ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

वाणिज्य बैंकहरूको घरकर्जा ब्याजदर ९ प्रतिशतदेखि माथि

२०७९ माघ, ३  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । वाणिज्य बैंकहरूले घर निर्माण तथा खरीदका लागि सर्वसाधारणलाई उपलब्ध गराउने घरकर्जा (होमलोन) को ब्याजदर वार्षिक ९ प्रतिशतभन्दा माथि पुगेको छ । तरलताको दबाबसँगै बैंकहरूले ब्याजदर वृद्धि गरी निक्षेप संकलन गरेपछि लागत बढेर आधारदरसँगै ब्याजदर महँगो भएको हो ।

बैंकहरूले माघ महीनाका लागि प्रकाशित गरेको ब्याजदरमा घरकर्जाको वार्षिक ब्याज ९ देखि १५ दशमलव ५० प्रतिशतसम्म छ । घरकर्जामा सबैभन्दा सस्तो ब्याजदर ‘अफर’ गर्नेमा नेपाल बैंक लिमिटेड रहेको छ  । बैंकहरूले आधारदरमा प्रिमियम जोडेर ब्याजदर तोक्छन् । यी दुवै जोड्दा जसको कम हुन्छ, उसैको ब्याजदर थोरै हुन्छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले कर्जा योजनामा स्थिर र आधारदरका आधारमा परिवर्तन हुने ब्याजदर प्रकाशित गर्दै आएका छन् । स्थिर ब्याजदर योजनामा कर्जा अवधिभर एउटै ब्याजदर कायम हुन्छ । आधारदरका आधारमा लिने ब्याजदरमा भने प्रत्येक त्रैमासमा आधारदर बढ्दा ब्याजदर बढ्ने र घट्दा घट्ने हुन्छ । आधारदरमा बैंकहरूले जोड्ने प्रिमियम कर्जा स्वीकृत गर्दा तय हुन्छ र यो परिवर्तन गर्न पाइँदैन ।

कृषि विकास बैंकले न्यूनतम ८ दशमलव ९५ प्रतिशत स्थिर ब्याजदरमा घरकर्जा उपलब्ध गराउँदै आएको छ । यस्तै स्थिर ब्याजदरको घरकर्जा योजनामा सबैभन्दा उच्च लक्ष्मी र एनआईसी एशिया बैंकले अधिकतम १५ दशमलव ९९ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।

आधारदरका आधारमा परिवर्तन हुने कर्जा योजनाहरूमा भने अधिकांश बैंकले ६ प्रतिशतसम्म प्रिमियम जोडिने बताएका छन् । वाणिज्य बैंकहरूको कर्जाको प्रिमियम अधिकतम ६ प्रतिशतसम्म कायम गर्न नेपाल बैंकर्स संघमा भएको सहमतिअनुसार ब्याजदर प्रकाशित गरिएको हो । हाल सञ्चालनमा रहेका २२ वाणिज्य बैंकमध्ये १५ ओटाले घरकर्जामा ६ प्रतिशतसम्म प्रिमियम रहेको उल्लेख गरेका छन् । नेपाल बैंकले भने सबैभन्दा कम न्यूनतम १ प्रतिशत प्रिमियममै घरकर्जा दिने बताएको छ ।

नेपाल राष्ट्र बैंकको ब्याजदरसम्बन्धी निर्देशनअनुसार बैंकहरूले हरेक महीना लागू हुने ब्याजदर अघिल्लो महीनाको अन्तिम दिन प्रकाशित गर्नुपर्छ । बैंकहरूले ब्याजदर प्रकाशित गर्दा आवधिक प्रकृतिका कर्जामा परिवर्तनीय र स्थिर दुवै ब्याजदर उल्लेख गर्नुपर्छ ।

स्थिर ब्याजदर योजनामा कर्जा अवधिभर बैंकहरूले तोकेको ब्याजदर परिवर्तन गर्न पाउँदैनन् । तर, ग्राहकसँगको लिखित सहमतिका आधारमा यस्तो योजनामा कर्जा प्रवाह भएको ७ वर्षमा पहिलोपटक र त्यसपछि प्रत्येक ५ वर्षमा ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था छ ।

यसैगरी परिवर्तनीय ब्याजदर कर्जा योजनामा भने बैंक, वित्तीय संस्थाले आफ्नो पूँजीको लागतमा शून्य दशमलव ७५ प्रतिशत नाफा समेत जोडेर आधारदर तय गर्ने र त्यसैमा निश्चित प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्ने प्रावधान छ । प्रत्येक त्रैमासिकमा बैंकको औसत आधारदर घट्दा कर्जाको ब्याजदर स्वत: घट्ने र बढ्दा स्वत: बढ्ने भए पनि एकपटक तोकेको प्रिमियम दर परिवर्तन गर्न पाइँदैन ।

निर्देशनमा बैंकहरूले ऋणीलाई दिइने कर्जाको ‘अफर लेटर’मै आधारदरमा थप गर्ने प्रिमियम दर स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था छ । यस्तो प्रिमियम कर्जाका लागि आवेदन प्राप्त हुँदाको बखत प्रकाशित प्रिमियम दरभन्दा बढी तय गर्न नपाइने व्यवस्था छ । बैंकहरूले हरेक महीना मसान्तमा आगामी महीनाको निक्षेपको ब्याजदरसँगै कर्जाका लागि प्रिमियम दरसमेत प्रकाशित गर्नुपर्ने प्रावधान छ  ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro