेर तयार पारेको रुघाखोकीको दुई ओटा औषधि प्रयोग नगर्न चेतावनी जारी गरेको छ ।
मारिओ बायोटेकको औषधि खाएर उज्बेकिस्तानमा १८ जना बालबालिकाको मृत्यु भएको कयौं दिनपछि डब्ल्यूएचओले सो चेतावन जारी गरेको हो । अहिलेसम्म सो चेतावनीबारे कम्पनीले कुनै टिप्पणी नजनाएको भन्दै बीबीसीले समाचार छापेको छ ।
उज्बेकिस्तानमा मृत्यु भएपछि भारतीय स्वास्थ्य मन्त्रालयले ती अैषधिको उत्पादनमा रोक लगाएको थियो । यही हप्ता उत्तर प्रदेशको खाद्य सुरक्षा विभागले कम्पनीको उत्पादन लाइसेन्स नै खारेज गरेको थियो ।
उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयको गुणस्तर नियन्त्रण प्रयोगशालामा दुई ओटा कफ सिरप अम्ब्रोनोल र डक–१ म्याक्सको विश्लेषण पछि ती दुई औषधिमा अस्वीकार्य स्तरमा डाइथाइलिन ग्लाकोल र इथेलिन ग्लाइकोल भेटिएको बिहीवार जारी विज्ञप्तिमा डब्ल्यूएचओले भनेको छ ।
डाइथाइलिन ग्लाकोल र इथेलिन ग्लाइकोल मानव शरीरको लागि विष हो । यो खाँदा मानिसको मृयु समेत हुन्छ । सो क्षेत्रका अन्य देशहरुमा पनि यो औषधि विक्री वितरण भइरहकेो हुन सक्ने अुनमान गरिएको छ । अनौपचारिक बजारबाट अन्य देश वा क्षेत्रमा पनि यसको विक्री वितरण भइरहेको हुन सक्ने डब्ल्यूएचओले भनेको छ । यी औषधिहरुको बालबालिकामा प्रयोग गर्दा गम्भीर चोट लाग्न सक्ने वा मृत्यु नै हुन सक्ने चेतावनी दिइएको छ ।
भारत विश्वको फार्मेसीको रुपमा चर्चित छ । विश्वभर उत्पादन हुने एक तिहाई औषधि यही बन्छ । अधिकांश विकासशिल देशहरुको औषधिको आवश्यकता भारतले नै पूर्ति गर्दै आएको छ । तर भारतीय कम्पनीहरुले बनाएका रुघा खोकीको औषधिको सेवनका कारण कयौं देशहरुमा बालबालिकाको मृत्युको घटनाहरु एक पछि अर्को गर्दै बाहिरिदैं गर्दा सो उद्योगमाथि निगरानी र चासो चौतर्फी बढेको छ ।
अक्टोबरमा पनि भारतीय कम्पनीको औषधि सेवनपछि किड्नीको गम्भीर चोट देखिएर गामबियामा ६६ जनाको मृत्यु भएको थियो । तर आफूमाथिको आरोप भारत सरकार र सो औषधि बनाउने कम्पनी मेइडेन फार्मेसीले अस्वीकार गरेको थियो । भारतमै पनि घरेलु रुघाखोकीको औषधिको सेवनका कारण यस अघि पनि पटक पटक बालबालिकाहरुको मृत्यु भएका छन् । तर पनि वर्षेनी यस्ता समस्याहरु देखिन छाडेका छैनन् । हालैका समयमा यस्तो घटनाहरु झनै बढ्दो छ । एजेन्सी