उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आम नागरिकलाई प्रतयक्ष सरोकार राख्ने शिक्षा,स्वास्थ्यलगायतका विषयमा संसदले आवश्यक काम अघि बढाउन नसकेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षा,स्वास्थ्यका विषयमा सरकारले आवश्यक नीति बनाउन चुकेको बताए । सभामुख जस्तो गरिमामय पदलाई बचाउन आवश्यक रहेको भन्दै दलगत कुराभन्दा माथि उठेर आगामी दिनमा सभामुखले आफ्नो भूमिका निष्पक्ष रूपमा सम्पन्न गर्नुपर्ने बताए ।
'यति धेरै लामो समयसम्म आम नागरिकलाई प्रतयक्ष सरोकार राख्ने शिक्षा,स्वास्थ्य लगायतका विषयमा संसदले त्यस्ता ऐन, कानून ल्याएर छलफल गर्नुपर्ने थियो । यसमा विगतमा हामी धेरै चुक्यौ भन्ने लाग्छ, दलबाट चुनिएर आए पनि दल भन्दा माथि उठेर पदको अस्तित्व बचाउन सक्नुहुन्छ भन्ने लाग्छ । लाभहानि हेरेर काम नहोस् । जनताका मर्म नभुली काम गरौँ । त्यो पनि प्राथमिकता छुट्याएर,’ उनले भने ।
गृहमन्त्री लामिछानेले गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर नजाने प्रतिवद्धता पनि जनाए । उनले नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले फरार रहेका व्यक्ति संसदमा भएको र पक्राउको माग गर्न आग्रह गरेको कुरालाई खण्डन गर्दै उनले विधि र पद्धतिको पक्षमा गृह मन्त्रालय रहेको बताएका हुन् । उनले मन्त्रालयले आफ्नो विधिअनुसार काम गर्दा दबाब र प्रभावमा नपार्न पनि आग्रह गरे ।