तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्थानीय स्रोत र शीपलाई उत्पादनसँग जोड्न घरेलु उद्योग सञ्चालनमा ल्याउने भएको छ । स्थानीयस्तरमा कृषि लगायत वस्तु उत्पादन तथा प्रशोधन गर्न गाउँपालिकाले रू. दुई करोड लगानीमा उद्योग स्थापना गर्न लागेको हो । गाउँपालिकाको मार्किचोकस्थित मस्र्याङ्दी बाँध नजिकै उद्योग स्थापनाका लागि गण्डकी प्रदेश सरकारसँग सम्झौता गरी प्रक्रिया अघि बढाएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । गाउँपालिकाले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी परियोजनाअन्तर्गत एकीकृत उद्यम विकास केन्द्र सञ्चालन गर्ने भएको छ । स्थानीय स्रोतबाट प्राप्त हुने कच्चापदार्थ र समुदायसँग भएको शीपलाई उत्पादनसँग जोड्दै स्थानीय बासिन्दाको आयस्रोत बढाउने नीति लिइएको उनले बताए । रासस