ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

घट्यो विद्युत् चुहावट

२०७९ माघ, ६  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता पाएको छ । चालू आर्थिक वर्षको पहिलो ५ महीनामा वितरणतर्फको विद्युत् चुहावट घटाएर ७ दशमलव ४९ प्रतिशतमा झरेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ ।

गतवर्षको मङ्सिरसम्मको तुलनामा यस वर्षको सोही अवधिमा वितरणतर्फको विद्युत् चुहावट १ दशमलव ७४ प्रतिशत बिन्दुले घटेको छ । गतवर्षको मङ्सिरसम्ममा वितरणतर्फको विद्युत् चुहावट ९ दशमलव २३ प्रतिशत थियो । गतवर्ष वितरणतर्फको समग्र विद्युत् चुहावट १० दशमलव ८६ प्रतिशत थियो । चालू आर्थिक वर्षको मङ्सिरसम्ममा वितरण प्रणालीमा ४ अर्ब १४ करोड ७५ लाख युनिट विद्युत् प्राप्त भएकोमा ३ अर्ब ८३ करोड ६७ लाख युनिट विद्युत् विक्री भएको छ । ३१ करोड ७ लाख ७९ हजार युनिट विद्युत् चुहावट भएको छ । मङ्सिरसम्ममा प्रसारण लाइनतर्फको चुहावट ४ दशमलव ५६ प्रतिशत छ । प्रसारण र वितरणतर्फ गरी मङ्सिरसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १२ दशमलव शून्य ५ प्रतिशत छ । गत असारसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १५ दशमलव ३८ प्रतिशत थियो ।

प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालू आर्थिक वर्षमा समग्र प्रणालीको विद्युत् चुहावट १४ प्रतिशत र वितरणतर्फको चुहावट ८ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । करीब सात वर्षअघि वितरणतर्फको चुहावट झन्डै २२ प्रतिशत रहेकोमा अहिले घटाएर ७ दशमलव ४९ प्रतिशतमा सीमित रहनु ठूलो उपलब्धि भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टोली परिचालन गरिएको उनको भनाइ छ । ‘यस अवधिमा नयाँ शबस्टेसन निर्माण सम्पन्न भएको, सञ्चालनमा रहेका शबस्टेसनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको र मिटर रिडिङ प्रभावकारी बनाउँदा चुहावट घटेको हो,’ उनले भने ।

हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही, ओभरलोड भएका शबस्टेसन र फिडर लाइनको सुदृढीकरण तथा नयाँ सबस्टेशनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायत काममा गरिएको ठूलो लगानीको नतीजा अहिले देखिएको उनको भनाइ छ । जाडोमा पहाडी र गर्मीमा तराई क्षेत्रमा प्राविधिक चुहावट केही बढ्न सक्ने कार्यकारी निर्देशक घिसिङले बताए । यसलाई ध्यानमा राख्दै चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्नेगरी काम भइरहेको उनको भनाइ छ ।

शबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रीफेज मिटरको प्रयोगमा प्रोत्साहन गर्नेलगायत कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो । गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महशुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही, बन्द मिटर परिवर्तन, मिटर लिन प्रोत्साहन र मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइएको प्राधिकरणले बताएको छ ।

प्राधिकरणका सात प्रादेशिक कार्यालय र दुई प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको रहेको छ । प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वितरण केन्द्रको मङ्सिरसम्ममा समग्र विद्युत् चुहावट १२ दशमलव ८० प्रतिशत छ । गतवर्ष सोही अवधिमा १२ दशमलव ९७ प्रतिशत थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)