काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले भोलि बुधवार अर्थात् माघ ४ गतेदेखि आईपीओ निष्कासन गर्दै छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीको जारी पूँजी रू. ३ अर्ब ३३ करोड २५ लाखको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयका लागि विक्री गरिनेछ । कम्पनीले ३३ लाख ३२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो ।
स्थानीयका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका–१ तथा भिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका–५ तथा मैवाखोला गाउँपालिका–१ मा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङका बासिन्दाहरूका लागि १९ लाख ९९ हजार ५०० कित्ता शेयर निष्कासन गर्न गरिँदै छ ।
स्थानीयसँगै कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन हुने रू. ४९ करोड ९८ लाख ७५ हजार बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि विक्री गर्न लागेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली कामदारहरूले मात्र यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ । आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि माघ १८ गतेसम्म विक्री खुला हुनेछ । सो अवधिमा मागबमोजिम आवेदन नपरेमा फागुन ४ गतेसम्म आईपीओ विक्री खुला हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने माघ १८ गतेभित्र नै आवेदन दिनुपर्नेछ । विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले भने विक्री प्रबन्धकसँगै कम्पनीको कार्यालय धुम्बाराही काठमाडौं, आयोजना स्थल ताप्लेजुङ, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकको ताप्लेजुङमा रहेको शाखा कार्यालयबाट आवेदन प्राप्त गर्न र सोही बैंकमा बुझाउन सक्नेछन् ।
कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।
कम्पनीले ताप्लेजुङ जिल्लामा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यही आयोजना निर्माणका लागि कम्पनीले आईपीओ जारी गर्न लागेको हो ।