ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

कसले खिचेका थिए पोखरा विमान दुर्घटनाको भाइरल भिडियो ? ‘खिचेको ५ सेकेण्डमै दुर्घटना’

२०७९ माघ, २  
समाचार
Tvs Raider Image Not Found
तस्वीर सौजन्य : दिवस बोहरा
author avatar उत्तम ओझा

काठमाडौं । मार्केटिङका लागि पोखरा डेरा गरी बस्दै आएका काठमाडौं, स्वयम्भूका दिवस बोहरा आइतवार बिहान १०ः५० बजे कौशीमा घाम तापिरहेका थिए । घाम ताप्न बस्दै गर्दा उनले आकाशमा यती एयरलाइन्सको एटीआर–७२ विमान देखे । उक्त विमान पोखरा विमानस्थलमा अवतरणको तयारीमा थियो ।

उनले हत्तपत्त मोबाइलको क्यामेरा अन गरे । र, विमानतर्फ सोझ्याए । यात्राबारेको आफ्नो युट्युब च्यानल ‘च्यानल डी’का लागि भिडियो खिच्दै थिए उनी । तर, भिडियो खिचेको ५ सेकेण्डमै विमान दुर्घटना भयो । 

विमान दुर्घटना भएको देखेपछि आफू निकै अत्तालिएको उनले सुनाए । ‘भिडियो खिच्न थालेको ५ सेकेण्डमै विमान दुर्घटना भएपछि त मेरो होसै उड्यो । क्यामेराको एंगल त कता पुग्यो कता,’ उनले सुनाए । यसरी विमान दुर्घटना होला भन्ने आफूले कहिल्यै नचिताएको उनले सुनाए । 

उनको मोबाइलमा यती विमान दुर्घटनाको १० सेकेण्डको भिडियो कैद भएको छ । उनले खिचेको भिडियोको ५ सेकेण्डपछिको दृश्य हेर्दा उनी अत्तालिएको प्रष्ट बुझिन्छ । ५ सेकेण्डअघिसम्म आकाशको दृश्य देखिएको भिडियोमा त्यसपछि भुइँतिर दृश्य देखिएको छ । 

भिडियो खिचेको केही समयपछि उनले आफ्नो युट्युब च्यानल र आफ्नो फेसबुक प्रोफाइलको ‘रिल’मा भिडियो अपलोड गरे । उनले यसअघि पनि आफ्नो युट्युब च्यानलमा बुद्ध र यती एयरलाइन्सको विमानले उडान तथा अवतरण गर्दै गरेको भिडियो अपलोड गरेका थिए । 

तर, आइतवार खिचेको भिडियोमा विमान झर्दै गरेको दृश्य कैद भएपछि उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । देशविदेशका न्युज एजेन्सीले प्रयोग गरे । ‘कतिले भिडियो कर्टेसी दिए । कतिले अनुमतिबिनै प्रयोग गरे,’ उनले सुनाए, ‘कान्तिपुर, शिलापत्रलगायत न्युज पोर्टलले पनि अनुमतिबिनै मैले खिचेको भिडियो प्रयोग गरे ।’ 

अनुमतिबिनै भिडियो प्रयोग गर्ने कम्पनीले मिडियाको सामान्य नम्स पनि पालना नगरेकोमा उनी दुःखी छन् । ‘कम्तीमा मलाई एकपटक सोधेर प्रयोग गर्दा पनि हुन्थ्यो नि । कि त भिडियो कर्टेसी दिँदा पनि हुन्थ्यो । तर, यसो गर्न कसैले आवश्यक ठानेनन्,’ उनले भने, ‘केहीले त अनधिकृत रुपमा भिडियो ‘इडिट’ गरेर प्रयोग गरे ।’ 

मिडिया आचारसंहितामा अरु व्यक्तिले खिचेको फोटो, भिडियो प्रयोग गर्दा अनुमति लिनुपर्ने र फोटो/भिडियो कर्टेसी दिनुपर्ने प्रावधान छ । 

विदेशी न्युज एजेन्सीले भने अनुमति लिएर उक्त भिडियो प्रयोग गरेको उनले सुनाए । त्यसका लागि केहीले ‘कन्टेन्ट युज पर्मिसन लेटर’ समेत पठाएको उनको भनाइ छ । भिडियो खिचेपछि विदेशका विभिन्न न्युज एजेन्सीले आफूसँग अन्तरवार्ता लिएकोसमेत उनले बताए । ‘केहीले विमान दुर्घटना भएपछिको अनुभूतिबारे सोधे त केहीले प्लेन चढ्ने/नचढ्नेबारे प्रश्न गरे,’ उनले भने ।

जवाफमा आफूले उनीहरूलाई दुर्घटनाले निकै पिरोलेको बताएको उनले सुनाए । प्लेन चढ्ने/नचढ्नेबारेको प्रश्नमा आफूले आपतकालीन् अवस्थामा प्लेन चढ्ने सुनाएको उनले बताए । 

यसअघि उनी चाहान्थे– आफ्नो युट्युब च्यानलको भिडियो भाइरल बनोस् । तर, यो पटक भिडियो भाइरल बन्दा पनि उनी खुसी छैनन् । कारण– त्यो भिडियो विमान दुर्घटनाको थियो । दुर्घटनाका कारण उनी दुःखी बनेका छन् । त्यसो त दुर्घटनाले समस्त नेपालीलाई शोकमग्न बनाएको छ । 

चालक दलका ४ जना सदस्यसहित ७२ जना सवार रहेको नाइन एन–एएनसी एटीआर ७२–५०० कलसाइनको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ६७ जनाको मृत्यु पुष्टि भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । सरकारले उक्त दुर्घटनाको शोक मनाउन सोमवार (आज) बिदा दिएको छ । 

उनी चाहान्छन्- यस्तो दुर्घटना कहिल्यै देख्न/सुन्न नपरोस् । कहिल्यै यस्तो भिडियो खिच्न नपरोस् !

हेर्नुहोस् भिडियो

 

यती एयरलाइन्सको विमान दुर्घटनाको समाचार ब्रेक गर्दा...

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro