ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सुस्त गतिमा राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना

२०७९ माघ, ७  
गण्डकी प्रदेश
Jagdamba Supershine NA

ढोरपाटन । राष्ट्रिय  प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा ट्र्याक खुलेको नौ वर्ष बितिसक्यो । तर स्तरोन्नतिको काम भने हुनसकेको छैन । सडक स्तरोन्नतिका लागि सरकारले हरेक वर्ष करोडौं रकम बजेट विनियोजन गरे पनि बागलुङ खण्डमा काम हुनसकेको छैन । सडकको धेरै स्थानमा साँघुरो हुँदा गाडी ओहोरदोहोर गर्न समस्या छ ।

रूपन्देहीको सालझण्डीबाट अर्घाखाँची हुँदै ढोरपाटन जोड्ने यो सडकले पहाडी जिल्लालाई तराईसँग जोडेको छ । तर सडकको दुरावस्था हुँदा बागलुङका नागरिक यो सडकमा सहजरूपमा बाह्रै महीना यात्रा गर्न पाएका छैनन् । सडक निकै साँघुरो हुँदा यात्रा गर्न समस्या भएको निसीखोला गाउँपालिका–७ का तिलक खत्रीले बताए । सडक निकै अप्ठ्यारो हुँदा वर्षौं बित्दा पनि यातायातका साधन सहज रूपमा सञ्चालन हुन नसकेको उनले बताए ।
    
‘यो सडक खुलेको धेरै वर्ष भयो, अहिलेसम्म गाडीहरू सहज रूपमा चल्न पाएका छैनन्, कतै साँघुरो छ, कतै अप्ठ्यारो छ, यतिका वर्षसम्म काम नहुनु सरकारको कमजोरी हो कि, ठेकेदारको कमजोरी ?,’ खत्रीले भने, ‘यस्तो सडकमा कसरी यात्रा गर्नु ?, ज्यान जोखिममा राखेर कोही पनि यात्रा गर्न मान्दैनन्, साँघुरो सडकमा गाडी पनि कसरी गुडोस् र ?’ हिउँदमा साना गाडी जसोतसो चल्ने गरे पनि बर्खाको समयमा ठप्प हुने गरेको उनको भनाइ छ । खत्रीले साँघुरो सडक हुँदा बेला–बेलामा दुर्घटनासमेत हुने गरेको भन्दै यसतर्फ सरोकारवालाको ध्यान नपुगेको गुनासो गरे । घर अगाडि सडक भए पनि आफूहरूलाई पैदलयात्रा गर्नुपर्ने र सामान बोकेरै ढुवानी गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

‘सडक छ भनेर के गर्ने समस्या परेको बेला गाडी मिल्दैन, कोही बिरामी परे पनि बोकेरै अस्पताल पुर्‍याउनुपर्ने अवस्था छ, बर्खा लाग्यो कि सडकमा हिलोमात्रै हुन्छ, गाडी देखिन्नन्, बाटो ल्याउँदा लाखौंको जग्गा दियौं, अहिले बाटो भएर पनि गाडी भल्दैनन्,’ उनले भने ।

ढोरपाटन नगरपालिका–९ का कुलबहादुर सुनारले सडकले सहज बनाए पनि हिउँदमा धुलो र बर्खामा हिलोले समस्या बनाएको बताए । सडक छेउमा रहेका घरहरू अहिले सबै धुलोले ढाकिएको उनको भनाइ छ । वर्षौं अगाडि सडकले गाउँ जोडिए पनि स्तरोन्नति नहुँदा यात्रा जोखिमपूर्ण हुने गरेको उनले बताए ।

‘गाउँमा सडक आउँदा निकै खुसी लागेको थियो, अहिलेसम्म कालोपत्र हुनसकेको छैन, अहिले पनि धेरै ठाउँमा सडक साँघुरो छ, ठूला गाडी चल्न सक्दैनन्, दुर्घटनाको जोखिम पनि निकै छ,’ सुनारले भने, ‘सडकले सहज त बनायो, तर बर्खाको बेला चल्दैन, बुर्तिबाङबाट गाउँसम्म आउन पनि धेरै समय लाग्छ ।’

विसं २०७७ भदौ १७ राति आएको बाढीले विभिन्न स्थानमा सडक बगाएको थियो । बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नं १ देवीस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतिका लागि गत वर्ष ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताको १३ महीना बित्दा २३ प्रतिशतमात्रै काम भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर शरद् आचार्यले जानकारी दिए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)