चितवन । चितवन मिडटाउन रिसोर्ट र चितवन मेडिकल कलेजबीच सेवा आदानप्रदानका विषयमा सम्झौता गरिएको छ । सम्झौतापत्रमा रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरे र कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मेडिकल कलेजका कर्मचारीलाई रिसोर्टका ‘फुड एण्ड रूम’ सेवामा २० प्रतिशत छूट उपलब्ध गराइनेछ । त्यस्तै पेय पदार्थमा १० प्रतिशत र इभेन्टमा ५ प्रतिशत छूट उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । उक्त सुविधा कलेजका चिकित्सकका परिवार, कर्मचारी र लगानीकर्ताले पाउनेछन् । त्यस्तै कलेजको तर्फबाट रिसोर्टका सञ्चालक, उनीहरूको परिवारका सदस्य र कर्मचारीलाई अस्पतालको उपचार सेवामा २० प्रतिशत, प्रयोगशाला परीक्षणमा २० प्रतिशत र औषधिमा ७ प्रतिशत छूट दिइने सम्झौतामा उल्लेख छ । रिसोर्टका प्रबन्ध निर्देशक घिमिरेले सम्झौताले रिसोर्ट र अस्पताल दुवैको सेवा विस्तारमा सहयोग पुग्ने बताए ।