ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या ११२ प्रतिशतले बढ्यो, २९ अर्ब रुपैयाँ बाहिरियो

२०७९ माघ, ६  
समाचार विविध
Tvs Raider Image Not Found
author avatar प्रतिक्षा कँडेल

काठमाडौं । चालू आर्थिक  वर्षको पहिलो ५ महीनामा अध्ययनका कालगि विदेश जाने विद्यार्थीले करीब २९ अर्ब रुपैयाँ विदेश  पुर्‍याएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पाँच महीनामा मात्रै नेपाली विद्यार्थीले पढ्न जानका लागि २८ अर्ब ८१ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सटही सुविधा लिएका हुन् ।

गत वर्षको सोही अवधिमा विदेशमा पढ्न जानका लागि नेपाली विद्यार्थीले १३ अर्ब ५३ करोड रुपैयाँ मात्रै खर्च गरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । गत वर्षको पाँच महीनाको तुलनामा यो वर्ष पाँच महीनामा विदेश पढ्न जाने विद्यार्थीले ११२ प्रतिशत बढी पैसा खर्च गरेका छन् । 

वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार साउन देखि मङ्सिरसम्म ३८ हजार ६१ जाना विद्यार्थीले देश बाहिर पढ्न जानका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसि)लिएका छन् । औसतमा मासिक ७ हजार ६०० भन्दा बढी विद्यार्थीले एनओसी लिने गरेका छन् ।  राष्ट्र बैंकले पुसमा लिएको सटही सुविधाको तथ्याङ्क सार्वजनि गरेको छैन । तर एनओसी लिने विद्यार्थीको संख्या भने ७ हजार ८५१ जना रहेको छ । नेपाल बाट विदेश पढ्न जानका लागि लगिने यो पत्र अहिले दैनिक जसो २०० देखि ६०० सम्म विद्यार्थीले लिने गरेका छन् ।

यो अनुमति पत्र सबै भन्दा धेरै अस्ट्रेलिया पढ्न जाने विद्यार्थीले लगेका छन् । अष्ट्रेलिया पढ्न जानका लागि मात्रै १०  हजार ७९९  जना विद्यार्थीले अनुमति पत्र लगेका छन् । त्यसैगरी जापान जानका लागि अनुमति पत्र लिनेको संख्या ६  हजार ६२५  रहेको छ । त्यस्तै, क्यानडा पढ्न जानेको संख्या ६ हजार ५३१, युकेमा पढ्न जानेको संख्या ५ हजार ३०४  जना रहेको छ ।

एनओसी जारी गर्दा कुल ८ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । 

मिराई ग्लोबल एजुकेशन एण्ड भिसा सर्भिष नेपालका प्रमुख कार्याकारी अधिकृत (सिईओ) समय खड्का विदेश जाने नेपाली विद्यार्थीहरू हेर्दा तीन किसिमको रहेको बताँउछन् । पहिलो नेपाली विद्यार्थीहरू विदेशमा राम्रो शिक्षा पाइन्छ भनेर विदेश जाने गरेका छन् । त्यस्तो विद्यार्थीहरूको रोजाईमा अमेरिका, क्यानेडा, बेलायत जस्तो मुलुक छन् ।

यस्तै दोस्रोमा विदेशमा राम्रो कमाई हुन्छ भनेर विद्यार्थी भिसामा विदेश जानेहरू पनि हुन्छन् । त्यस्तो विद्यार्थीहरूको रोजाईमा अष्ट्रेलिया, न्युजिल्याण्ड जस्ता मुलुकहरू छन् । तेस्रोमा घरपरिवारबाट टाढा भएर व्यक्तिगत स्वतन्त्रताको लागि विदेश जानेहरू हुन्छन् । त्यस्ता विद्यार्थीहरू स्वतन्त्रताको लागि जुनसुकै देश जान तयार भएको देखिन्छ । 

विदेश जाने नेपाली विद्यार्थीहरूको पहिलो रोजाई अष्ट्रेलिया रहेको खड्का बताउँछन् । अष्ट्रेलिया राम्रो कमाईका साथै भिसा सक्सेस रेट पनि धेरै भएकाले नेपाली विद्यार्थीहरूको पहिलो रोजाई अष्ट्रेलिया भएको देखिन्छ। त्यसपछि भने नेपाली विद्यार्थीहरूको क्यानडा, न्युजिल्याण्ड, अमेरिका, बेलायत जस्ता मुलुकहरू रहेका छन् । उनका अनुसार विदेशमा पढ्न जानका लागि विषय अनुसार छुट्टा छुट्टै शुल्क लाग्ने बताउँछन् । 

शिक्षाविद्, विद्यानाथ कोइरालाका अनुसार विदेशमा पढ्न जानका लागि कति पढेर जाने र के पढ्न जाने भनेर तोकिनुपर्ने बताउँछन् । काम गर्न जाने हो भने त्यही अनुसार नियम बनाउनु पर्ने उनले बताए । युवाहररूलाई देशभित्रै पैसा कमाउन सकिने परिवेश बनेन । पढेको कुरालाई सीपमा उतारेर त्यसलाई औद्योगीकरण गर्ने साथै उनले सिकेको सीपलाई आधुनिकीकरण गर्ने निकाय नभएको बताए ।

स्टुडेन्ट भिसामा विदेश जाने सबै विद्यार्थीहरू काम गर्नकै लागि मात्रै भने नजाने प्रा. डा. रामचन्द्र लुइँटेल बताउँछन् । ‘सबै विद्यार्थी कामकै लागि जाने मात्रै छैनन् । कोही–कोही शतप्रतिशत छात्रवृत्ति पाएर पढ्न जानेहरू पनि छन्,’ उनी भन्छन्, ‘यहाँ विद्यार्थीहरूले चाहेको विषय राम्रोसँग नपढाइने, समयमै नतिजा प्रकाशन नहुने साथै शिक्षामा राजनीति हाबी हुने भएकाले विद्यार्थीहरू फ्रस्टेड भएर विदेश रोज्ने गरेका छन् ।’

कतिपय विद्यार्थीहरू अरुको लहड र देखासिखिमा पनि विदेश जाने गरेको उनको भनाइ छ । ‘यस्ता विद्यार्थीहरूलाई न यहाँको सम्भावनाबारे थाहा छ न विदेशको । उनीहरू यसबारे बुझ्न पनि चाहँदैनन्,’ उनले भने । कतिपय विद्यार्थीहरू घरजग्गा बेचेर विदेश जाने गरेको उनले बताए ।

अहिले १२ पास गरेका ३ लाख विद्यार्थीहरूमध्ये डेढ लाख विद्यार्थीहरू विदेशिने गरेका छन् । बाँकी डेढ लाख विद्यार्थीहरूले यहाँको कलेजले नधान्ने अवस्था रहेको उनको भनाइ छ ।

यसलाई रोक्न नेपालमा गुणस्तरीय पढाइ हुन जरुरी रहेको उनी बताउँछन् । ‘समयमा पढाइ तथा नतिजा प्रकाशन गर्न सके, शिक्षामा राजनीति हुन नदिए र नेपालको सम्भावनाबारे विद्यार्थीलाई बुझाउन सके विदेश जाने विद्यार्थीलाई यही रोक्न सकिने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)