काठमाडौं । माघ महीनाको पहिलो साताको कारोबारमा नेप्से परिसूचक अघिल्लो साताको तुलनामा २९ दशमलव ४२ अंकले बढेको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार १४९ दशमलव ३९ विन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन २ हजार १७८ दशमलव ८१ विन्दुमा पुगेर बन्द भएको हो । पछिल्लो साता तीन दिनमात्र बजार खुला भएको छ । दुई दिन सार्वजनिक विदा परेकाले बजार तीन दिन मात्र खुला भएको हो ।
तीन दिन खुलेको बजार दुई दिन बढेको छ भने एक दिन घटेको छ । दुई दिन लगातार बन्दपछि खुलेको बजार पहिलो कारोबार दिन ३२ दशमलव ७२ अंकले बढेको थियो । दोस्रो कारोबार दिन ९ अंकको करेक्सन पछि तेस्रो दिन निकै उतारचढाबका बीच बजार ५ दशमलव ७१ अंकले बढेर बन्द भएको हो ।
धितोपत्र बजारका लगानीकर्ताले लगानीको धारणा बनाउँदा सूचीकृत कम्पनीहरूको वित्तीय अवस्थालाई समेत ध्यानमा राख्ने हुँदा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले पनि लगानीकर्ताको मनोबलमा प्रभाव पार्ने हुन्छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक हुने क्रममा रहेकाले पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ ।
अघिल्लो साता चार दिन र गत साता तीन दिन बजार खुलेको छ । एक कारोबार दिनमात्र कम कारोबार भएको गत साता कारोबार रकम भने रू. १२ अर्ब २१ करोड २६ लाखभन्दा बढीले घटेको छ । अघिल्लो साता चार कारोबार दिनमा रू. २३ अर्ब ९१ करोड ६ लाखभन्दा बढीको ६ करोड ४१ लख ४ हजार १०५ कित्ता धितोपत्र खरीदविक्री भएकोमा गत साता रू. ११ अर्ब ६९ करोड ८० लाखभन्दा बढीको ३ करोड ३४ लाख ३५ हजार ७३ कित्ता धितोपत्र खरीदविक्री भएको हो ।
कारोबार कित्ता अघिल्लो साताभन्दा गत साता ३ करोड ६ लाख ६९ हजार ३२ कित्ता कम धितोपत्र खरीदविक्री भएको हो । गत साता अघिल्लो साताको तुलनामा औषतमा रू. २ अर्ब ७ करोड ८३ लाखभन्दा बढीले घटेको हो ।
गत साता कारोबार रकम घटेपनि समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक बढेकाले कुल बजारपूँजीकरण पनि बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन रू. ३१ खर्ब ३ अर्ब १५ करोड ६९ लाख रहेको कुल बजारपूँजीकरण गत साताको अन्तिम कारोबार दिन रू. ३१ खर्ब ४५ अर्ब ६३ करोड ५२ लाख कायम भएको छ ।
जलविद्युत समूहका शेयरप्रति लगानीकर्ताको आकर्षण उच्च
पछिल्लो साताको कारोबारमा जलविद्युत समूह अन्तर्गतका शेयरप्रति लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । कारोबारमा आएका समूहगत परिसूचकमा देखिएको बृद्धिलाई हेर्दा जलविद्युत् समूहका शेयरप्रति लगानीकर्ताको आकर्षण बढी देखिएको छ ।
गत साता जलविद्युत् समूहको परिसूचक सर्वाधिक ७ दशमलव शून्य ३ प्रतिशत बढेको छ । गत साता व्यापारिक समूहको परिसूचक सर्वाधिक ४ दशमलव ३७ प्रतिशत घटेको छ । व्यापारिक समूहसँगै गत साता उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव २१ प्रतिशत र बैंकिङ् समूहको परिसूचक शून्य दशमलव ३७ प्रतिशत घटेको छ ।
१३ ओटा समूहगत परिसूचकमध्य १० समूहगत परिसूचकहरू गत साता बढेका हुन् । जलविद्युत् समूहसँगै लगानी समूहको परिसूचक ३ दशमलव ८३ प्रतिशत, होटल तथा पर्यटन समूहको ३ दशमलव १४ प्रतिशत, विकास बैंकको ३ दशमलव शून्य ३ प्रतिशत, म्युचुअल फण्डको २ दशमलव २६ प्रतिशतले बढेको छ ।
त्यसैगरी वित्तको २ दशमलव २५ प्रतिशत, अन्यको १ दशमलव ५३ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ४३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ४० प्रतिशत र जीवन बीमाको शून्य दशमलव २० प्रतिशत परिसूचक बढेको छ ।