श्रम तथा यातायात व्यवस्था मन्त्रालयले लागू गर्न लागेको वैदेशिक रोजगार स्मार्ट कार्ड अन्योलमा परेको छ । वैदेशिक रोजगारीमा जाने कामदारको परिचयपत्रका रूपमा लागू गर्ने भनिएको उक्त कार्डको प्रगतिबारे श्रम तथा यातायात व्यवस्था मन्त्रालय नै अनभिज्ञ छ । श्रम तथा यातायात व्यवस्था मन्त्री महमद आफताव आलमले असोज २५ भित्रै कार्ड लागू गर्ने बताएका थिए ।
स्मार्टकार्डको नमूनासहित खाका तयार गरेर वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा पठाइसकेको छ । यसलाई पारित गर्न मन्त्रीस्तरीय बैठकमा लैजानुपर्ने भएकाले मन्त्रालयमा पठाएको बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले बताए । ‘कार्डको सम्पूर्ण जिम्मा मन्त्रालयलाई लगाएका छौं यसको प्रगतिबारे बोर्डलाई कुनै जानकारी छैन’ उनले भने । मन्त्री आफतावले स्मार्ट कार्ड लागू गर्ने प्रतिबद्धता व्यक्त गरे पनि पछिल्लो समयमा वैदेशिक रोजगार व्यवसायीहरूको दबाबका कारण यो प्रक्रिया रोकिएको पीडित कामदारहरू बताउँछन् ।
स्रोतका अनुसार स्मार्टकार्डबारे निर्णय माथिल्लो निकायले गर्ने भएकाले यसको सम्पूर्ण फाइल सचिवलाई बुझाइएको छ । उता यससम्बन्धी आफूलाई कुनै पनि जानकारी नभएको श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दिनेश अधिकारी बताउँछन् । ‘स्मार्ट कार्डसम्बन्धी कुनै पनि फाइल मकहाँ आइपुगेको छैन,’ उनले भने ।
कार्डमा नेपाली कामदारहरू विदेशमा छँदा मृत्यु तथा अंगभंग भएमा सहमतिपत्रमा उल्लेख भएअनुसार काम र तलब नपाई फर्केमा कार्डका सहायताले कुन म्यानपावरबाट गएको हो भन्ने थाहा पाइन्छ र त्यसअनुसार कम्पनीहरू समातिन्छन् ।
वर्ष ६, अंक ३०, बिहीवार, २१ असोज २०६७