काठमाडौं । खाद्य सुरक्षाका लागि कृषि उत्पादन वृद्धिसँगै बजारको पहुँच सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । काठमाडौंमा आयोजित प्रथम दक्षिण एशियाली कृषि सम्मेलनमा नीति निर्माता र व्यवसायीहरूले यस्तो औंल्याएका हुन् । पछिल्लो समय अन्तरराष्ट्रिय व्यापारमा गैरभन्सार अवरोध बढ्न थालेकाले यसमा पनि सुधार आवश्यक रहेको उनीहरूको भनाइ छ ।
भारत सब–कन्टिनेन्ट एग्री फाउन्डेसन, टेफ्ला र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रूपमा आयोजना गरेको उक्त सम्मेलनमा महासंघका अध्यक्ष शेखर गोल्छाले सम्मेलनले नेपाली उत्पादनको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरे । दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा)मा यस क्षेत्रका मुलुकहरूबीच व्यापार विस्तारको अवसर भए पनि कृषिजन्य उत्पादनको निर्यातमा गैरभन्सार अवरोध लगायत समस्या रहेको उनले बताए ।