नेपालको ७ सय मीटरभन्दा कम उचाइको भूभागमा अब वर्षैभरि भुइँकटहर उत्पादन गर्न सकिने भएको छ । त्यसका लागि एथरेल नामक औषधि प्रयोग गर्नुपर्ने नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक केशव घिमिरेले बताए । उनका अनुसार उक्त औषधिको प्रयोगबाट भुइँकटहरको बिरुवा रोपेको १६ महिनामा फल खानयोग्य हुन्छ । भुइँकटहरको बिरुवालाई सकर भनिन्छ । यो फल अहिले वैशाखदेखि असोजसम्म मात्र उत्पादन हुने गर्छ ।
सामान्यतया रोपेका ३० महिनामा मात्र भुइँकटहर खानयोग्य हुन्छ । हाल नेपालमा यसको व्यावसायिक खेती गर्ने किसान अत्यन्त कम छन् । औषधि प्रयोगको प्रभावकारिता थाहा पाएपछि यसको खेतीतर्फ किसान आकर्षित हुने घिमिरेको विश्वास छ ।
वैज्ञानिक घिमिरेले भुइँकहटर वर्षैभरि उत्पादन गर्न सिँचाइ सुविधा भएका क्षेत्रमा ४/४ महिनाको फरकमा वर्षमा तीन पटक सकर रोप्नुपर्ने र रोपेको एक वर्ष पुगेपछि २५ वा ५० पी.पी. एम.को इथरेल ५० मिलिमीटर भुइँकटहरको गुबामा हाल्नुपर्ने जानकारी दिए । उनका अनुसार औषधिको प्रयोग साँझ ८ देखि बिहान ४ बजेसम्मको अँध्यारो समयमा नै गर्नुपर्छ । २५ पी.पी.एम. हालेको भुइँकटहरको फूल २ महिनामा र ५० पी.पी.एम. हालेको भुइँकटहरको फूल १ महिनामा फुल्छ । उनले भने, ‘फूल फुलेको बढीमा ७० दिनमा भुइँकटहर खानयोग्य हुन्छ ।’
वर्ष ६, अंक २९, बुधवार, २० असोज २०६७