काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गते (मंगलवार) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँट गरेको कम्पनीले बाँकी शेयरमध्ये पनि ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ ।
अब २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याएर बाकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो ।
यो आईपीओ खरीदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । छिटोमा माघ ६ गतेसम्म विक्री खुला हुने मिति तय गरिएको छ भने छिटोे अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा ढिलोमा माघ १७ गतेसम्म विक्री अवधि लम्बिनेछ । तर सर्वसाधारणमा आईपीओ निष्कासन हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको तथ्याङ्कलाई हेर्दा कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्री खुला हुने निश्चित छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहबाट पनि आवेदन दिन सक्नेछन् ।
यस कम्पनीले दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३ हजार ८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केवलकार सञ्चालन गरिरहेको छ ।
कम्पनीले २०७५ कात्तिक १७ गतेदेखि व्यवसायिक रुपमा केबुलकार सञ्चालन गर्दै आएको हो । केबुलकारसँगै कम्पनीले होटल तथा रिसोर्ट र एम्यूजमेन्ट पार्क लगाएतका परियोजना सञ्चालन गर्न नेपाल सरकारबाट स्वीकृति पाएको छ । कम्पनीको अधिकृत पूँजी ७५ करोड रूपैयाँ रहेको छ भने जारी पूूँँजी ६० करोड रूपैयाँ रहेको छ ।
संस्थापकतर्फ ४८ करोड रूपैयाँ चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणलाई आईपीओ जारी पछि चुक्तापूँजी ६० करोड रूपैयाँ कायम हुनेछ । आर्थिक वर्ष २०७७/ ७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ६ करोड ४४ लाख ५८ हजार रूपैयाँ सञ्चित नोक्सानीमा रहेको छ ।
गत आर्थिक वर्ष २०७८/ ७९ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी ५ करोड ११ लाख ६६ हजारभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । वास्तविक वित्तीय विवरण अनुसार ७८ रूपैयाँ १५ पैसा प्रतिशेयर नेटवर्थ रहेको कम्पनी २ रूपैयाँ ५३ पैसा प्रतिशेयर नोक्सानी रहेको छ ।