काठमाडौं । नेपाली कांग्रेसले अन्य दलहरूसँग छलफल गरेर प्रतिनिधिसभा सभामुखको निर्वाचनमा लाग्ने बताएको छ । बुधवार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सभामुखको लागि उम्मेदवारी दर्ता गर्ने केही समय अझै बाँकी रहेकाले यो बीचमा अन्य दलहरूसँग छलफल गरेर सभामुखको उम्मेदवारी दिने तयारीमा रहेको पार्टी प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिकै आधारमा संवैधानिक पदहरू चयन गर्ने आश्वासन दिएकाले प्रधानमन्त्रीको आधिकारिक धारणा कुर्ने पक्षमा कांग्रेस रहेको उनको भनाइ छ ।
उनले अन्य दलहरूसँगको छलफलबाट निष्कर्ष आएपछि कांग्रेसले दलहरूसँग गरेको सहमतिका आधारमा सभामुखको लागि उम्मेदवारी दिने बताए । कांग्रेस समझदारीबाट भए समझदारीकै रूपमा अघि बढ्ने र समझदारीबाट नभए उम्मेदवारी दिने पक्षमा रहेको उनले जानकारी दिए ।
‘हामी जसपा, एकीकृत समाजवादीसँग पनि कुरा गर्छौं, प्रधानमन्त्रीको पार्टीसँग पनि छलफल गर्नेछौं । अन्तिम कुरा पनि बाँकी नै छ । अन्य सहयोगी दलहरूसँग छलफल गर्नेछौं र त्यसका हिसावमा हामी उम्मेदवारी दिन्छौं । समझदारीबाट बढ्दा एक किसिमले र नहुँदा अर्को किसिमबाट अघि बढ्छौं,’ उनले भने ।
उनले आफूहरूसमझदारीमा निष्कर्ष निस्कियोस् भन्ने पक्षमा रहेको बताए । ‘किनभने यी पदहरू संवैधानिक पद हुन्, संविधानको रक्षा गर्नुपर्ने हुन्छ । त्यसैले प्रधानमन्त्रीले केही समय माग्नुभएको छ । त्यसलाई पनि हामी पर्खिनेछौं,’ उनले भने ।
प्रवक्ता महतले जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) कांग्रेसलाई सहयोग गर्ने पक्षमा रहेको स्पष्ट पारे ।