ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

आधुनिक चोरहरू

२०७९ माघ, ६  
तीतो मीठो
Tvs Raider Image Not Found
author avatar मदन लम्साल


जसले जति ठूलो स्वरमा खोके पनि साँचो त फेरि चोरहरूकै हातमा पुग्दो रहेछ वा पुर्‍याइँदो रहेछ त ! हिजो जो चोर, उसैको ठूलो स्वर भन्थे । जसको ठूलो स्वर, उसैको कुरा मात्र सुनिन्छ भन्ने मान्यता अहिले फेरि स्थापित भएको छ ।

पहिले चोरका दाह्रीमा बोराका झुस हुन्थ्यो । अहिलेको चोरका गाडीमा पुलिस हुन्छन् । पहिला पछि पछि हुन्थे अहिले चारैतिर हुन्छन् । अब त लोकोक्ति नै बनिसकेको छ कि ‘चोरको गाडीमा प्रहरी’ ।

समय बदलिएसँगै चोरहरूको लवाइ, खवाइ, हुलिया पनि सबै बदलिएको छ । पहिले पहिले चोरहरूले लामा लामा दाह्री पालेका हुन्थे । हेर्दैमा फोहोरी, कम बोल्ने खालका र उल्लुझैं राति राति मात्रै विचरण गर्ने गर्थे । चोरहरूको संगठनमा दाह्रीविहीन चोरको प्रवेश निषेध हुन्थ्यो । चोरहरूको दाह्रीले उनीहरूको चोरत्वलाई एउटा नयाँ उचाइ स्थापित गरिरहेको हुन्थ्यो । चोरहरू शुद्ध रूपमा चोर नै हुन्थे । चोर न डाँका हुन्थे न फिरौतीवाला गुण्डा । प्रत्येक चोरको एक विशिष्ट प्रकारको दाह्री हुन्थ्यो । उनीहरू आफ्नो दाह्रीलाई चौर्य रसले भरिपूर्ण बनाउन कुनै कसर छाड्दैनथे । मानिसहरू चोरको पहिचान गर्न थोत्रा कपडा बोरामा कोचेर हिँड्थे । दाह्रीवाला चोरका दाह्रीमा यी थोत्रा बोराका झुसहरूले ससम्मान वास पाइरहेका हुन्थे । चोरलाई अँध्यारो प्यारो हुन्थ्यो, उज्यालोसँग तर्सन्थे । औंसी उनीहरूको प्यारो हुन्थ्यो, पूर्णिमासँग उनीहरू रिसाउँथे । नीतिले पनि भनेको छ, ‘चौराणां चन्द्रमा रिपु:’ ।

तर हिजोआजका चोरहरू उज्यालोमा बस्छन् र अँध्यारोको त्रास देखाउँछन् । अनि दिउँसै रात पारिदिन्छन् । चोरहरू पहिला केही बोल्दैनथे, अहिले त धेरै नै गफाडी भएर पो निस्केका छन् त । थाहै हुँदैन चोर हो कि पाकेटमार भनेर । तपाईं बस त चढ्नुहुन्छ नि ? बसमा ‘ए ! पाकेटमार छ है’ भन्दै आफै हल्ला गर्छन् । बिचरा यात्रुहरू खल्ती छामछुम गर्न थाल्छन् । एकैछिनमा पकेटमारा ओर्लियो भन्दै आफै ओर्लिन्छन् । बिचरा यात्रुले एक छिनपछि थाहा पाउँछ आफ्नै पाकेट मारेको कुरा । यस्तो ट्रिक यिनले नेताबाट सिकेका हुन् कि नेतालाई सिकाएका होलान् ?

हिजोआज त चोर हो, डाँका हो वा कुनै नेता हो भनेर छुट्ट्याउनै मुश्किल हुँदै गएको छ । हुलियाबाट अन्दाज गर्नुभयो भने तपाईं सोझै फस्नुहुनेछ । जसलाई महान् नेता ठान्यो, महान् राष्ट्रवादी ठान्यो वा महान् व्यवसायी, समाजसेवी ठान्यो, पत्रकार ठान्यो उही नै अन्त्यमा चोर पो भएर निस्कन्छ । गज्जपको गोलमाल छ हजुर ! यहाँ ।

विकासको रेल जति छिटो कुदेको छ, चोरहरूले पनि त्यति नै तीव्र गतिमा विकास गरेका छन् । चोरहरूले सबैभन्दा पहिले त आआफ्ना दाह्री सफाचट पारेका छन् । ‘क्लिन सेभ्ड’, ‘ह्वाइट कलर्ड’ भएका छन् । परम गुगलबाज, अनलाइनी भएका छन् । क्रेडिट कार्डधारक, स्मार्ट अनलाइन चोर भएका छन् । चोरहरूले दाह्री हटाएपछि गाडी राख्न शुरू गरेका छन् । स्मार्टफोन, आईप्याड सधैं साथमा । यसप्रकार चोरहरूको पनि स्मार्ट विकास हुँदै गएको छ ।

पहिले चोरका दाह्रीमा बोराका झुस हुन्थ्यो । अहिलेको चोरका गाडीमा पुलिस हुन्छन् । पहिला पछि पछि हुन्थे अहिले चारैतिर हुन्छन् । अब त लोकोक्ति नै बनिसकेको छ कि ‘चोरको गाडीमा प्रहरी’ । यो उक्ति वास्तवमा दुई धारवाला तरवारजस्तो छ । यसलाई चोरको गाडीमा प्रहरी भन्नोस् वा प्रहरीको गाडीमा चोर, एउटै कुरा हो हात्ती बलियो कि हात्ती छाप बलियो भनेजस्तै ।

चोरहरूका संगठनमा चोर र प्रहरीको समान रूपमा आदर हुने गर्छ । प्राय:जसो यो पत्ता लगाउन निकै गाह्रो हुन्छ कि को चोर हो र को प्रहरी ? अब त प्रहरी–चोर दाइ–भाइ भन्ने उक्ति लोकप्रिय बन्दै र समाजमा स्थापित हुँदै गएको छ । उनीहरू दाइभाइ भएकाले पुराना चोर बार्ई बाई भएका छन्, नयाँ चोरको हाई हाई भइरहेको छ ।

पहिले चोरहरूले शुद्ध रूपमा चोरी मात्र गर्थे, तर आधुनिक चोरहरू निकै आधुनिक बन्दै गएका छन् । उनीहरू प्रहरी प्रशासन, व्यवसाय, पत्रकारिता, कानूनी पेशा, संसद् जताततै छाएका छन् । त्यसैले त नवीन चोर कथं चोरी गर्दागर्दै कतै चुक्यो भने पनि उसलाई बचाउनेहरू समाजमा थुप्रै छन् । यदि चोरले यदाकदा चोरी कार्यलाई आन्तरिक रूपमा स्थगित गरे भने पनि प्रहरीले चोरीका साथसाथै हेराफेरी गर्ने अतिरिक्त प्रभाग पनि सम्हाल्नुपर्छ । यो गोलमाललाई चोरले एकदमै इमानदारीका साथ आफ्नो भाइभतिजा प्रहरीलाई अर्पित गर्छ । प्रहरीसाप यस्तोबाट प्राप्त हुने धनराशीलाई ‘हप्ते संस्कार’ भनेर श्रद्धापूर्वक ग्रहण गर्छन् । जहाँ हप्ता उठ्दैन, त्यहाँ नियमको डण्डा चलिहाल्छ, हप्ता उठाएर भागशान्ति गरेपछि मानिसको आँखा र कान न हो, नदेख्न सकिहाल्छ, नसुन्न सकिहाल्छ । त्यसै हेर्दै हेरेन, सुन्दै सुनेन भनेर आरोप लगाउन चाहिँ पाइँदैन नि है । यो त कानूनीराज पो हो । न्यायको आँखामा पट्टी बाँध्दैमा सबै थोक देख्दैन भन्ने हुन्छ र ? चाहिएको कुरा त देखिहाल्छ नि ?  

हप्तार्पण संस्कारका पनि अनेक विधि र प्रक्रिया हुन्छन् । तिनका पनि ठाउँ र पेशाअनुसार पद र लाभ अनुसार फरक फरक विधान हुन्छन् । विधान मिलेन भने फल मिल्दैन । त्यसैले हप्तार्पणका बेला चोरहरूको इमानदारी हेर्न लायक हुन्छ । हप्तार्पण संस्कारवाला चोर कहिल्यै पक्राउ पर्दैन, किनकि चोर र पुलिस सँगसँगै हुन्छन् । उनीहरूका गिलासले मित लगाइरहेको हुन्छ । साथै बोरा र बोराका झुस नहुने कारण चोर चिनिँदैन पनि ।

अहिले त अफिसर–नेता–मन्त्रीका रूपमा चोर देउता जनतालाई आफ्नो चौर्य कर्ममा बाँधेर राखिरहन सफल हुन्छन् । उनीहरू आफ्नो चौर्य कलालाई नित्य नयाँ रूपमा नयाँ उचाइ प्रदान गरिरहेका हुन्छन् । चौर्य कलाको प्रशिक्षण कलेजबाटै शुरू हुन्छ । हप्ताग्रहण र अर्पण विधि, ठेक्कापट्टामा मेलमिलाप विधि, बेला बेलामा यसो कुखुरी नृत्य प्रदर्शनको रिहर्सल भइरहेको हुन्छ त्यहाँ । त्यहाँबाट प्रशिक्षित भएपछि बल्ल प्रादेशिक तहमा र राष्ट्रिय तहमा यस्ता कार्यक्रममा सहभागी हुन पाइन्छ ।

आधुनिक चोरदेव यदाकदा कुनै पनि पागल व्यक्तिबाट समातियो भने पनि उसलाई जोगाउन के के नामका आयोग, महाशाखा आदि सारा राज्य संयन्त्र नै खडा र तम्तयार हुन्छन् । यति भएपछि छ कुनै ‘माइका लाल’ आधुनिक चोरहरूलाई समात्ने ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro