काठमाडौं । भारतको बाह्य मामिला मन्त्रालय जय शंकरले श्रीलंकालाई मद्दत गर्ने वाचा गरेका छन् । बिहीबार श्रीलंकाको शीर्ष नेतृत्वसँगको भेटघाटको क्रममा जयशंकरले कर्जामा चुर्लुम्म डुबेको श्रीलंकाको आर्थिक पुनर्वहालीलाई तीव्र बनाउन लगानी प्रवाह बढाउने वाचा गरेका हुन् ।
बिहिबार जयशंकरले श्रीलंकाली समकक्षी अली साब्रीसँग भेटघाट गरेका थिए । भारतले बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषलाई पनि यसबारे आश्वास्त बनाएको छ ।
कोषको वित्तीय उद्धारबापतको २ अर्ब ९० करोड जारी गर्ने विषयमा कोष र श्रीलंकाबीचको वार्ता अवरुद्ध छ । कोषले श्रीलंकालाई सो रकम दिनु अघि उसका मुख्य कर्जादाता देशहरु चीन, भारत र जापानसँग वित्तीय आश्वासन चाहेको छ ।
कोषको यो शर्त पूरा गरेपछि मात्रै वित्तीय उद्धार बापतको रकम श्रीलंकाले पाउनेछ । श्रीलंकाले यसबारे भारत र चीनसँग पनि कुराकानी गरेको थियो । यसै विषयमा जयशंकले साब्री र राष्ट्रपति रनलि विक्रमेसिंघेसँग पनि भेटघाठ गरेका थिए । वार्तापछि जयशंकरले ट्विट गर्दै श्रीलंकाको आर्थिक पुनर्वहालीलाई तीव्र बनाउन श्रीलंकामा लगानी प्रवाह बढाउने वाचा गरेका हुन् ।
बिहिबार जयशंकर माल्दिभ्सको भ्रमण सकेर श्रीलंका आएका थिए । सो क्रममा उनले साब्री र अन्य मन्त्रीहरुसँग पनि कोलम्बोमा भेटघाट गरेका थिए । वार्तामा आफूहरुबीच पूर्वाधार, कनेक्टिभिटी, ऊर्जा उद्योग र स्वास्थ्यबारे छलफल भएको उनले बताएका छन् ।
एक वर्ष अघि श्रीलंका विद्यमान आर्थिक संकटमा फसेयता भारतले ४ अर्ब डलरको सहायता गरिसकेको छ । भारत र चीनसँग कर्जा पुनः संरचनाको वार्ता गरेको थियो ।
भारतसँगको वार्ता सफल भएको बुधबार नै विक्रमेसिंघेले संसदमा जनाकारी गराएका थिए । यस्तै गएको हप्ता जापानसँग पनि कर्जा पुनःसंरचनासम्बन्धी वार्ता पूरा भएको थियो ।
श्रीलंकाले गएको सेप्टेम्बरमै चार वर्षका लागि आईएमएफसँग २ अर्ब ९० करोड डलरको कर्जा पाउन आफ्ना कर्जादाताहरुसँग कर्जा पुनःसंरचना वार्ता शुरु गरेको थियो ।
गएको अप्रिलमा पहिलो पटक श्रीलंकाले सार्वभौम कर्जा तिर्न नसकेपछि टाट पल्टिएको घोषणा गरेको थियो । कोषका कर्जाले श्रलिंकालाई बजार र विश्व बैंक, एशियाली बैंक लगायत अन्य कर्जादाता निकायबाट कर्जा लिन सक्षम बनाउनेछ । एजेन्सी