काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडमा नयाँ सञ्चालक समिति कायम भएको छ । कम्पनीको पुस २९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पाँच सञ्चालक निर्वाचित भएका थिए । सभाले आगामी चार वर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई नयाँ सञ्चालकमा निर्वाचित गरेको थियो । निर्वाचित नयाँ सञ्चालकहरूको पहिलो बैठकले गोरव गोयललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
हाल कम्पनीको एक जना स्वतन्त्र सञ्चालकसहित ६ सदस्यीय सञ्चालक समिति छ । पूर्वसचिव समेत रहेका चन्द्रकुमार घिमिरेलाई सञ्चालक समितिमा स्वतन्त्र व्यवसायिक विशेषज्ञको पदमा नियुक्त गरेको थियो । घिमिरेलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको निर्णयलाई समेत सभाले अनुमोदन गरेको हो ।
कम्पनीको सभा सामना होटल, मकवानपुरमा सम्पन्न भएको थियो । सभाले सञ्चालक निर्वाचनसँगै प्रस्तावित कुल १० दशमलव ५३ प्रतिशत नगद लाभांश समेत पारित गरेको थियो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४ अर्ब ४० करोडको आधारमा १० दशमलव ५३ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गरेकाले पुस १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र नगद लाभांश प्राप्त गर्नेछन् ।
यस वर्ष कम्पनीले हालसम्मकै कम लाभांश वितरण गरेको हो । पछिल्ला पाँच आर्थिक वर्षमा कम्पनीले वितरण गरेको लाभांशको तथ्याङ्कलाई हेर्दा कम्पनीले गत वर्ष हालसम्मकै उच्च लाभांश वितरण गरेको थियो । गत वर्ष कम्पनीले २९ प्रतिशत करसमेत लाभांश वितरण गरेको थियो ।