ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

रमेश अधिकारी : जसले बेलायती कलाकारले लाउने पस्मिना बनाए , सात तारे होटलमा गलैंचा पुर्‍याए

२०७९ माघ, ६  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । देशको राजनीति, नीति नियम र कार्यान्वयनको अवस्था देख्दा विरक्त भएर विदेश पलायन हुनेहरुको संख्या निरन्तर बढिरहेको छ । देशको माया हुँदाहुँदै पनि विदेश पलायन हुने युवा पुस्ताको लहर लामो छ ।

अधिकांश नेपाली युवा–युवतीको सपना विदेश बनेको सबैलाई थाहै छ । मध्यम वर्गीय परिवारका युवा–युवती सके लोकसेवातिर नत्र खाडीतिर लाग्छन्, हुने खाने र सम्पन्न परिवारका छोराछोरी युरोप, अस्ट्रेलिया र अमेरिकाको सपना देख्छन् ।

तर, कतिपय यस्ता उदाहरण पनि छन्, जसले बा–आमाले धान्दै आएको व्यापार व्यवसायलाई थप परिमार्जन गर्दै नयाँ तरिकाले व्यवसायमा होमिएका छन्, त्यति मात्रै होइन, दर्जनौंलाई जागिर पनि दिएका छन् ।

ललितपुर महानगरपालिका–१४, नखिपोटका रमेश अधिकारी घरका कान्छा छोरा हुन् । उनको परिवारको गलैंचा व्यापार थियो । व्यापार राम्रै थियो । सम्पन्न परिवारमा हुर्किएपनि २०६१ तिर होटल म्यानेजमेन्ट अध्ययनका लागि जर्मनी छिरे । उनी पढ्न मात्रै होइन, उतै भविष्यको बाटो कोर्ने र उतै सेटल हुने सपना थियो । उनका एक दाइ अमेरिका, अर्का दाइ अस्ट्रेलिया गइसकेका थिए । सोही कारण पनि रमेशले आफू युरोपमा सेटल हुन्छु भन्ने सोचे, स्टुडेन्ट भिसामा जर्मनी पुगे । नेपालको व्यापार उनका बुबाले सम्हालिरहेका थिए ।

तर, एकपटक यस्तो समय आयो जतिबेला उनी तुरुन्तै नेपाल फर्किनुपर्‍यो । सन् २००६ मा उनी पढ्दै गर्दा अकस्मात घरमा आमा बिरामी भइन्, यो खबर उनले थाहा पाउनेवित्तीकै नेपाल फर्किने तयारी गरे, केही दिनमै नेपाल आए । केही समयपछि उनलाई जन्मदिने आमाको निधन भयो । आमाको निधनपछि उनका बुबाले अव व्यवसाय सम्हाल्ने स्थिति आएन । दाईहरू विदेश सेटल लगभग भइसकेकाले उनकै काँधमा आइपुग्यो अब घरको व्यवसाय सम्हाल्ने जिम्मा ।

विदेशतिर उनको उद्योगमा उत्पादित गलैंचाको माग उच्च थियो । भर्खर युवावस्थामा व्यवसायमा होमिएकाले रमेशलाई कतिपय कुराको आइडिया थियो, कतिपयको थिएन । सुरुमा त सक्दिनँ कि जस्ते लाग्यो उनलाई । पछि बुबाको आड पाएपछि उनी निरन्तर सफल भए । २४ वर्षको उमेरमा रमेशले व्यवसाय हाँके ।

न्यूरिता वलन कार्पेट नामको गलैंचा उद्योगसँगै रमेशका बुबाले पस्मिनाको काम पनि गर्दै आएका थिए । बजार बुझ्दै जाँदा रमेशले पस्मिनाको अन्तरराष्ट्रिय बजारमा राम्रो सम्भावना देखे । पुस्तैनी व्यवासायलाई विस्तार गर्ने क्रममा पस्मिनालाई औपचारिक रुपमा उद्योगकै रुपमा स्थापना गर्ने सोचे ।

बुबासँग सल्लाह गरेर सन् २००८ मा नखिपोटमा उद्योग नै स्थापना गरे रमेशले । रीता इन्डस्ट्रिजको नाममा दर्ता भएको पस्मिना उद्योग स्थापना गर्न करीब डेढ करोड रुपैयाँ लागत लागेको उनी सुनाउँछन् ।

हुन त गलैंचा पनि राम्रै चलेको थियो । तर, बजारमा पस्मिनाको माग बढेको देखेपछि उनले औपचारिक रुपमा उद्योग स्थापना गरेका हुन् । उद्योग शुरू भएको केही समयमै चर्चामा आयो उनको उद्योग । उद्योग ललितपुरमा तर विदेशी पर्यटकहरू पस्मिना खोज्न ठमेलतिर जान्थे । त्यही कारण उनले ठमेल र झम्सिखेलमा शोरुम नै खोले । दुई वर्षजति झम्सिखेलको शोरुम चल्यो पनि ।  तर, भूकम्पपछि त्यहाँको शोरुम बन्द गर्नुपर्‍यो । ठमेलको शोरुम भने कोरानापछि मात्र बन्द भयो ।

विदेशमा गएर सेटल हुन्छु भन्ने रमेशले अहिले आफ्नै देशमा अरूलाई रोजगारी दिइरहेका । अफ–सिजनमा पनि उनको उद्योगमा करिब ९० जनासम्मले रोजगारी पाइरहेका छन् ।  जसमध्ये ४० प्रतिशत त महिला कामदार नै छन् । केही प्राविधिक भने भारतीय छन् ।

शुरू–शुरुमा जनशक्तिको समस्या नभए पनि पछिल्लो समय काम गर्ने मान्छे पाउन मुस्किल भएको उनी सुनाउँछन् । अहिले उनको उद्योगमा उत्पादित सामग्री युरोप, अमेरिका, अस्ट्रेलिया र खाडी मुलुकमा निर्यात हुन्छन् ।

पस्मिनाको एउटै सलको मात्रै ५ हजार रुपैयाँसम्म पर्ने उनी बताउँछन् । स्वेटर त झनै महँगो, आन्तरिक बजारमा यस्ता सामान खपत हुँदैन, उनी भन्छन्, – अधिकांश समान बाहिर नै जान्छ । नेपालीहरुका लागि यो महँगो हुन आउँछ । पस्मिनाको बजार विदेशमा राम्रो रहेको उनले बुझे । उनी आफै पनि बजार खोज्दै युरोप, अस्ट्रेलिया र अमेरिका पुगेका छन् । त्यहाँ हुने मेलाहरुमा उनी आफ्नो उत्पादन लिएर प्रवर्द्धन गर्न पुगिहाल्छन् । त्यहीबाट नै आफ्नो विदेशी मार्केट बढेको उनी बताउछन् ।

भनेको बेला सामान र जनशक्ति सहज रुपमा नपाइनु नै पस्मिना उद्योगका मुख्य चुनौती हुन् । कतिपय बेला त अर्डर क्यान्सिल नै हुने अवस्था आउने रमेशको अनुभव छ । उनीहरुले पनि अन्यत्रैबाट अर्डर लिएका हुन्छन् । अनि हामीलाई खबर गर्छन्, उनले भने, –तर कहिलेकाहीँ सानो कुरामा पनि फरक पर्‍यो भने पूरै सामान अलपत्र पर्छ ।  त्यसको घाटा व्यहोर्नुपर्छ । कैयौं पटक त्यस्तो भएको पनि छ ।

अहिले उनको उद्योगमा सल, स्वेटर, टोपी, ट्राउजर र गलैँचा उत्पादन हुन्छन् । यी सामग्री बनाउने धागो नै महँगो पर्ने भएका कारण पनि उत्पादनको लागत बढ्ने उनी बताउँछन् । एक किलो धागोकै करिब २५ हजार नेपाली रुपैयाँजति पर्ने उनले बताए । 

यस्ता उत्पादनहरू विदेशमा ३ सयदेखि ५ सय डलरसम्ममा विक्री हुन्छन् । केही समयअघि उनकै उद्योगमा उत्पादित स्वेटर युरोपमा ४ सय युरोसम्ममा विक्री भएको थियो । त्यसबेलाको विदेशी विनिमय दर अनुसार त्यो करीब नेपाली ४० हजार रुपैयाँ हुन्छ ।

बार्षिक १० करोड हाराहारीको कारोबार
उद्योग शुरू गरेको करीब १५ वर्ष भयो । अहिले वार्षिक करिब ८ देखि १० करोडसम्मको कारोबार हुने उनी बताउँछन् ।

उनको उद्योगमा उत्पादित पस्मिना नेपालका लागि विदेशी राजदुतदेखि हलिउडका सेलिब्रेटीहरुले पनि लगाउने गरेका छन् ।

गलैचामा पनि राम्रो
गलैंचाको मार्केट पनि नेपालसँगै विदेशसम्म राम्रो रहेको रमेशको बुझाई छ । गलैंचाको माग युरोप मात्र नभई खाडी मुलुकमा समेत उच्च रहेको उनले बताए । राम्रो खालको गलैंचा करीब १५–२० लाख रुपैयाँसम्ममा विक्री हुने गरेको उनले सुनाए ।

अहिले उनलाई इजिप्टमा बन्दै गरेको एक सेभेन स्टार होटलको तीन ओटा फ्लोरका लागि बिछ्याउने कार्पेट उनकै उद्योगबाट गइसकेको छ । यस्तै उनलाई अहिले बोधाइ ग्रूपबाट पनि कार्पेटका लागि रमेशलाई अर्डर भइसकेको छ ।  बोधाइ कुवेतको धनाड्य व्यापारिक समूह हो ।

ध्यान अब आफ्नै तिर
करीब डेढ दशकदेखि उद्योग सञ्चालन गरिरहे पनि अहिलेसम्म रमेशको आफ्नै ब्राण्ड भने छैन । उनले उत्पादन गरेका सामानमा ह्याण्ड मेड इन नेपाल लेखेर कम्पनीको ब्राण्ड भने विदेशीले आफ्नै राख्छन् । यसो हुनुमा विदेशमा नेपाली बजारको पहुँच नपुगेको उनी बताउँछन् । रमेश अब आफ्नो कम्पनीको लोगो राखेर पस्मिना बेच्न चाहन्छन् । अबको आफ्नो लक्ष्य भनेकै पस्मिनालाई नेपाली ब्राण्ड बनाउनु रहेको उनी बताउँछन् ।

सरकारप्रति गुनासै गुनासो
पैसा थियो,सहजै उद्योग स्थापना गरे । तर, सञ्चालनका लागि भने धेरै चुनौतीको सामना गरे । सरकारले ट्याक्स लिनेबाहेक व्यवसाय संचालनमा कुनै सहजिकरण नगरेको उनको गुनासो छ । नेपालमा उद्योग स्थापना गर्न खोज्दा पनि सिपयुक्त जनशक्ति नपाउनु उनले अर्को चुनौती मानेका छन् । त्यसैले उद्योग स्थापनाको साथै सरकारले युवालाई सिपयुक्त पनि बनाउनुपर्ने उनको सुझाव छ ।

जसको पस्मिना बेलायती अभिनेत्री एलिजावेथले लगाउँछिन् 
नेपाली पस्मिना बेलायती सिने कलाकारले लगाएको पाइएको छ । नेपाली पस्मिना फ्याक्ट्रीले उत्पादन गरेको पस्मिना बेलायती सिने कलाकार तथा मोडल एलिजावेथ हर्लीले लगाएकी हुन् । त्यस्तै नेपालका लागि जर्मनीका राजदुतले लगाउने पस्मिना पनि रमेशकै फ्याक्ट्रीबाट उत्पादित नेपाली उत्पादन हो ।

एलिजावेथ सन् १९९० देखि २००० सम्मकी चर्चित बेलायती अभिनेत्री, मोडल र फेशन डिजाइनर हुन् । उनका थुप्रै चलचित्र लोकप्रिय छन् । रमेश अधिकारीको रीता इन्डस्ट्रिजले काठमाडौंमा उत्पादन गरेर अमेरिका निर्यात गरेको पस्मिनाको सल एलिजावेथले पहिरिने गरेकी हुन् । पस्मिनासँगै रमेशले गलबन्दी, स्वेटर, टोपी, पञ्जालगायत पहिरन उत्पादन गर्दै आएका छन् । यसका अलावा उनको फ्याक्ट्रीले गलैँचा समेत उत्पादन गर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)