ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

पर्यटन तथा हस्पिटालिटी क्षेत्रलाई प्राथमिकता दिएका छौं : रविभक्त श्रेष्ठ[अन्तरवार्ता]

२०७९ माघ, ५  
अन्तरवार्ता
Tvs Raider Image Not Found
रविभक्त श्रेष्ठ, अध्यक्ष, आईजे ग्रूप, पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

नेपालको उद्योग व्यवसायको क्षेत्रमा आईजे ग्रूप प्रतिष्ठित व्यावसायिक घराना हो । स्व. इन्द्रभक्त श्रेष्ठले ८ दशकअघि मनी एक्सचेञ्ज र कपडा व्यवसायबाट शुरू गरेको व्यावसायिक यात्रा चिया, औषधि लगायत वस्तुको आयात व्यापार हुँदै बहुराष्ट्रिय उत्पादनमूलक कम्पनी, बीमा र पर्यटन तथा होटल व्यवसायसम्म आइपुगेको छ । हाल यस समूहको अध्यक्षका रूपमा रविभक्त श्रेष्ठले बुबा इन्द्रभक्तको व्यावसायिक विरासत धानेका मात्र छैनन्, नयाँ नयाँ क्षेत्रमा लगानी विस्तारलाई समेत जोड दिएका छन् । आईजे ग्रूपमा हाल तेस्रो पुस्ता समेत व्यावसायिक नेतृत्व लिन तयार भइसकेको छ । प्रस्तुत छ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठसँग उनको पारिवारिक एवं व्यावसायिक पृष्ठभूमि, व्यवसाय विस्तार लगायत विषयमा आर्थिक अभियानले गरेको कुराकानीको सार :

तपाईंको पारिवारिक तथा व्यावसायिक पृष्ठभूमिबारे बताइदिनुस् न ।
हाम्रो परिवार भक्तपुरको वज्रयोगिनीबाट बसाइ सरेर काठमाडौं आएको हो । मैले त्रिचन्द्र क्याम्पसबाट बीकम पास गरेको छु । हामी शुरूदेखि नै इन्द्रचोकमा संयुक्त परिवारमार्फत व्यापार व्यवसायमा संलग्न थियौं । त्यो बेलामा नेपालमा कुनै उद्योगधन्दा थिएनन् । शुरूमा हाम्रो कपडाको व्यापार थियो । बाजे हरिभक्त व्यापारमा लागेको खासै सुनिएन, तर बुवा इन्द्रभक्तलाई बज्यैले व्यापारमा अगाडि बढाउनु भएको हो । बुवाले समयक्रमसँगै आकाश भैरवनाथ मन्दिर नजिक मनी एक्सचेञ्ज खोल्नुभएको थियो । त्यसपछि बम्बईबाट सुती कपडा होलसेल मूल्यमा आयात गरेर नेपालभर विक्री शुरू गर्नुभएको हो । त्यसबेला बुवाले शाखा कार्यालयको रूपमा बम्बईमा पनि पसल खोल्नुभएको थियो । वर्षको ६ महीना व्यापारकै लागि बुवा उतै बस्नुहुन्थ्यो । त्यहाँ पनि कपडाकै व्यापार थियो । विसं २००७ सालतिर इन्द्रचोकमा नेपाल ड्रग हाउस पनि शुरू गर्‍यौं । तर केही वर्षमात्र चल्यो । त्यसपछि बुवासँग बम्बईमा चिनजान भएको आधारमा भारतको ठूलै औषधि कम्पनी नेपाल आउन चाहेको थियो । तर उनीहरूले विविध कारणले गर्दा नेपालमा फर्मास्युटिकल उद्योग स्थापना गर्न सकेनन् ।

पञ्चायतको अन्त्य भएर मुलुकमा आर्थिक उदारीकरण शुरू भएपछि उत्पादन क्षेत्रमा अगाडि बढेका हौं ।

सानातिना व्यापारसँगै तपाईंहरूले बेलायतको ब्रुकबन्ड चियाको आयात गर्न शुरू गर्नुभएको रहेछ, होइन ?
औषधि पसल पनि बन्द भएपछि चियाको आयात शुरू गर्‍यौं । त्यो बेलायतको कम्पनी थियो । तर भारतबाट उसले उत्पादन तथा विक्री वितरण गरिरहेको थियो । त्यो पहिला अलग कम्पनी थियो, पछि गएर ब्रुकबन्ड कम्पनीलाई हिन्दुस्तान लिभरले खरीद गरेको हो । चियासँगै हामीले साबुनलगायत सामग्री ल्याएर विक्री शुरू गरेका हौं । ब्रुकबन्डसँग बुवाको कारोबारलाई आधार मानेर बहुराष्ट्रिय कम्पनी हिन्दुस्तान लिभरसँग पनि सम्बन्ध बढ्दै गयो । केही समयपछि बुवाको अनुरोध स्वीकार गरेर हिन्दुस्तान लिभर नेपाल प्रवेश गरेको हो । त्यो कम्पनीले हालसम्म पनि युनिलिभर नेपालको रूपमा यहाँ राम्रो व्यापार गरिरहेको छ ।

बहुराष्ट्रिय कम्पनी हिन्दुस्तान लिभरलाई नेपाल भित्र्याउन तपाईंहरूको प्रमुख भूमिका रहेछ । नेपाल जस्तो मुलुकमा यो कम्पनी आउन राजी हुनुको कारण के थियो होला ?
नेपालमा त्यतिखेर हाम्रो ठूलो व्यापार त थिएन । तर व्यापार विस्तार गर्ने सोच चाहिँ थियो । त्यही सोच अनुरूप बुवाले भारतबाट चिया, साबुनलगायत सामान नेपाल ल्याएर होलसेल तथा खुद्रा विक्री गर्ने गर्नुहुन्थ्यो । बुवा लामो समयसम्म बम्बईमा बस्नुभयो । उहाँसँग धेरै व्यापारीको चिनजान थियो । ब्रुकबन चियाको कारोबारकै क्रममा हिन्दुस्तान लिभरसँग उहाँको सम्बन्ध विस्तार भएको हो । त्यतिखेर उनीहरू पनि नेपालमा केही गर्न सकिन्छ कि भनेर सोचविचार गरिरहेका थिए । त्यही बेला बुवाले नेपाल आउने भए म सहयोग गर्न तयार छु भनेपछि नेपाल आउन मानेको हो । त्यसपछि उद्योग विभागमा कम्पनी दर्ता गर्न गयौं । डाबर इन्डिया र हिन्दुस्तान लिभर नेपालमा आउने पहिलो र दोस्रो उत्पादनमूलक कम्पनी हुन् । डाबर त भारतको मात्र कम्पनी थियो । हिन्दुस्तान लिभर बहुराष्ट्रिय कम्पनी थियो । तर तत्कालीन सरकारले यति ठूलो बहुराष्ट्रिय कम्पनी नेपाल आउन इच्छुक हुँदा पनि दर्ता गर्न नै मानेन । लाइसेन्सराजको त्यो बेलामा पनि बुवाले विभिन्न स्थानमा भनसुन र ताकेता गरेपछि दर्ता हुन सक्यो । दर्ता भएपछि ठूलै विजय हासिल गरेजस्तो भयो । अनि उद्योग स्थापना भयो । त्यसकै परिणामस्वरूप नेपालमा आजसम्म पनि युनिलिभर नेपालले धेरै राम्रो व्यवसाय गरिरहेको छ । अहिले नेपालको शेयर बजारमा यसको मूल्य कति छ मैले भन्नै परेन ।

भारतपछि दक्षिण कोरियाबाट पनि तपाईंहरूले आयात कारोबार शुरू गर्नुभएको हो ?
त्यहाँबाट हामीले टेक्सटाइलको कारोबार गर्‍यौं । त्यसबेला हामी नेपाल कप्र्स सप्लायर्स कम्पनीमार्फत मालसामान आयात गरेर नेपाल ल्याउँथ्यौं । यसको राम्रो व्यापार थियो । कोरियाको डाइउ कम्पनीबाट कपडा ल्याउँथ्यौं । व्यापार पनि बढ्दै गयो । त्यो कपडा नेपालमा मात्र नभई भारततर्फ पनि जान थाल्यो । जति ल्याए पनि विक्री हुन थाल्यो । त्यसपछि बुवाले कोरियन पाटर्नरलाई नेपालमा यसको उत्पादनका लागि उद्योग खोल्न आग्रह गर्नुभयो । यो गर्न उनीहरू राजी त थिए । तर नेपालमा वैदेशिक लगानीका लागि कानूनी झन्झट रहेछ । यो देखेपछि उनीहरू पन्छिए । काम सफल हुन सकेन ।

नेपालको चेम्बर मुभमेन्टमा तपाईंंहरू कसरी जोडिनुभयो ?
चेम्बर मुभमेन्टको बारेमा मलाई अलिअलि याद छ । एक दिन तत्कालीन राजा त्रिभुवनले देशको अर्थ व्यवस्थाको बारेमा बुझ्न व्यापारीहरूलाई बोलाउनुभएको थियो । त्यहाँ बुवा पनि सहभागी हुनुहुन्थ्यो । त्यस अवसरमा संगठित बनेर अगाडि बढ, हाम्रो साथ र सहयोग छ भन्ने हुकुम भएछ । त्यो बेला लण्डन चेम्बर अफ कमर्सको विधान ल्याएपछि त्यही हेरेर नेपाल चेम्बर अफ कमर्सको विधिवत् स्थापना भएको हो । इन्द्रचोकस्थित हाम्रो घरमा यसको अफिस थियो । यसको उद्घाटन भने राजा महेन्द्रबाटै भएको हो । बुवा चेम्बर अफ कमर्सको संस्थापक अध्यक्ष पनि हुनुहुन्थ्यो । उहाँ लगातार पाँच कार्यकाल अध्यक्ष हुनुभयो । २०३४ सालमा उहाँ नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पनि हुनुभयो ।

तत्कालीन समयमा तपाईंको बुवा उद्यमी तथा व्यवसायी हुनुहुन्थ्यो । उहाँको योगदानलाई कसरी स्मरण गर्नुहुन्छ ?
उहाँको अध्ययन सामान्य थियो । उहाँ सानैदेखि मेहनती हुनुहुन्थ्यो । उहाँमाथि बाल्यकालदेखि नै ठूलो जिम्मेवारी आएको रहेछ । त्यही भएर सानै उमेरदेखि उहाँ व्यापारमा लाग्नुभएको हो । हाम्रो पछिसम्म सगोलको परिवार थियो । उहाँ जहिले पनि ‘जे गर्ने हो समयमै गर’ भन्ने गर्नुहुन्थ्यो । मलाई त्यो कुराको सधैं याद आइरहन्छ ।

सन् १९९२ मा नेपालमा बहुराष्ट्रिय कम्पनी युनिलिभर आएपछि आईजे ग्रूप उत्पादनतर्फ मोडिएको हो ?
नेपालमा युनिलिभर भित्र्याउन बुवाको प्रमुख योगदान थियो । यो कुरा मैले बताइरहनै पर्दैन । जब पञ्चायतको अन्त्य भएर मुलुकमा आर्थिक उदारीकरण शुरू भयो, तब हामी उत्पादन क्षेत्रमा अगाडि बढेका हौं । हाम्रो प्रमुख व्यवसायको पहिलो खुड्किलो पनि युनिलिभर नेपालबाटै भएको हो । यसलगत्तै हेटौंडामा कपडा फ्याक्ट्री स्थापना गर्‍यौं । त्यसपछि नेशनल सोप इन्डस्ट्री पनि सञ्चालन गर्‍यौंं । यो उद्योग युनिलिभरको सब–कन्ट्र्याक्टमा सञ्चालनमा थियो । तर पछि बन्द भयो ।

बुवाले शुरू गरेको व्यापारिक विरासतमा तपाईं कसरी प्रवेश गर्नुभयो ? व्यापार व्यवसायको बारेमा बुझ्ने मौका कसरी पाउनुभयो ?
त्रिचन्द्र क्याम्पसमा बीकम अध्ययन गर्नुभन्दा अघि नै म व्यापारमा संलग्न भइसकेको थिएँ । स्कुलमा पढ्दादेखि नै बुवाको पछिपछि लागेर व्यापार व्यवसायबारे बुझ्ने मौका पाएको थिएँ । त्यतिखेर उहाँले कसरी काम गर्नुहुन्छ, हिसाबकिताब कसरी राख्नुहुन्छ भन्ने ज्ञान मैले हासिल गरिसकेको थिएँ । जब मेरो दाजु अध्ययनका लागि अमेरिका जानुभयो, मलाई अब चाहिँ केही गर्नुपर्छ भन्ने हुटहुटी जागेको थियो । तर आमाको करबलले म पनि अमेरिका गएँ । तर त्यहाँ एक/डेढ वर्षभन्दा बढी बसिनँ । अनि नेपालमै केही गर्नुपर्छ भनेर फरक खालका अरू व्यवसायमा हात हालेका हौं ।

तपाईं आफैंले चाहिँ कुन कुन व्यवसाय शुरू गर्नुभयो ?
बुवाले शुरू गरेको व्यवसाय सञ्चालनमै रहेको समयमा फरक खालको व्यवसाय पनि सञ्चालन गर्नुपर्छ भन्ने सोच आएको हो । त्यसपछि व्यवसायलाई विविधीकरण गर्दै लैजानुपर्छ भन्ने सोच अनुरूप शुरूमा युनाइटेड इन्स्योरेन्समा केही लगानी गरेँ । यसको सञ्चालक समितिको अध्यक्षमा अहिले म नै छु । त्यसपछि भनेजस्तो गरी अन्य उद्योग व्यवसायमा अगाडि बढ्न सकेनौं । हामीले शुरू गरेका व्यवसायमध्ये सबैभन्दा बढी आत्मसन्तुष्टि दिने खालको उद्योग युनिलिभर नेपाल नै हो ।

महासंघमा निर्वाचन हुनुलाई अन्यथा लिनु पनि हुँदैन ।

व्यवसाय विस्तारको क्रममा तपाईंहरू वित्तीय क्षेत्रमा अगाडि आएको देखिन्छ । यसबारे बताइदिनुस् न ।
व्यवसायलाई विविधीकरण गर्ने क्रममा सन् १९९२ मा हामी हिमालयन बैंकमार्फत वित्तीय क्षेत्रमा प्रवेश गरेका हौं । यसमा पनि रोचक प्रसंग छ । त्यो बेला मेरो ससुराबुबा नरसिंहबहादुर श्रेष्ठ, हिमालय शमशेर राणा, भीमबहादुर पाण्डे र खेतान ग्रूपको संयुक्त लगानीमा हिमालयन बैंक शुरू भएको हो । त्यो बेलामा बैंक खोल्न चुक्तापूँजी तीन करोड रुपैयाँ भए पुग्थ्यो । एन ट्रेडिङमार्फत हामी बैंकमा साझेदार भएर प्रवेश गरेका हौं । युनाइटेड इन्स्योरेन्समा चाहिँ चौधरी ग्रूप र आईजे ग्रूपको बराबर शेयर स्वामित्व छ भने बाँकी शेयर स्वामित्व सर्वसाधारणको रहेको छ ।

सन् १९९८ मा तपाईंहरू पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा पनि प्रवेश गर्नुभयो । त्यसअन्तर्गत सोल्टी होटलमा कसरी प्रवेश गर्नुभयो ?
त्यो बेला नेपालकै प्रतिष्ठित मानिने सोल्टी होटल ओबराय ग्रूपले सञ्चालन गरिरहेको थियो । त्यसमा लगानी गर्नुपर्ने अवस्था अकस्मात् आइलाग्यो । यसमा हाम्रो गूडविल (प्रतिष्ठा)ले काम गरेको हो जस्तो लाग्छ । जब सोल्टी होटलको म्यानेजमेन्ट सञ्चालन सम्झौता सकियो, उनीहरू (ओबराय) यसबाट बाहिरिएर जाने भए । शेयर विक्री हुने खबर आएपछि ओबरायले नै मलाई शेयर खरीद गर्न प्रस्ताव गरेको हो । त्यसपछि त्यहाँ शुरूमा हाम्रो ८ प्रतिशत शेयर लगानी भयो । अहिले त सोल्टी होटलको ब्रान्ड यति बलियो भएको छ कि यो नेपालमा मात्र होइन, भारतमा पनि उत्तिकै प्रख्यात छ । सोल्टी होटलको ब्राण्ड बलियो हुँदै जाँदा हामीले काठमाडौं बाहिर होटल विस्तारको योजना अघि बढायौं । नेपालगञ्जमा सोल्टी होटल पुग्यो । आन्तरिक पर्यटन पनि विस्तार हुँदै जाँदा हामी पोखरामा पनि जाने योजनामा पुग्यौं । अहिले त जहाँ जहाँ सम्भावना छ, त्यहाँ होटल स्थापना गर्दै जाने योजना बनाइरहेका छौं । अन्य स्थानमा पनि होटल शुरू गर्ने लक्ष्य छ ।

चौधरी ग्रूपसँग मिलेर पनि अन्य दुई भेञ्चरमा व्यवसाय सञ्चालन गरिरहनुभएको छ । त्यसबारे थप बताइदिनुस् न ।
यसमा पनि रोचक प्रसंग छ । चौधरी ग्रूपका विनोद चौधरी त मेरा स्कुले साथी पनि हुन् । पहिला भिवोर विकास बैंक रहेको भवन मैले बिड गरेर खरीद गरेको हुँ । त्यहाँ शुरूमा मैले अपार्टमेन्ट बनाउने विचार गरेको थिएँ । तर एक दिन कुराकानीको क्रममा विनोद चौधरीले होटल बनाउने प्रस्ताव गरेपछि गरौं न त भन्ने सोच आयो । त्यसपछि हामीले भिवान्ता ताज होटल शुरू गरेका हौं । अपार्टमेन्टबाट होटल बनाउन एक/डेढ वर्ष लाग्यो तर पनि हामीले शुरू गरिछाड्यौं । समिट होटलको हकमा पनि अर्को प्रसंग छ । यसको शुरुआत त पहिला डचहरूले गरेका हुन् । त्यो पछि गएर मेरा साढुभाइसहित अन्यले खरीद गरेका थिए । तर सोचे जस्तो व्यवसाय हुन सकेको रहेनछ । उनीहरूले चलाउन नसक्ने स्थिति आएपछि साझेदार बन्न मलाई पटक पटक अनुरोध गरे । त्यसपछि यसमा पनि हामीले लगानी थप गरेका हौं । तर यसको काम भने हुन बाँकी छ ।

आईजे ग्रूपको पारिवारिक व्यवसायमा तपाईंको छोरा रवीन्द्रभक्त श्रेष्ठको पनि प्रवेश भइसकेको छ, होइन ?
ऊ न्यूयोर्कमा ग्राजुयट गरेपछि नेपाल आएको हो । नेपाल आइसकेपछि उसले पारिवारिक व्यवसायमै प्रवेश गरेको हो । उसले थप अध्ययनका लागि अमेरिका गएर एमबीए गरेको छ । एमबीए सकेपछि नेपाल फर्किएर उसले व्यवसाय सम्हालिरहेको छ । उनीहरूको काम गर्ने प्रकृति पनि फरक छ । उसले गरेको प्रगति हेर्दा राम्रो गरेको छ जस्तो लाग्छ । ऊ बाहिरबाट आएपछि शुरू गरेको व्यापार अन्तर्गत नेशनल आइसक्रिमलगायत हुन् । अरू पनि छन् । यी क्षेत्रमै उसको ध्यान केन्द्रित छ ।

आईजे ग्रूपले अहिले कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ?
अहिले हाम्रो प्रमुख प्राथमिकता हस्पिटालिटी क्षेत्र नै हो । यस अन्तर्गत तीन/चारओटा मेगा प्रोजेक्ट सञ्चालनमा छन् । यसमै हामी केन्द्रित छौं । यो पूरा भएपछि मात्र हामी अन्य क्षेत्रमा अगाडि बढ्छौं । यसमा छोरा रवीन्द्रको पनि यही विचार छ ।

शुरूदेखि नै तपाईंहरूको बिजनेश संयुक्त साझेदारी मोडलमा केन्द्रित रहेको पाइन्छ । यसको प्रमुख कारण के होला ?
मेरो पहिलादेखिकै स्वभाव साधारण छ । मलाई जहिले पनि सामान्य हैसियतमा बस्न रुचि लाग्छ । त्यसकारण मसँग काम गर्न सबै जना इच्छुक र लालायित हुन्छन् । यसमा त बुवाको छवि पनि एउटा प्रमुख कारण हुन सक्छ । शुरूमा कोरियाबाट माल मगाएर व्यापार गर्ने क्रममा पनि हाम्रो साझेदारी व्यवसाय थियो । त्यो बेला इन्द्रचोकको माडवारी वृजलाल अग्रवालसँग हामीले साझेदारीमा व्यापार शुरू गरेका हौं । वास्तवमा भन्ने हो भने यो त नेपालकै नमूना साझेदारी व्यापार थियो । तर उनको निधनपछि हामी अलग अलग भयौं । सोल्टी होटलमा पनि साझेदारीमै व्यापार थियो । त्यसैगरी चौधरी ग्रूपसँग पनि हाम्रो साझेदारीमै व्यापार भएको हो । साझेदारीमा भएका हाम्रा व्यापार व्यवसाय राम्रोसँग चलिरहेका छन् ।

तपाईं त प्रदीपकुमार श्रेष्ठपछि निजीक्षेत्रको अगुवा संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित पनि हुनुभयो । यो कसरी सम्भव भयो ?
यसको कहानी अलि लामै छ तर पनि छोटकरीमा बताउँछु । यसको सम्पूर्ण श्रेय बुवालाई नै दिन्छु । किनभने सबैको बुवाले छोरा नै अगाडि बढोस् भन्ने चाहन्छन् । त्यो स्वाभाविक पनि हो । व्यापार व्यवसायमा कार्यकुशलता छ, तर उद्योग वाणिज्य महासंघमा म फिट हुन्छु होला जस्तो लाग्दैनथ्यो । तर चेम्बर मुभमेन्टमा लाग्न जहिले पनि बुवाले मलाई दबाब दिइरहनुभयो । उहाँले जहिल्यै ‘तिमी महासंघमा अध्यक्ष भएको हेर्न चाहन्छु’ भनिरहनुहुन्थ्यो । त्यसपछि लौ न त भनेर जाँदा पहिलोपटक नै महासंघको कार्यकारी समितिमा निर्विरोध निर्वाचित भएँ । त्यसपछि महासंघको विभिन्न पदमा निर्वाचित भएर काम गरेँ । महासंघमा जति पनि निर्वाचन भए तिनमा म कहिल्यै पराजित हुनुपरेन । जब म तेस्रो उपाध्यक्षमा निर्वाचित भएँ, त्यसपछि त अध्यक्ष बन्न उत्साह जाग्यो । अनि निरन्तर साथीभाइको सल्लाहमा अगाडि बढिरहेँ । बुवाको उद्देश्य र चाहना पनि छोरो अध्यक्ष बनोस् भन्ने नै थियो । महासंघको अध्यक्षमा उम्मेदवारी दिने सोच बनाइरहेको बेला प्रदीपकुमार श्रेष्ठले पनि उम्मेदवारी दिए । जे पर्ला त भनेर मैले पनि उम्मेदवारी दिएँ । तर देशभरका साथीहरूलाई दुवै जनाबीच प्रतिस्पर्धा नहोस् भन्ने लागेको रहेछ । अध्यक्षका लागि मनोनयन गर्ने मिति पनि नजिकिँदै थियो । धरै प्रयास गर्दा पनि सहमति हुन नसकेपछि सोल्टी होटलमा आयोजित कार्यक्रममार्फत त्यहाँका प्रभाकर शमशेर र आनन्दराज मुल्मीले यसमा धेरै मध्यस्थता गर्नुभयो ।

उहाँको निर्णय दुवैले मान्ने सहमति भएपछि मैले पनि समर्थन गर्नैपर्‍यो । त्यसपछि मात्र निजीक्षेत्रको अगुवा संस्था उद्योग वााणिज्य महासंघको अध्यक्षमा प्रदीपकुमार श्रेष्ठ चयन भएका हुन् । सोही निर्णय अनुसार प्रदीपकुमार श्रेष्ठपछि म महासंघको निर्विरोध अध्यक्ष भएको हुँ । चेम्बर मुभमेन्टमा लागेको आठ वर्षपछि महासंघको अध्यक्ष बन्न सफल भएँ ।

साझेदारीमा भएका हाम्रा व्यापार व्यवसाय राम्रोसँग चलिरहेका छन् ।

त्यसपछि महासंघको चुनाव व्यवसायीबीच तीव्र प्रतिस्पर्धा र इगोमा आधारित भएर अगाडि बढिरहेको जस्तो देखिन्छ । यसलाई तपाईंंले कसरी हेरिरहनुभएको छ ?
वास्तवमा पहिला सहमति र सल्लाह अनुसार नै महासंघको नेतृत्व चयन हुन्थ्यो । अहिले त त्यस्तो देखिँदैन । हुन त महासंघमा निर्वाचन हुनुलाई अन्यथा लिनु पनि हुँदैन । निर्वाचनकै कारण व्यवसायी व्यवसायीबीच भएको सम्बन्ध बिग्रने र नभएको सम्बन्ध जोडिने काम पनि भएको छ । यो आफैमा रोचक छ । महासंघकै विषयमा विनोद चौधरीसँग मेरो ६ महीनासम्म बोलचाल नै बन्द भयो । बुवाको पनि लुनकरणदाससँग बोलचाल भएन । म एउटा रोचक प्रसंग बताउँछु । म महासंघको अध्यक्ष भएको समयमा विनोद चौधरीले नेपाल उद्योग परिसंघ (सीएनआई) स्थापना गरे । यो त सीधै महासंघलाई कमजोर बनाउने उद्देश्यले खोलिएको संस्था थियो । यो कुरा बुझ्न गाह्रो थिएन । मैले विनोद चौधरीसँग यसो नगरौं भनेँ, तर उनले मान्दै मानेनन् । त्यो बेला प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री पूर्णबहादुर खड्का हुनुहुन्थ्यो । मैले यसबारे प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि कुरा गरेँ । सीएनआईलाई कुनै हालतमा दर्ताको अनुमति नदिने कुरा भयो । यो एक वर्षसम्म पनि रोकियो । तर एकदिन अखबार पढ्दा पो सीएनआई दर्ता भएको थाहा भयो । सीएनआईको दर्ता काठमाडौंमा नभएपछि ललितपुरमा गरिएको रहेछ । यो थाहा पाएलगत्तै मैले महासंघको पदाधिकारी बैठक बोलाएँ । हिजोको लडाइँ दर्ता गर्न नदिने भन्ने थियो । तर अब दर्ता भइसकेकाले सीएनआईसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्ने सल्लाह भएपछि सोही अनुसार अगाडि बढेका हौं । यो क्रम अहिले पनि त्यही नै छ ।

तपाईं राजा ज्ञानेन्द्र शाहको शासनकालमा राज्यमन्त्री पनि बन्नुभयो । तर तपाईंं मन्त्री बनेकोमा धेरैले आलोचना पनि गरेका थिए नि ।
मन्त्री बनेकोमा आलोचना भए पनि मलाई कुनै पश्चात्ताप भने छैन । राजा ज्ञानेन्द्र सरकारले शासन सत्ता हातमा लिएपछिको कुरा हो । एक दिन राजदरबारका सचिव पशुपतिभक्त महर्जनले फोन गरेर राजाले मलाई सहायक मन्त्री बनाउन चाहेको बताए । तर मलाई यो सुन्दा त चिसो पनि लाग्यो । किनभने त्यतिखेर म उद्योग वाणिज्य महासंघको बहालवाला अध्यक्ष पनि थिएँ । तर तत्कालै मैले मन्त्री बन्ने प्रस्तावप्रति अलि चित्त नबुझेको कुरा उनलाई सुनाएँ । तर उनले मलाई राजनीतिक दलबाट नभई श्री ५ बाट मन्त्री बन्न प्रस्ताव आएकाले मन्त्री बन्न पछि नहट्नुस भनेर दबाब दिए । त्यसो भए मैले परिवारसँग सल्लाह गर्न त दिनुहोस् भनेँ । यसबारे मैले उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग छलफल गर्न पनि पाइनँ । म निकै ठूलो फसादमा परेँ । तर बुवालाई सोध्दा उहाँले मन्त्री बन्न स्वीकृति दिनुभयो । आधा घण्टापछि फेरि दरबारबाट शपथ ग्रहणका लागि फोन आयो । मन्त्री भएको एक वर्षपछि त सरकार नै ढल्यो ।

नेपालमा मारवाडी समुदाय व्यापार व्यवसायमा जसरी अगाडि बढ्दै गएका छन्, त्यसरी नेवार समुदायको सहभागिता रहेका एकाध व्यापारिक घरानाबाहेक अरू अपेक्षाकृत अगाडि बढ्न सकेको देखिएन । यसलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
पहिला त काठमाडौंमा व्यापार व्यवसायमा नेवार समुदायकै आधिपत्य थियो । तर समयक्रमसँगै नेवार समूहका व्यापारिक घरानाहरू सिद्धान्तभन्दा बाहिर जान सकेनन् । राजनीतिक परिवर्तन अघि त व्यापारमा नेवार समूहको नै पकड थियो । गणतन्त्र आएपछि व्यापार व्यवसायमा नयाँ आयाम पनि थपियो । अनि नयाँ नयाँ घरानाले व्यापारमा हात हालेर उनीहरू अगाडि बढेका हुन् । अर्को कुरा के हो भने नेवार समुदाय अलि पुरानो सोच भएका पनि छन् । सोचमा पनि परिवर्तन हुन सकेन । राजनीतिक परिवर्तनपछि देखिएका व्यावसायिक सम्भावना र अवसरमा नेवार समुदाय पस्न सकेनन्, जसकारण पनि पछि पर्नुपर्ने अवस्था आयो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro