काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा ३ दशमलव ७६ गुणा बढी आवेदन परेको छ ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारीअनुसार मंगलवार कार्यालय अवधिसम्म २ लाख ८२ हजार २६८ जना आवेदकहरूले ३३ लाख ७० हजार ८९० कित्ता शेयर खरीदको लागि आवेदन दिएका छन् । कम्पनीले सार्वजनिक निष्कासनमार्फत ८ लाख ९६ हजार ४०० कित्ता शेयर विक्रीमा ल्याएको हो । पहिलो दिनमै मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ छिटो अवधि माघ ६ गतेसम्म मात्र विक्रीमा रहनेछ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गरेको हो । सार्वजनिक निष्कासनमार्फत विक्री गरिने शेयर ८९ हजार ६४० जना योग्य आवेदकहरूले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले हात पार्नेछन् ।
कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।
सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँट गरीे बाँकीमध्ये पनि ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि छुट्याएर बाँकी शेयर सर्वसाधारणमा विक्री खुला गरिएको हो ।
यो आईपीओ खरीदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर निष्कानि तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीले दोलखा जिल्लाको सदरमुकाम चरीकोटबाट करीब १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३ हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केबलकार सञ्चालन गरिरहेको छ । कम्पनीले २०७५ कात्तिक १७ गतेदेखि व्यावसायिक रूपमा केबलकार सञ्चालन गर्दै आएको छ । केबलकारसँगै कम्पनीले होटल तथा रिसोर्ट र एम्युजमेन्ट पार्कलगायत परियोजना सञ्चालन गर्न नेपाल सरकारबाट स्वीकृति पाएको छ ।
संस्थापकतर्फ ४८ करोड रूपैयाँ चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणलाई आईपीओ जारी पछि चुक्तापूँजी ६० करोड रूपैयाँ कायम हुनेछ । आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी ६ करोड ४४ लाख ५८ हजार रूपैयाँ सञ्चित नोक्सानीमा रहेको छ । गत आर्थिक वर्ष ०७८/७९ को अपरिष्कृत वित्तीय विवरणअनुसार भने कम्पनी ५ करोड ११ लाख ६६ हजारभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । वास्तविक वित्तीय विवरणअनुसार ७८ रूपैयाँ १५ पैसा प्रतिशेयर नेटवर्थ रहेको कम्पनी २ रूपैयाँ ५३ पैसा प्रतिशेयर नोक्सानी रहेको छ ।