बोटभरि लटरम्म स्याउ फलेको छ । भाँचिने डरले हाँगैपिच्छे टेवा लगाइएको यो स्याउ चाख्न नेपालीले मुस्किलले पाउँछन् । असोज महिनाको प्रारम्भसँगै विदेशी पर्यटक आउने भएकाले उनीहरूलाई चखाउन स्याउ नटिपी राखिएको स्थानीयवासी बताउँछन् ।
सदरमुकामदेखि तीन दिन पैदलको दूरीमा रहेको उत्तरी लेलेप गाविसस्थित हिमाली गाउँ ग्याव्लामा १ सयभन्दा बढी बोटमा लटरम्म स्याउ फलेको छ । पाखाभरि फलेका स्याउले गाउँबस्ती नै रमाइलो बनाएको छ । विगत चार पाँच वर्षदेखि यसरी नै फल्दै आएको स्याउ अहिलेसम्म निरन्तर विदेशी पर्यटकले उपभोग गर्दै आएका छन् । ‘फेदीबाट धापिएर आएका विदेशीले स्याउ देखेपछि खुशी हुँदै पहिला फोटो खिच्छन् अनि स्वाद चाख्छन्,’ स्थानीय वाङ्दी शेर्पाले भने । शेर्पाका अनुसार कतिपय पर्यटकले त स्याउसँग रमाएर एक दिन गाउँको बसाइ लम्ब्याउने पनि गरेका छन् । साँझमा आइपुगेका पर्यटकले एक दाना चाख्ने अनि भोलिपल्ट घाम लागेपछि वरिपरि बसेर मीठो मानेर खाने उनले बताए । विदेशीले फोटोसँगै स्याउ बोकेर पनि लैजाने गरेको अर्का स्थानीय गुलिक शेर्पाले बताए । गुलिकका अनुसार पर्यटकलाई प्रति किलोग्राम ३ सय रुपैयाँका दरले स्याउ विक्री गरिन्छ ।
वर्ष ६, अंक २९, बुधवार, २० असोज २०६७