विराटनगर । प्रदेश १ का कृषि उद्यमीका लागि पाँचमहीने एक्सिलेरेटर कार्यक्रमको आवेदन खुला गरिएको छ । वैकल्पिक कोष व्यवस्थापक आध्यन्त र स्वीस कन्ट्याक्ट अन्तर्गतको नेपाल कृषिबजार विकास कार्यक्रमको साझेदारीमा प्रदेश १ का कृषि उद्यमीका लागि उद्यमशीलता प्रवद्र्धन कार्यक्रम शुरू हुँदै छ ।
उक्त कार्यक्रममा लगानी प्राधिकरण प्रदेश १ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सहकार्य रहेको छ । प्रदेश १ मा उच्च सम्भावना भएका कृषिमा आधारित उद्यम व्यवसाय लक्षित सो कार्यक्रममा सहभागी हुन आकांक्षी उद्यमीले आवेदन दिन सक्नेछन् ।
उक्त कार्यक्रम सञ्चालनका लागि लगानी प्राधिकरण प्रदेश १, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र आध्यन्तबीच औपचारिक समझदारी गर्ने प्रक्रिया अघि बढेको छ । कार्यक्रमको मुख्य उद्देश्य प्रदेश १ बाट चुनिएका कृषि उद्यमी व्यवसायीको क्षमता बढाई उनीहरूलाई लगानीमा सहजीकरण गर्नु रहेको छ ।
कार्यक्रमले कृषि उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न स्रोतसामग्री र व्यावसायिक परामर्श प्रदान गर्नेछ । प्राप्त आवेदनका आधारमा १० उद्यमी छनोट गरी पूँजी, बजार पहुँच, प्राविधिक पक्ष लगायत विषयमा परामर्श दिइनेछ । कार्यक्रमले प्रदेश १ मा उपलब्ध स्रोतहरूको व्यावसायिक उपयोगमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।