काठमाडौं । पोखरामा आइतवार भएको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ । एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सचिव सुरेश अधिकारीले फ्रान्सबाट निर्माता कम्पनीको टोली नेपाल आइपुगेको जानकारी दिए । ‘एटीआर निर्माता कम्पनीबाट काठमाडौं आएको नौ सदस्यीय विज्ञ टोली मंगलवार नै पोखरा पुगिसकेको छ,’ उनले भने, ‘विमान दुर्घटनापछि राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा चासो बढेको छ ।’
सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिसकेको छ । आयोगका सदस्यमा हवाई विज्ञका रूपमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा र हवाईविज्ञ एकराज जंग थापा छन् । आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । आयोगले जाँचको काम शुरू गरिसकेको बताएको छ । रासस