ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

७४ प्रतिशतले घट्यो चिनी आयात

२०७९ पुस, ३०  
समाचार उपभोक्ता
Tvs Raider Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पछिल्लो ५ महीनामा चिनीको आयात स्वाट्टै घटेको देखिएको छ । भारतले गत जेठ दोस्रो साता चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा यसको आयात घटेको हो ।

भारतले रूस–युक्रेन युद्धका कारण अन्तरराष्ट्रिय आपूर्ति शृंखला बिग्रिएसँगै आन्तरिक बजारमा मूल्य बढ्न सक्ने औंल्याएर चिनी निकासीमा रोक लगाएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार गत आवको मङ्सिरसम्म नेपालमा कुल ३ अर्ब ६१ करोड २१ लाख रुपैयाँको ७४ हजार ३३८ मेट्रिक टन चिनी आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा चालू आवको सोही अवधिमा आयात परिमाण ५५ हजार ३३८ मेट्रिक टनले घटेको छ । यस वर्ष साउनदेखि मङ्सिरसम्ममा १ अर्ब ४ करोड ५४ लाख रुपैयाँको १९ हजार २४ मेट्रिक टन मात्रै चिनी आयात भएको छ ।

नेपालमा मासिक २५ हजार मेट्रिक टन हाराहारी चिनी खपत हुने गरेको सरकारी तथ्यांक छ । नेपालको आन्तरिक उत्पादनले ६–७ महीनाको बजार माग मात्रै धान्ने सरोकारवाला बताउँछन् । नेपालमा गतवर्ष झन्डै १ लाख २७ हजार मेट्रिक टन चिनी उत्पादन भएको तथ्यांक छ । यस वर्ष भने भर्खरै मात्र चिनी मिलहरूले उखु क्रशिङ शुरू गरेका छन् ।

भारतले हालसम्म पनि औपचारिक रूपमा चिनी निर्यात खुला गरेको छैन । नेपालमा आयात हुने चिनीको ठूलो अंश भारतबाटै आउने गर्छ । तर, भारतले निर्यातमा प्रतिबन्ध लगाएको लामो समय भइसक्दा पनि बजारमा चिनी अभाव नभएको व्यापारी बताउँछन् ।

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार भारतीय प्रतिबन्ध र सरकारी कम्पनीलाई सरकारले चिनी आयातको अनुमति नदिनु नै औपचारिक माध्यमबाट चिनी आयात घट्नुको प्रमुख कारण हो । सरकारी अनुदानको चिनी आयात तथा विक्री वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनले आयातको अनुमति नपाएको वर्ष दिनभन्दा धेरै भइसकेको छ ।

आयात परिमाण आधाभन्दा धेरैले घट्दा पनि बजारमा चिनीको अभाव नदेखिएको उनले बताए । त्यस हिसाबले भारतीय सीमाका व्यापारीसँगको मिलेमतोमा अवैध रूपमा नेपालमा चिनी भित्रिएको हुन सक्ने उनको अनुमान छ । अन्य व्यापारी पनि तुलाधरको जस्तै अनुमान गर्छन् ।

खुद्रा व्यापार संघका अनुसार १ वर्षको अवधिमा चिनीको खुद्रा मूल्य १८ रुपैयाँसम्मले वृद्धि भएको छ । गतवर्षको मङ्सिरमा प्रतिकिलो चिनीको खुद्रा मूल्य ८२ रुपैयाँ रहेकोमा अचेल सय रुपैयाँ पुगिसकेको छ ।

नेपालको पश्चिम क्षेत्रबाट ठूलो परिमाणमा भन्सार छलेर चिनी भित्रिएका कारण भन्सारको तथ्यांकमा आयात घटेको देखिए पनि बजारमा अभाव नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले आशंका गरे । भारत विश्वकै दोस्रो ठूलो चिनी उत्पादक मुलुक भएकाले भारतीय प्रतिबन्धको प्रभाव नेपालमा परेको स्पष्ट रूपमा देखिएको मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले बताइन् । नेपाली बजारमा चिनी अभाव भएको भए पाकिस्तानलगायत देशबाट आयात गर्ने वा गहुँकै जसरी कोटा तोकेर भारतबाट आयात गर्ने विषयमा छलफल भए पनि अभाव नदेखिएपछि त्यततर्फ ध्यान नदिइएको उनले जानकारी दिइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro