काठमाडौं । भारतमा गएको महीना थोक मुद्रास्फीति घटेको छ । केन्द्रीय वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा सन् २०२२ को डिसेम्बरमा मुद्रास्फीति ४ दशमलव ९५ प्रतिशतमा झरेको छ । खाद्य वस्तु, लत्ता कपडा, कच्चा तेल आदिको भाउमा आएको कमीका कारण थोक मूल्यमा आधारित महँगी (डब्ल्यूपीआई) घटेको हो ।
डब्ल्यूपीआई यो स्तरमा यस अघि झन्डै २ वर्ष अघि थियो । गएको महीना डब्ल्यूपीआई सन् २०२१ को फेब्रुअरीयता पहिलो पटक ५ प्रतिशत तल आएको छ । नोभेम्बरमा डब्ल्यूपीआईमा आधारित महँगी ५ दशमलव ८५ थियो भने । सन् २०२१ को डिसेम्बरमा यो दर १४ दशमलव २७ प्रतिशत थियो । अघिल्लो महीनाको तुलनामा डब्ल्यूपीआईमा आएको कमी नोभेम्बरको तुलनामा माइनस १ दशमलव १२ प्रतिशत रहेको छ ।
नोभेम्बरमा २ दशमलव १७ प्रतिशत रहेको खाद्य वस्तुको महँगी डिसेम्बरमा शून्य दशमलव ६५ प्रतिशतमा झरेको छ । कच्चा पेट्रोलियम र प्राकृतिक ग्यासमा पनि थोक मुद्रास्फीति नोभेम्बरको ४८ दशमलव २३ प्रतिशतबाट घटेर डिसेम्बरमा ३९ दशमलव ७१ प्रतिशतमा आएको छ । इन्धन र ऊर्जामा मुद्रास्फीति भने अघिल्लो महीनाको १७ दशमलव ३५ प्रतिशतबाट बढेर १८ दशमलव शून्य ९ प्रतिशतमा उक्लिएको छ ।
गएको महीना मुद्रास्फीति घट्नुको मुख्य कारण खाद्य वस्तु, खनिज तेल, कच्चा पेट्रोलियम र प्राकृतिक ग्याँस, खाद्य सामाग्री, पोशाक र केमिकल तथा केमिकल प्रडक्टको भाउमा आएको कमी भएको बताइएको छ । सो अवधिमा म्यानुफ्याक्चरिङ, प्रिन्टिङ र रेकर्डेड मिडिया, विद्युतीय उपकरण, फर्निचर पेय पदार्थ आदिमा थोक महँगी भने बढेको छ ।
उत्पादित वस्तुको महँगी डिसेम्बरमा ३ दशमलव ३७ प्रतिशत छ । डिसेम्बरमा खुद्रा मुद्रास्फीति भने ५ दशमलव ७ प्रतिशतमा आएको छ । यो एक वर्ष यताकै न्यून हो । आरबीआईले सहन सक्ने भनेर तोकेको स्तरभित्र खुद्रा मुद्रास्फीति आएको यो लगातार दोस्रो महीना थियो । पछिल्लो समय भारतले मुद्रास्फीति नियन्त्रणमा बढी चासो दिइरहेको छ ।
भारतमा थोक मुद्रास्फीति घट्दा त्यसको लाभ नेपाली उपभोक्ताले पनि पाउँदै आएका थिए । तर पछिल्लो १ वर्षयता भने नेपालमा भारतको भन्दा निकै बढी महँगी छ ।
यो पनि पढ्नुहोस
एक वर्षयता भारतभन्दा नेपालमा महँगी उच्च, किन घट्दैन नेपालमा महँगी ?
एजेन्सी