काठमाडौं । मीरा बायोटेक प्रालिले प्रत्यक्ष विदेशी लगानी (एफडीआई)को रूपमा दक्षिण कोरियाको माइबायो कम्पनीबाट थप लगानी ल्याउने भएको छ ।
गतवर्ष निजी इक्विटी इन्भेस्टमेन्ट कम्पनी बिजनेश अक्सिजन प्रालि (बीओ–टू)ले मीरा बायोटेकमा १० करोड रुपैयाँ बराबरको लगानी गरेको थियो । यसपटक भने माइबायोले ५ करोड रुपैयाँ बराबरको लगानी गर्ने भएको हो ।
सन् २०१४ मा स्थापित मीरा बायोटेक दक्षिण कोरियाको युबायोलोजिक्स (ईयूबी) कम्पनीको प्राविधिक सहकार्यमा सञ्चालनमा आएको हो ।
ईयूबीले मीरा बायोटेकलाई विश्व स्वास्थ्य संगठनको कुशल उत्पादन अभ्यास (डब्लूएचओ–जीएमपी) अनुसार प्लान्टको डिजाइन, उत्पादन तथा प्रमाणीकरणमा प्राविधिक सहयोग गर्दै आएको छ ।
मीरा बायोटेकले औषधि व्यवस्था विभागबाट अनुमति लिएर ३० भन्दा बढी औषधि उत्पादन तथा विक्रीवितरण गर्दै आएको छ । कम्पनीले निकट भविष्यमा आफ्नो उत्पादन निर्यात गर्ने योजना समेत बनाएको जानकारी दिइएको छ ।
सन् २०१८ मा दक्षिण कोरियाको सियोलमा स्थापना भएको माइबायो इन्भेस्टमेन्ट कम्पनी हो । कम्पनीले दक्षिण कोरियामा व्यवसाय व्यवस्थापनका साथै परामर्श सेवा पनि दिँदै आएको छ । ईयूबीसँगको सम्बन्धका आधारमा माइबायोले मीरा बायोटेकमा लगानी गरेको बताइएको छ । माइबायोले दक्षिण कोरियाभन्दा बाहिरको व्यापारमा लगानी गरेको यो पहिलोपटक हो ।