केही दशकअघि बैंक भनेकै सरकारी र एकाध निजी बैंक थिए । निजी बैंकले सर्वसाधारणको खातासमेत सहजै खोल्न दिँदैनथे । तर, अहिले तिनले शून्य नगद मौज्दातमा समेत खाता खोल्न थालेका छन् । सर्वसाधारण बैंकमा पस्नै नसक्ने अवस्था थियो । तर, अहिले सर्वसाधारणलाई खाता खोल्न उनीहरूले आग्रह गरिरहेका छन् । यसको कारण हो, नेपालमा बैंकहरूको संख्या बढ्नु । संख्या बढेसँगै प्रतिस्पर्धा बढ्दा यस्तो अवस्था आएको हो ।
तर, अहिले बैंक तथा वित्तीय संस्थामा मर्जरको लहर छ । पहिलो चरणको मर्जरमा बैंकको संख्या केही घट्यो । नेपाल राष्ट्र बैंकले दोस्रो चरणको मर्जर प्रक्रिया शुरू गरेर वाणिज्य बैंकहरूको संख्या ६/७ ओटामा झार्न सक्छ । मर्ज भएर ठूलो पूँजी भयो भने चुनौतीलाई कम गर्न सकिन्छ । लगानी गर्ने क्षमतामा वृद्धि हुन्छ । बैंक ठूलो भयो निक्षेपकर्ताको रकम झनै सुरक्षित हुन्छ । लगानीका लागि नयाँ ढोका खुला हुन्छ । स्वस्थ प्रतिस्पर्धा हुन्छ । तर, बैंकको संख्या घटे भने त्यसबाट निम्तिने समस्यातर्फ राष्ट्र बैंक सचेत देखिँदैन । समस्या आएपछि नीतिनियम बनाउने राष्ट्र बैंकले सम्भावित समस्याको आकलन गर्न सकेको देखिँदैन ।
पछिल्लो समय बैंकहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढ्दो छ । बैंकहरूको नाफा घट्दै गएको छ । बैंकहरूको नाफा र शेयर मूल्य पनि घटेको छ । बैंकहरूको नाफा लगानीको आधारमा हुन्छ । लगानी बढाउन ठूला बैंक आवश्यक हुन्छ । अब ठूला ठूला बैंक बन्ने लहर चलेको छ र बैंकको संख्या उल्लेख्य घटेको छ । संख्या विस्तारको रणनीति लिएको राष्ट्र बैंक अहिले संख्या घटाउन मरिहत्ते गरेर लागिपरेको छ । सरकारी तीनओटा र निजी चार/पाँचओटा मात्रै बैंक बाँकी रहने गरी मर्जरमा जान बाध्य पार्न सक्छ । त्यस्तै बैंकहरूमा पनि कसरी आफू ठूलो बन्ने भन्ने प्रतिस्पर्धा छ । नबिल, ग्लोबल, एनआइसी एशिया, हिमाल, प्रभु जस्ता केही बैंकलाई पूँजीको हिसाबले ठूलो बन्ने रहर छ । आफूलाई हरेक तरहले अब्बल बनाउन प्रतिस्पर्धा चल्दा बैंकको संख्या सीमित हुन सक्छ र त्यसले वित्तीय बजारमा एकाधिकार जमाउन सक्छ । राष्ट्र बैंकले नियमन गर्न नसक्ने आकारका बैंक भए अथवा राष्ट्र बैंकलाई तिनले टेरेनन् भने सम्भावित परिणाम भयावह देखिन्छ ।
बैंक ठूला भए पनि त्यसको अनुपातमा कमाउन सकेका छैनन् । त्यसैले शेयरधनीले प्राप्त गर्ने लाभांश कम हुँदै गएको छ । यसले शेयरबजारलाई समेत प्रभावित पारेको छ । अहिले त बैंकले राम्रो ब्याज दिएका छन् र समस्या छैन । भोलि ब्याजदर घटाउन प्रतिस्पर्धा हुँदा त्यसबाट पूँजी पलायनको तीव्रता निकै बढ्नेछ । त्यसमा सम्बद्धको ध्यान जाओस् ।
रोहन तिवारी
ट्यांग्लाफाँट, कीर्तिपुर ।