काठमाडौं । लामो सयमसम्म सुस्ताएको घरजग्गा कारोबारले बिस्तारै गति लिन थालेको छ । कारोबारमा मन्दी आएको करीब एक वर्षपछि घरजग्गा बजारमा चहलपहल बढेको देखिएको छ ।
देशको समग्र अर्थतन्त्रका सूचकमा आएको सकारात्मक परिवर्तन सँगसँगै घरजग्गा बजारमा पनि सकारात्मक प्रभाव परेको देखिन्छ ।
६ महीनाको मात्रै वस्तु तथा सेवा आयात धान्ने अवस्थामा आइपुगेको विदेशी मुद्राको सञ्चिति अहिले करीब ९ महीनाको वस्तु तथा सेवा आयात धान्ने अवस्थामा पुगेको छ । विदेशी मुद्राको सञ्चिति करीब १३ खर्ब रुपैयाँ पुगेको छ ।
रेमिट्यान्स आउने क्रम बढेर मङ्सिरमा १ खर्ब रुपैयाँ नाघेको छ । मङ्सिरमा आएको रेमिट्यान्स १ खर्ब २ अर्ब रुपैयाँभन्दा बढी छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशतले बढी हो ।
रेमिट्यान्स बढेसँगै बैंकिङ क्षेत्रमा तरलता पनि सहज हुन थालेको छ । तरलता सहज भएसँगै बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर पनि घटाइसकेका छन् ।
अर्थतन्त्रका सूचकमा आएको सुधारले शेयर बजारदेखि घरजग्गा कारोबारमा पनि सकारात्मक प्रभाव पारेको छ । १८ सय विन्दुमा झरिसकेको शेयर बजार परिसूचक नेप्से अहिले २२०० विन्दु पुगेर अहिले २१५० विन्दुमा छ ।
घरजग्गा बजारमा पनि मासिक कारोबार २२ हजारमा झरिसकेको किनबेच बढेर अहिले ३५ हजार पुगेको छ । अर्थतन्त्रमा सुधार हुँदै गएर ब्याजदर घट्यो भने घरजग्गा किनबेच पनि बढ्ने व्यवसायीहरू बताउँछन् ।
यस्तो पछिल्लो ३ महीनाको कारोबार
गत कात्तिकमा महीनाभर जम्मा २२ हजार घरजग्गा मात्रै किनबेच भएका थिए । यसबाट १ अर्ब ८८ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको थियो । मङ्सिरमा यो संख्या बढेर २९ हजार माथि पुगेको थियो । मङ्सिरमा कारोबार संख्यामा सुधार आए पनि राजस्वमा भने सुधार हुन सकेको थिएन ।
मङ्सिरमा २९ हजार घरजग्गा किनबेचबाट १ अर्ब ४४ करोड रुपैयाँ मात्रै रजिष्ट्रेशन शुल्क संकलन भएको थियो ।
तर, पुसमा भने २६ गतेसम्मको तथ्याङ्कमै ३५ हजार हाराहारी घरजग्गा किनबेच भइसकेका छन् । २६ गतेसम्ममा १ अर्ब ८० करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क पनि संकलन भइसकेको छ । थप दुई दिन राम्रो कारोबार भएमा पछिल्लो ३ महीनायताकै सर्वाधिक किनबेच र राजस्व संकलन हुनसक्ने भूमि व्यवस्थापन विभागको आशा छ ।
पछिल्लो ३ वर्षको कारोबार
यो वर्ष मङ्सिर र पुसमा कारोबारमा सुधार आएको देखिए पनि यो गत वर्ष र अघिल्लो वर्षको यही अवधिको तुलनामा भने आधा मात्रै हो ।
घरजग्गा बजारको पीक समय भनेकै मङ्सिरदेखि माघसम्म हो । पछिल्लो ३ वर्षको तथ्याङ्क हेर्दा गत वर्षसम्म सिजनमा सर्वाधिक घरजग्गा किनबेच भएको देखिन्छ । तर, यो वर्ष भने कारोबार संख्या विगतको तुलनामा आधाभन्दा पनि कम छ ।
२०७७ मङ्सिरमा ६१ हजार घरजग्गा किनबेच हुँदा करीब ३ अर्ब रजिष्ट्रेशन शुल्क संकलन भएको थियो । २०७८ मङ्सिरमा ६९ हजार घरजग्गा किनबेचबाट ४ अर्ब २२ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको थियो ।
तर, २०७९ मङ्सिरमा भने २९ हजार घरजग्गा किनबेचबाट १ अर्ब ४४ करोड रुपैयाँ मात्र रजिष्ट्रेशन शुल्क संकलन भएको थियो । यसको अर्थ यो वर्ष मङ्सिरमा कारोबार संख्या बढे पनि विगतका वर्षहरूको तुलनामा निकै कम हो ।
त्यस्तै २०७७ पुसमा ७६ हजार घरजग्गा किनबेच हुँदा ३ अर्ब ७५ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको थियो । २०७८ पुसमा ७० हजार घरजग्गा किनबेभ हुँदा ४ अर्ब ११ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको थियो ।
तर, २०७९ पुसमा भने ३५ हजार घरजग्गा किनबेचबाट करीब २ अर्ब ( पुस २६ गतेसम्म १ अर्ब ८० करोड) रुपैयाँ मात्रै रजिष्ट्रेशन शुल्क संकलन भएको छ । यो तथ्याङ्कले पनि विगतका वर्षको तुलनामा पुसमा पनि आधाभन्दा कम मात्रै कारोबार भएको देखाउँछ ।
यसरी हेर्दा यो वर्ष कात्तिकपछि घरजग्गा कारोबारमा निरन्तर सुधार आउँदै गरेको भए पनि यो विगतका वर्षहरूमा जस्तै अवस्थामा कहिले पुग्छ भन्ने कुरा भोलिका दिनमा बैंकिङ प्रणालीमा उपलब्ध हुने तरलता र रेमिट्यान्स आप्रवाहले नै निर्धारण गर्नेछ ।